• ९ पुस २०८१, मङ्गलबार

जीविका चलाउने माध्यम ‘सारङ्गी’

blog

सारङ्गी बजाउँदै मिठ्ठु गन्धर्व । तस्वीरः लीलाधर वली

लीलाधर वली

घोराही, असोज ७ गते । जमिनको नाममा ४–५ कट्ठा ऐलानी भए पनि राम्रो उब्जनी हुँदैन । कमाउनका लागि विदेश जाने उमेर छैन, न हातमा अन्य कुनै सीप छ । त्यसैले गन्धर्वहरुको जीविका चलाउने माध्यम सारङ्गी बन्ने गरेको छ ।

घोराही उपमहानगरपालिका –११ हापुर मझेरा टोल निवासी ५५ वर्षीय मिठ्ठु गन्धर्वको अहिले परिवार पाल्ने सारथी बनेको छ, सारङ्गी । १४–१५ वर्षको कलिलो उमेरमै बुवासँगै गाउँघरमा गाउन हिँड्दै गर्दा सारङ्गी बजाउन र गीत गाउन सिकेका मिठ्ठुको चार दशक सारङ्गीसँगै बितेको छ । तर घरको अवस्था बदलिन सकेको छैन । 

सानै उमेरमा बुबासँग सारङ्गी बोकेर गाउँघरमा हिड्दै गर्दा गाउन र सारङ्गी बजाउन सिकेको भन्दै मिठ्ठु भन्नुहुन्छ, ‘सानैमा बाबुबाजेले गर्दैआएको सारङ्गी बजाउने काम गर्न थालियो, अरू सीप सिक्नतिर ध्यान गएन । अहिले परिवारको जीविका चलाउने माध्यम यही सारङ्गी बनेको छ ।’

परिवार पाल्नेदेखि पढाउनेलगायतको खर्च गाउँदै जुटाउने गर्नुभएका उहाँले पछिल्लो समय यो पेसा गन्धर्वले छोड्दै गएको बताउनुभयो ।  करिब चार दशकदेखि सारङ्गीसँगै दाङदेखि झापासम्म गीत गाउँदै पुगिसक्नुभएका मिठ्ठु पश्चिम क्षेत्रको तुलनामा गन्धर्वलाई पूर्वतिर सम्मान गर्ने गरेको बताउनुभयो ।  

सारङ्गीलाई परिवार पाल्ने सहारा बनाउनुभएका मिठ्ठु भन्नुहुन्छ्, ‘नेपालको पश्चिम क्षेत्रको तुलनामा पूर्वी क्षेत्रमा गाउन जाँदा सम्मान मिल्छ । गन्धर्वलाई घरमा बोलाउने, गीत सुन्ने र सकेजतिको पैसा वा अन्नपात दिने गर्नुहुन्छ । पश्चिम क्षेत्रको कतिपय ठाउँमा मागी खान आएजस्तो व्यवहार गर्नुहुन्छ, त्यस्तो बेला मन दुख्छ ।’

अहिले गन्धर्व समाजलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको उहाँको बुझाइ छ । बुवा पुस्ताले सारङ्गी बजाउने र गीत गाउने काम गर्ने गरे पनि छोरा वा नाती पुस्ताले त्यो काम छाडेको उहाँले बताउनुभयो ।  

सारङ्गी बजाउने व्यक्तिलाई सम्मान नभएको र गाएर परिवार पाल्न नसकिने भएपछि नयाँ पुस्ताहरु कमाउनका लागि विदेशतिर जाने गरेको उहाँले उल्लेख गर्नुभयो । गाउँघरमा बुढा पुरानासँगै गीत सङ्गीतलाई बुझेको माया गर्ने मानिसले अहिले पनि गन्धर्व समुदायलाई माया गर्ने र दसैंको समयमा मालश्री धुन सुन्नका लागि बोलाउने गरेको उहाँको अनुभव छ । 

दसैंमा मालश्री धुनको महत्व रहेको भन्दै मिठ्ठुले भन्नुभयो, ‘अन्य समयमा नसम्झिने गरे पनि दसैँको समयमा मालश्री धुन सुन्नका लागि बोलाउने मानिस हुनुहुन्छ ।’ बाजे र बुवाले बजाउँदै गर्दा आफूले मालश्री धुन बजाउन सिके पनि नयाँ पुस्ताको सारङ्गीप्रति रुचि नहुँदा अहिले गाउँमै तीन जना मात्र मालश्री धुन बजाउन सक्ने गन्धर्व रहेको उहाँले बताउनुभयो ।