• ११ असोज २०८१, शुक्रबार

परराष्ट्र मन्त्री डा. राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता

blog

काठमाडौँ, असोज ७ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले न्युयोर्कमा विभिन्न देशका विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ । उहाँहरू संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुने क्रममा अहिले अमेरिकाको न्युयोर्कमा हुनुहुन्छ । 

मन्त्री डा. राणाले आइतबार इन्डोनेसियाका विदेशमन्त्री रेट्नो एलपी मर्सुदीसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै एक सम्झौता पत्रमा हस्ताक्षर पनि गर्नुभयो । सो भेटमा नेपाल र इन्डोनेसियाबिचका द्विपक्षीय हितका विविध विषयका साथै आगामी दिनमा आपसी सम्बन्धको विस्तार, विकासमा साझेदारीको पहल, जलवायु परिवर्तनको असर कम गर्न आपसमा हुनसक्ने सहयोग र सहकार्य जस्ता विषयमा कुराकानी भएको थियो ।

यसै गरी उहाँहरूबिच नेपाल र इन्डोनेसियाबिच पर्यटन प्रवर्धनका क्षेत्रमा हुनसक्ने आपसी सहकार्य र लगानीका विषयमा पनि कुराकानी भएको थियो । त्यस अवसरमा नेपाल र इण्डोनेशियाबीच कूटनीतिक तथा कामकाजी सरकारी पासपोर्ट वाहकहरूका लागि दुवैतर्फको भिसा निःशुल्क गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो ।

सो सम्झौता पत्रमा नेपालका तर्फबाट मन्त्री डा राणा र इन्डोनेसियाका तर्फबाट विदेश मन्त्री मर्सुदीले हस्ताक्षर गर्नुभएको थियो । मन्त्री डा. राणाले उक्त सम्झौताले इन्डोनेसियासँगको आपसी सम्बन्धलाई आगामी दिनमा थप विस्तार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको थियो । 

त्यसै गरी मन्त्री डा. राणाले हिजो नै बुरुन्डीका विदेशमन्त्री अल्बर्ट सिङ्गिरोसँग पनि द्विपक्षीय भेटवार्ता गर्नुभयो । त्यस अवसरमा उहाँहरूबिच आपसी सम्बन्ध र द्विपक्षीय हितका साथै आगामी दिनमा गर्न सकिने सहकार्यका बारेमा कुराकानी भएको थियो । 

नेपाल र बुरुन्डी जलवायु परिवर्तनका कारण बढी प्रभावित दुई भूपरिवेष्टित देश रहेकाले जलवायु परिवर्तनको असर कम गर्ने कार्यमा मिलेर कसरी अघि बढ्न सकिन्छ भन्ने बारेमा पनि मन्त्री डा. राणाले कुराकानी गर्नुभएको थियो ।   

त्यस्तै आइतबार नै परराष्ट्रमन्त्री डा. राणा र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकाससम्बन्धी मन्त्री भिल्ली ताभिओबीच पनि न्युयोर्कमा भेटवार्ता भएको थियो । उक्त भेटका अवसरमा मन्त्री राणाले विगत ५० वर्षदेखि नेपाल र फिनल्यान्डबिच रही आएको मैत्रीपूर्ण र आत्मीय सम्बन्ध तथा सहकार्यको चर्चा गर्दै नेपालको आर्थिक सामाजिक क्षेत्रमा फिनल्यान्डले पुर्‍याउँदै आएको सहयोगको सराहना गर्नुभएको थियो । 

भेटमा दुई देशबिचका द्विपक्षीय हितका विविध विषयका साथै आगामी दिनमा गर्न सकिने आपसी सहयोग र साझेदारीबारे पनि कुराकानी भएको थियो ।