• ११ असोज २०८१, शुक्रबार

डेङ्गु र ‘स्क्रब टाइफस’ फैलिँदै

blog

सन्धिखर्क समाचारदाता

सन्धिखर्क, असोज ७ गते । अर्घाखाँचीमा डेङ्गु र ‘स्क्रब टाइफस’ का बिरामीको सङ्ख्या दैनिक बढिरहेको छ । बिरामीको सङ्ख्या बढेपछि सरकारी तथा निजीस्तरका स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न थालेको छ । विगत एक सातादेखि भाइरल ज्वरो, डेङ्गु र ‘स्क्रब टाइफस’ का बिरामी बढेका अर्घाखाँची अस्पतालले जनाएको छ ।

अघाखाँची अस्पतालका प्रमुख डा. जगन्नाथ तिवारीका अनुसार गत वैशाख, जेठ र असारमा १४ जनामा डेङ्गु देखिएको थियो भने ‘स्क्रब टाइफस’ सात जनामा देखिएको थियो । साउनमा १९ र भदौमा ४० गरी हालसम्म ७३ जनामा डेङ्गु देखिएको छ । हालसम्म ४३ जनामा ‘स्क्रब टाइफस’ देखा परेको डा. तिवारीले जानकारी दिनुभयो । ओपिडीमा दैनिक २५० बिरामीको जाँच गर्दा उक्त सङ्ख्यामा डेङ्गु र ‘स्क्रब टाइफस’ देखिएको हो । 

अस्पताल आउने अधिकांश बिरामी भाइरल ज्वरोबाट प्रभावित छन् । ज्वरो आउने, शरीर दुख्ने, खान मन नलाग्ने, शरीर कमजोर महसुस हुने जस्ता लक्षण देखिने बिरामी आउने गरेका तिवारीले बताउनुभयो । रुघाखोकी जस्तो सामान्य देखिए पनि डेङ्गु र ‘स्क्रब टाइफस’ हुन सक्ने भएकाले सचेत हुन आग्रह गर्दै डा. तिवारीले भन्नुभयो, “सामान्य ज्वरो देखिए पनि समयमै उपचार गर्नुहोस् ।” 

उहाँका अनुसार डेङ्गुमा भाइरल ज्वरोको लक्षण हुने भएकाले जटिलता नआएसम्म आत्तिनु पर्दैन । उहाँले भन्नुभयो, “डेङ्गु ‘एडिस’ नामक लामखुट्टेको टोकाइबाट सर्छ । ‘स्क्रब टाइफस’ किर्नाले टोक्दा हुने भएकोले गाईवस्तु र खुला चौरमा धेरै जानु हुँदैन ।”

डेङ्गु सङ्क्रमण भएका व्यक्तिमा प्रायः १०४ डिग्रीसम्मको उच्च ज्वरो आउँछ । डेङ्गु सङ्क्रमित व्यक्तिमा आँखाको भित्री भाग दुख्ने, वाकवाकी लाग्ने, मांसपेशी, हड्डी तथा जोर्नी दुख्ने, शरीरका ग्रन्थी सुन्निने, छाला रातो हुनुका साथै छालामा डाबर आउने जस्ता लक्षण देखा पर्छन् । 

लामखुट्टेले टोकेको चारदेखि १० दिनपछि डेङ्गु ज्वरोको लक्षण देखिन थाल्छ । लक्षणहरू तीनदेखि सात दिनसम्म रहन सक्ने डा. तिवारीले बताउनुभयो । गम्भीर प्रकृतिको डेङ्गु भए रगतमा ‘प्लेटलेट्स’ को सङ्ख्या घट्छ । यसले आन्तरिक रक्तस्राव भई शरीरका अङ्गले काम गर्न छोड्ने र बिरामीको मृत्युसमेत हुन सक्ने भएकाले सतर्क रहन उहाँले आग्रह गर्नुभयो ।