• ११ असोज २०८१, शुक्रबार

सडक खुलाउन श्रमदान गर्दै स्थानीय

blog

अवरुद्ध सडक सञ्चालन गर्न श्रमदान गरिरहेका डडेलधुराको चुरे क्षेत्र मलासका स्थानीय । तस्बिर : पुष्कर भण्डारी

अमरगढी समाचारदाता

डडेलधुरा, असोज ७ गते । चाडबाडका बेला सडक मर्मत गर्न स्थानीय आफैँ जुटेका छन् । वर्षाले क्षति भएको चुरेको सडक मर्मत गर्न स्थानीय दैनिक रूपमा काम गर्दै आइरहेका छन् । डडेलधुरा–कञ्चनपुर जिल्लाको सिमाना चुरे पर्वतको दुर्गम बस्ती मलासका स्थानीय सडक मर्मतको काम गर्दै आइरहेका हुन् । 

 दसैँतिहार नजिकिँदै गर्दा सडक मर्मत गर्न स्थानीय सरकारले कुनै चासो नदेखाएपछि मलासवासी  सडक मर्मत गर्न जुटेका हुन् । तत्कालीन जिल्ला विकास समिति डडेलधुराले डडेलधुरा–कञ्चनपुर जोड्ने महत्वपूर्ण सडकका रूपमा प्राथमिकतामा राखी साँदनी–गैरीखान–चुनापानी सडक खनेको थियो । यस सडकको गैरीखान–चुनापानी खण्ड वर्षाका कारण असार पहिलो सातादेखि अवरुद्ध भएको छ ।

साढे सात किलोमिटर लामो यस सडकखण्डमा यातायात सेवा सञ्चालन गर्न स्थानीय सरकारका जनप्रतिनिधिसँग पटक पटक माग गर्दा हालसम्म पनि कुनै सुनवाइ नभएको स्थानीयको गुनासो छ । चाडबाड नजिकिँदै गर्दा समेत स्थानीय सरकारले सडक सञ्चालन गर्न कुनै तदारुकता नदेखाएपछि मलासवासी स्थानीय आफैँ सडक मर्मतमा जुटेको स्थानीय जनक बमले बताउनुभयो । कञ्चनपुरको महेन्द्रनगर बजारबाट सबैभन्दा छोटो दुरीमा चुरे पर्वत शृङ्खलाको मलास क्षेत्रका बस्तीमा पुगिन्छ । उहाँले भन्नुभयो, “यो सडक डडेलधुराको भित्री मधेश जोगबुडा परशुराम जोड्ने सबैभन्दा छोटो हुन्छ । सडक मर्मत गर्न तीन दिनदेखि स्थानीयले काम गर्दै आइरहेका छन् । 

परशुराम नगरपालिका–७ अन्तर्गत मलास क्षेत्रमा रहेका बसेनी, गैरीखान, काजीगडा, आइडुङ्गा, पुरानपानी, साइसौनलगायतका विकट बस्तीका स्थानीय सडक मर्मतमा जुटेका हुन् । घरबाट रासन, भाँडाकुँडा र लत्ताकपडा बोकेर सडकमै बास बस्ने र खाना पकाई सडक मर्मतमा जुटेको उहाँले बताउनुभयो । तीन दिनयता दैनिक ५० देखि ७० जना स्थानीयले सडक मर्मतको काम गर्दै आइरहेका छन् । तीन दिनको कामले झन्डै छ किलोमिटर सडक मर्मत भइसकेको छ । बाँकी रहेको सडक मर्मत गरेर यसै सातादेखि यातायात सेवा सञ्चालन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । 

डडेलधुराको सबैभन्दा दुर्गम बस्ती मलास क्षेत्रका बस्तीमा हाल कच्ची सडक पुगे पनि वर्षाका कारण बेला बेला सडक अवरुद्ध हुने गरेको छ । 

हाल महेन्द्रनगरदेखि मलास क्षेत्र जोड्ने तीन वटा कच्ची सडक भए पनि वर्षायामसँगै सबै सडक अवरुद्ध भएका छन । गैरीखान–चुनापानी सडकखण्ड मात्रै सुचारु भए पनि चाडपर्वका बेला स्थानीयलाई निकै सहज हुने स्थानीय गोरखबहादुर बोहोराले बताउनुभयो । उहाँले वडा कार्यालय रहेको साँदनी गाउँसम्म पुग्ने सडक सञ्चालन हुन अझै समय लाग्ने बताउनुभयो ।

“गैरीखानदेखि चुनापानीसम्म सडक सुचारु हुन सके महेन्द्रनगर बजारसम्म सहजै यातायात सेवा सञ्चालनमा आउछ,” श्रमदान अभियानको नेतृत्व गरिराख्नुभएका स्थानीय अगुवा बमले भन्नुभयो, “हरेक महिनाको शनिबारलाई श्रमबार घोषणा गरेर नियमित रूपमा श्रमदान गर्ने र हरेक महिनाको पहिलो शनिबारलाई बृहत् जनश्रमदान अभियानका रूपमा सञ्चालन गर्ने निर्णय यहाँका युवाले गरेका छन् ।”