• ११ असोज २०८१, शुक्रबार

सडक अवरुद्ध, यात्रुलाई सास्ती

blog

मुगु समाचारदाता

मुगु, असोज ७ गते । मुगुको सदरमुकाम गमगढीदेखि सोरु लोकमार्गसम्म विभिन्न ठाउँमा पहिरो खस्दा यातायातका साधन सहज रूपमा आउजाउ गर्न सकेका छैनन्, जसले गर्दा यात्रुले सास्ती पाउन थालेका छन् । गमगढी–सोरु लोकमार्ग अन्तर्गत फुलीदेखि आँसीधारा खोलासम्म विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

जिल्लाको पश्चिमी भेगमा पर्ने छायानाथ रारा नगरपालिका–३, फुलीदेखि सोरु गाउँपालिका–८ को आँसीधारासम्मका विभिन्न स्थानमा सडकको माथिल्लो भागबाट पहिरो खसी सदरमुकाम गमगढी बजारसँग जोडिएको गमगढी–सोरु लोकमार्ग अवरुद्ध भएको हो । पहिरोले बाटो छेक्दा आउजाउमा समस्या भएको गाडीचालक दलबहादुर रोकायाले बताउनुभयो । पहिरोका कारण गमगढीदेखि छायानाथ रारा नगरपालिका–३, फुलीसम्म मात्र सडक सञ्चालनमा आएको छ । 

उक्त ठाउँदेखि एक घण्टा पैदल हिँडेर यात्रुले सोरु गाउँपालिका–८ को आँसीधाराबाट अर्को गाडी चढी यात्रुले आउजाउ गर्ने गरेका छन् । सोरु गाउँपालिका–८ का स्थानीय दानबहादुर रोकायाले फुलीदेखि आँसीधारासम्मको सडकलाई सम्बन्धित निकायले छिट्टै सडक मर्मत गर्न पहल गरे सहज हुने बताउनुभयो । उहाँले भन्नुभयो, “गमगढी–सोरु लोकमार्गमा आउजाउ गर्ने यात्रुले दुई पटक गाडी चढ्दा एकतर्फी भाडाको एक हजार पाँच सय रुपियाँ भाडा तिर्न बाध्य भएका छौँ ।”

सोरु गाउँपालिकाका उपाध्यक्ष केशरजङ्ग शाहीले पालिकाको पहलमा अवरुद्ध सडकखण्डलाई यथाशक्य छिटो सडक खुलाउन पहल गरिरहेको बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले गमगढीदेखि तारापानीसम्म छ सय र सोरुकोटसम्मका लागि एक हजार दुई सय रुपियाँ भाडादर कायम गरेको छ । सोभन्दा बढी भाडा उठाएको खण्डमा पालिकाको कार्यालयमा आई जानकारी गराएमा त्यस्तालाई कारबाही गरिने उहाँको भनाइ छ ।