• ७ मंसिर २०८१, शुक्रबार

जापानिज इन्सेफ्लाइटिसको प्रकोप

blog

सामान्यतया वैशाखदेखि सुरु भई असोज महिनासम्म जापानिज इन्सेफ्लाइटिसको प्रकोप रहन्छ । एक दशक पहिलेसम्म अस्पतालमा स्वास्थ्यकर्मी, औषधी र बिरामी राख्ने ठाउँको अभाव भएको महसुस हुन्थ्यो । त्यसपछि लामखुट्टे, भाइरस र रोगका लागि प्रतिकूल मौसमका कारण नियन्त्रणमा आउने गरेको मानसपटलमा ताजै छ । केही वर्ष मथ्थर भए पनि यस वर्ष पुनः वर्षायामको सुरुवातसँगै तराई, भित्री मधेश र मधेशका जिल्लामा जापानिज इन्सेफ्लाइटिसको प्रकोप देखिएको छ । यस वर्ष शङ्कास्पद ७६६ मध्ये ६३ जनामा पुष्टि भइसकेको छ र सङ्क्रमितमध्ये २७ प्रतिशत अर्थात् १७ जनाको मृत्यृ भइसकेको छ । मृत्यु हुनेमा कैलाली, कपिलवस्तु, पाल्पा, चितवन, सिन्धुली, रौतहट, सर्लाही, सिराहा, सुनसरी, धनुषा, पर्सा र झापा जिल्लाका छन् । अधिकांश १५ वर्षमुनिका छन् । घर गाउँमा, औषधी पसल, निजी अस्पताल, नर्सिङ होम, निजी अन्य चिकित्सालय र भारतमा समेत सङ्व्रmमित सङ्ख्याले गर्दा तथ्याङ्क बाहिर धेरै गुणा हुन सक्छ ।

विश्व स्वास्थ्य सङ्गठनले पनि दक्षिण एसियाली क्षेत्रलाई औलो प्रकोपको केन्द्रविन्दु र एसियाली क्षेत्रलाई इन्सेफ्लाइटिस प्रकोप केन्द्र मानेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा प्रत्येक वर्ष करिब ५० हजार सङ्क्रमित, ११ हजार जतिको मृत्यु र नौ हजार जति यसैका कारण अपाङ्गता हुने गर्छन्, जसमा एसिया क्षेत्रबाटै करिब १० हजारको मृत्यु हुन्छ ।

सन् १९२४ मा जापानमा देखिएको यो रोग, १९७८ मा भारतको उत्तरप्रदेशबाट नेपालको रुपन्देहीमा प्रवेश गरी महामारीको रूप लिएको थियो त्यसपछि मोरङमा महामारी भएको थियो । १९७८ यता करिब २७ हजार सङ्क्रमित र ५,४०० बढीले ज्यान गुमाइसकेको देखिन्छ । यस रोगबाट प्रायः विपन्न वर्गका बालबालिका (१५ वर्षमुनिका) र वृद्धवृद्धा बढी पीडित तथा मृत्यु हुनेमा पर्छन् ।

यो रोग के हो ?

सबैले बुझ्ने भाषामा इन्सेफ्लाइटिस भनेको मानिसको स्नायु प्रणालीसँग सम्बन्धित रोग हो । महामारीको रूपमा फैलिने इन्सेफ्लाइटिस जापानिज इन्सेफ्लाइटिस हो र कारक जापानिज बी इन्सेफ्लाइटिस भाइरस हो । जापानिज इन्सेफ्लाइटिस समूह बीको अरबोभाइरस (अहिले फलोबी भाइरस भनिन्छ) द्वारा हुने मस्तिष्कको वा दिमागको सङ्क्रमण वा सोध सुजन हो जहाँ पिप हुँदैन । मुख्य स्रोत सुँगुर भए पनि अन्यमा बङ्गुर, हाँस, कुखुरा, घोडा, गाई, भैँसी, राँगा जस्ता घरपालुवा र जङ्गली चरा पन्छीको शरीरमा वा सङ्क्रमित अवस्थामा फलोबी भाइरस अत्यधिक रहँदा क्युलेक्स (क्युलिसिन) जातको पोथी लामखुट्टेले टोकी मान्छेलाई टोकेर यो रोग मानिसमा सार्छ ।

जोखिम समूहमा विपन्न वर्ग, प्रतिरोधात्मक शक्ति कम भएका, अज्ञान, बालबालिका (१५ वर्षमुनिका) र वृद्धवृद्धा (५० वर्षभन्दा माथिका) पर्छन् । अति प्रभावित जिल्लामा बाँके, बर्दिया, कैलाली, कन्चनपुर, दाङ, रुपन्देही, झापा, मोरङ, सुनसरी र पर्सा पर्छन् । यस रोगको मुख्य केन्द्र वा राजधानी बाँके जिल्ला पर्छ भने बिरामी भई मृत्यु दर बढी हुने जिल्ला दाङ हो । जनस्वास्थ्यका दृष्टिले यस रोगलाई ‘गरिबमा पनि अति गरिबको रोग’ का रूपमा परिभाषित गरिन्छ किनभने सुँगुर, बङ्गुर र हाँस नै गरिबका सम्पत्ति, झुल किन्न नसक्ने आर्थिक हैसियत, जनचेतनाको कमी, रेडियो टिभीबाट दिइने जानकारीमा पहुँच नहुनु, रोग लागि सकेपछि पनि उपचार खर्चको कमी वा डरले अस्पताल नपुग्ने वा उपचार गराउँदा गराउँदै बिचैमा भाग्ने कारणले विपन्न वर्ग बढी प्रभावित हुन्छन् ।

लक्षण

सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेको पाँच देखि १४ दिन पछाडि प्रत्येक तीन सयदेखि पाँच सय जनामध्ये एक जनामा यो रोगका लक्षण देखा पर्छन् । सुरुमा जरो आउने, धेरै टाउको दुख्ने, बान्ता हुने, शरीर थरथराउने, जिउ गल्ने, घाँटी बस्ने वा स्वर बस्ने र पछि अरबोभाइरसले मस्तिष्कमा असर पु¥याइ बेहोस हुने, जरोसँगै बर्बराउने, मांसपेसी कडा हुने, घाँटी वा गर्धन कडा हुने, कम्पन हुने तथा स्नायुसम्बन्धी विकृतिले हातखुट्टा नचल्ने, मुख बाङ्गिने, दिसापिसाब नियन्त्रण गर्न नसक्ने र पक्षघात पनि हुन सक्छ । मन्द सङ्क्रमणमा यी लक्षण नदेखिन पनि सक्छन् । रोग लागेको झन्डै ९ दिनभित्र नै रोगीको मृत्यु हुने गर्छ । यो रोग इन्सेफ्लाइटिस, मेनेन्जाइटिस वा फ्रेवाइल हेडेकका रूपमा देखिन सक्छ । उच्च जरो आउने, गम्भीर कम्पन छुट्ने, मानसिक अवस्था बिग्रँदै जाने र हातमा प्यारालाइसिस हुन्छ ।

जटिलता

सङ्क्रमितमध्ये २० देखि ४० प्रतिशतसम्मको मृत्यु हुने गर्छ र बाँचेकामा पनि ४० देखि ७५ प्रतिशत जतिले स्नायु विकार वा स्नायु अपाङ्गता भोग्नु पर्छ । आँखा, कान बन्द हुने, बोली बन्द हुने, छारे रोग, बिर्सने रोग, सुस्त मनस्थिति, कान नसुन्ने, पक्षघात जस्ता रोग झेलिरहनु पर्छ । त्यस कारण चुनौती भनेको रोग लाग्न नदिने, रोग लागिहाले मृत्यु रोक्ने र बाँचेकाको विकलाङ्गपन न्यूनीकरण गर्ने तथा उपचार गर्नु पर्छ ।

उपचार

जापानिज इन्सेफ्लाइटिसको विशेष उपचार पद्धति र औषधी नभएकाले लक्षण तथा कारण अनुसार उपचार गर्न, जरोको, बान्ताको, टाउको दुखाइका र स्टेरोवाइड, विषाणु विरुद्धको, कम्पनको औषधीको साथै अक्सिजन, स्लाइन पानी पनि दिने गरिन्छ र कम्पन छुट्ने, चेतना हराउँदै जाने, र बेहोस हुनबाट जोगाइन्छ । 

बचावट 

खोप लगाइसकेपछि यसले काम गर्न एक महिना लाग्छ । रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम हुन्छ । त्यस कारण मृत्युको मुखमा पु¥याउने यो रोग र बचेमा पनि विकलाङ्ग भएर बाँच्नुपर्ने बाध्यताबाट मुक्त हुन एकातिर स्वास्थ्यसम्बन्धी जनचेतनाको वृद्धि र सरसफाइ छँदै छ, अर्कोतिर खोपको प्रयोग गरेर र सङ्क्रमित लामखुट्टेको टोकाइबाट बच्नु नै यो रोगबाट जोगिने उत्तम, राम्रो मात्र नभई सर्वोत्तम उपाय पनि हो । 

खोप 

लाइभ एक्टिभेटेड (मरेको विषाणु, खोपमार्फत दिइने) र इनएक्टिभेटेड (विषाणु ज्युँदै हुन्छ तर रोग लगाउन नसक्ने गरी कमजोर बनाइएको) दुई किसिमका खोप हुन्छन् । नेपालमा २०५५ सालमा चीन सरकारको सहयोगमा बाँके, बर्दिया, कैलाली र दाङमा पाँच लाखलाई इनएक्टिभेटेड र दुई लाख ५० हजारलाई लाइभ एक्टिभेटेड (एक महिनाको फरक गरेर तप्न डोज) दिइएको थियो तर तीन डोज पूरा गर्ने ६० प्रतिशत मात्रै भए, जरोको कारण र पटक पटक लगाउने झन्झटका कारण ४० प्रतिशत ले खोप दोहो¥याएनन् भने उता लाइभ इनएक्टिभेटेडमा साइड इफेक्ट कम भएको, रोग नलागी सत् प्रतिशत सुरक्षित भएको, खर्च सस्तो पर्न जाने भएकाले एक मात्रा खोप सही ठह¥याइयो र हाल सरकारको राष्ट्रिय खोप कार्यक्रममा समावेश गरी निःशुल्क प्रदान गरिरहेको छ ।

‘एसए चौध–चौध–एक’ नामक एक मात्रा खोपले जीवनभरि इन्सेफ्लाइटिसको जोखिमबाट जोगिन सकिन्छ भन्ने कुरा बाँके, कैलाली, दाङ र बर्दियामा प्रमाणित भइसकेको छ । केटाकेटीलाई यस रोगविरुद्ध खोप १२ महिनाभित्र नभए पाँच वर्षसम्म दिइनु पर्छ । किनभने कुल सङ्क्रमितमध्ये ५० प्रतिशत एक देखि १५ वर्षका बाल बच्चा पर्छन् । यसै गरी बङ्गुर, सुँगुरमा पनि भ्याक्सिनेसन गर्न कृषि मन्त्रालयलाई आग्रह गरिनु पर्छ । खोप एचआइभी सङ्क्रमित, गर्भवती, दीर्घरोगी र एक वर्षमुनिका बालबालिकामा दिन हुँदैन ।

लामखुट्टेको टोकाइबाट बच्न

लामखुट्टेबाट जोगिने सर्वोत्तम उपाय झुलको प्रयोग नै हो । यसका अतिरिक्त घर र घर वरिपरिको झाडी फँडानी गर्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने, ढल, नाला सफा गर्ने, र निकासको राम्रो व्यवस्था गर्नु पर्छ । त्यस्ता ठाउँमा मोविल, मट्टीतेल वा कीटनाशक औषधी छर्कने र घर वरपर सफा राख्नु पर्छ, साथै घरका ढोका झ्याल र मकेलामा तामा वा कासको जाली राख्ने गर्नु पर्छ । जापानिज इन्सेफ्लाइटिस सार्ने क्युलिसिन लामखुट्टे धानबारीमा, जमेका पानीमा बढी हुने भएकाले समय–समयमा धानबारीमा र खाल्डाखुल्डीमा कीटनाशक औषधी छर्नु पर्छ । घरबाहिर नसुत्ने । साँझपख घरबाहिर निस्कँदा वा सुत्दा वा काम गर्दा पुरा शरीर ढाक्ने लुगा लगाउनु पर्छ । घरबाहिर वा भित्र सुत्दा झुल टाँगेर सुत्नु पर्छ । त्यसै गरी भाइरसको घर मानिने, छाडा गाईवस्तु, पशुपन्छी, कुखुरा, विशेष गरी सुँगुर, बङ्गुर र हाँस सकेसम्म एउटै घरमा नभए घरसँगै जोडिएको स–साना झुपडीमा नपाल्ने र पाले पनि घर टाढा, जालीवाला सफा वाकसमा व्यवस्थित ढङ्गले पाल्ने गर्नु पर्छ ।

Author

डा. प्रकाश बुढाथोकी