• ११ असोज २०८१, शुक्रबार

साना व्यवसायलाई कर्जा सुनिश्चित गर्न जोड

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ७ गते । साना तथा मझौला व्यवसायलाई प्राथमिकतामा राखेर कर्जा सुनिश्चित गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । शुक्रबारदेखि सुरु एसियाली कर्जा सुरक्षण संस्थाको सम्मेलनको तेस्रो दिन आइतबार विभिन्न छलफल सत्रका सहभागीले कर्जा सुनिश्चितले मात्र साना तथा मझौला व्यवसायको उत्थान हुने जनाएका हुन् । 

पहिलो सत्रमा नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर बमबहादुर मिश्रले कर्जा साना उद्योगको कर्जा सुरक्षाका लागि केन्द्रीय बैङ्कसँगको निकट सहकार्यमा सबै क्षेत्रमा दिगो वृद्धि हुने किसिमले काम गर्नुपर्नेमा जोड दिनुभयो । 

इन्डोनेसियाको कर्जा सुरक्षण संस्था एसिपिन्डोका नुर श्यामसुदादी र जापानको क्रेडिट ग्यारेन्टी महासङ्घका हातानोले साना तथा माझौला उद्यमको वित्तीय साक्षरता बढाउने किसिमका अभियान सञ्चालन गरेर ८० प्रतिशतभन्दा बढी उद्यमको कर्जा योग्यता बढाउने लक्ष्यसहित काम गरिरहेका जानकारी दिनुभयो । 

दोस्रो सत्रमा भारतको साना तथा मझौला उद्यम कोषकी व्यवस्थापक रिचा चौधरीले साना उद्यम र उनीहरूका सिर्जनात्मक तथा नवीनतम सोचमा यस किसिमको कर्जाले प्राण भर्ने काम गर्दै आएको बताउनुभयो । उहाँका अनुसार सो कोषको कार्य क्षेत्र भारतका ८५ प्रतिशतभन्दा बढी साना तथा मझौला उद्यमसम्म पुग्न र आर्थिक रूपमा सघाउन सक्ने किसिमको छ । 

त्यस्तै अर्को सत्रमा कुमारी बैङ्कका प्रमुख डिजिटल बैङ्किङ अधिकृत अनिश ताम्राकारले अहिलेको बजारमा परियोजनाको सम्भाव्यता र मूल्य प्रणालीबिचको सन्तुलन मिलाउन झनै चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो । 

कार्यक्रमकै क्रममा आयोजित ‘वित्तीय नवीनता, रणनीति तथा सिकाइमार्फत जोखिम व्यवस्थापन र आगामी बाटो’ विषयक सत्रका सहभागीले विशेष गरी आर्थिक शिथिलता, प्राकृतिक प्रकोप र महामारीका बेला नवीनतम र स्टार्टअप उद्यममा हुने उच्च जोखिम व्यवस्थापनको उपायबारे छलफल गर्नुभएको थियो । 

सो क्रममा जापान र दक्षिण कोरियाका कर्जा सुरक्षण संस्थाका प्रतिनिधिले उल्लेखित जोखिम कम गर्न तथ्याङ्कमा आधारित प्रयोगसँगै वित्तीय संस्थासँग जोखिम साझा गर्ने, भेन्चर ऋण योजनालगायत तीन वटा मोडलबारे उल्लेख गर्नुभयो ।