• ११ असोज २०८१, शुक्रबार

समाज कल्याण ऐन संशोधन तयारी

blog

गोरखापत्र समाचारदाता 

ललितपुर, असोज ७ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले समाज कल्याण परिषद् ऐन संशोधन गर्न लागेको जानकारी दिनुभएको छ । समाज कल्याण परिषद्ले आइतबार ललितपुरमा आयोजना गरेको ४५ औँ ‘सामाजिक सेवा दिवस समारोह’ मा उहाँले परिषद्लाई व्यवस्थित गर्न र जिम्मेवार बनाउन समयसापेक्ष संशोधन गर्न लागेको जानकारी दिनुभएको हो । 

मन्त्री साहले परिषद्को ऐन संशोधन गरेर सङ्घ, प्रदेश र स्थानीय तहसम्म सेवा विस्तार गर्न लागेको उल्लेख गर्दै एकद्वार नीति अनुरूप सङ्घ संस्थाको नियमन र सहजीकरण प्रभावकारी बनाइने पनि बताउनुभयो । 

उहाँले भन्नुभयो, “मानव विकास सूचकाङ्कभन्दा पछाडि परेका भौगोलिक क्षेत्रलाई सबैले प्राथमिकतामा राख्ने नीति लिएको छ । प्राथमिकतामा परेका सेवाग्राही, सीमान्तकृत समुदाय, आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलितलगायत पछाडि पारिएका समुदायलाई परियोजनामा पहिलो प्राथमिकता दिइने छ ।” मन्त्री साहले परिषद्ले आफ्ना कामकारबाही पारदर्शी र उत्तरदायी रूपमा सम्पन्न गर्ने विश्वास व्यक्त गर्नुभयो । 

समाज कल्याणको नामबाटै समाजको कल्याण गर्ने संस्था भनेर सबैले बुझ्नुपर्ने बताउँदै उहाँले परिषद्को नेतृत्व, कर्मचारीलगायत यससँग सम्बन्ध राख्ने सबैले समाजको कल्याण गर्ने सोच राख्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले समाज सेवा विकासोन्मुख देशका लागि मेरुदण्ड भएकाले सेवाभाव राखेर काम गर्न आग्रह गर्नुभयो । 

समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्टले संस्थालाई पुनर्संरचना गरेर समयसापेक्ष सुधार गरी प्रदेश र स्थानीय तहसम्म सेवा विस्तार गर्नुपर्ने बताउनुभयो । उहाँले परिषद्लाई जिम्मेवार र उत्तरदायी बनाउन निरन्तर लागिपरेको दाबी गर्नुभयो । परिषद्का उपाध्यक्ष नन्दलाल माझीले सबै एकजुट भएर काम गरेमा समाजका निम्ति थप योगदान दिन सकिने विश्वास व्यक्त गर्नुभयो । 

परिषद्का बोर्ड सदस्य नारायण गिरीले परिषद्को इतिहास गर्विलो भए पनि इतिहासमै सीमित नहुने गरी काम गरेर देखाउनुपर्ने बताउनुभयो । 

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था महासङ्घका अध्यक्ष डा. शङ्करप्रसाद कलौनीले परिषद्को संस्थागत सुधार गर्दै एकताबद्ध भई सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । मन्त्री साहले अपाङ्गता भएका व्यक्तिलाई ह्विलचेयर हस्तान्तरण गर्नुभएको थियो ।