• १२ असोज २०८१, शनिबार

गर्भवतीलाई पोषण भत्ता

blog

नगर प्रमुख वैकुण्ठ न्यौपाने पोषण भत्ता प्रदान गर्नुहुँदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, असोज ६ गते । तनहुँको व्यास नगरपालिकाले गर्भवती महिलालाई पोषण भत्ता सुविधा उपलब्ध गराउन थालेको छ । सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन र सुत्केरी सेवा लिन आकर्षित गर्न सुत्केरीलाई पोषण भत्ता दिइएको नगरपालिकाले जनाएको छ ।  

नगरपालिका अनुसार गर्भवती महिलाको स्वास्थ परिक्षण नगर्दा र घरमै बच्चा जन्माउँदा आमा र शिशु दुवैको स्वास्थ्य समस्या पर्ने भएकोले यसको अन्त्यको लागि भत्ता उपलब्ध गराउन थालिएको हो । ‘महिलासँग उपमेयर कार्यक्रम’ अन्तर्गत पोषण भत्ता उपलब्ध गराउन थालिएको हो ।  

नगरपालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा जाँच तथा सुत्केरी सेवा लिनेलाई पोषणबापत भत्ता दिइएको हो । नगरपालिकाले गर्भवतीलाई पोषणवापत जनही रु. पाँच हजारका दरले भत्ता वितरण गरेको छ । भत्ता वितरण कार्यक्रमको आइतबार शुभारम्भ गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलेले आमा र शिशु दुवैको स्वास्थ्य सुरक्षाको लागि नगरपालिकाले प्राथमिकता दिएइको बताउनुभयो । नगर प्रमुख न्यौपानेले नगरपालिकाको आर्थिक सहयोगमा दमौली अस्पतालमा सुत्केरी महिलाको अप्रेसन सेवालाई निरन्तर दिनका लागि गाइनोलोजिष्ट र एनेस्थेसिस्ट गरी दुई जना चिकित्सकलाई पारिश्रमिक उपलब्ध गराइएको जानकारी दिनुभयो । 

त्यसैगरी सुत्केरी हुने महिलालाई अस्पताल लैजान र घरमा पुर्‍याउन निशुल्क एम्बुलेन्स सुविधा प्रदान गरिएको न्यौपानेले बताउनुभयो । स्वास्थ्य संस्थामा जाँच गरेको मातृसेवा कार्डको आधारमा गर्भवतीलाई भत्ता वितरण गरिने नगरपालिकाले जनाएको छ । गर्भवतीलाई समय–समयमा गर्भ जाँच गरी शिशु मृत्युदर न्यूनीकरणमा प्रोत्साहित गर्ने उद्देश्यले प्रोत्साहन पोषण रकम दिईएको उपप्रमुख इन्दिरा दरैले बताउनुभयो । 

पोषण प्रोत्साहन रकम प्रदान गरी गर्भावस्थामा कुपोषण हुनबाट बचाउन तथा प्रोटोकल अनुसार गर्भवती जाँच गर्न प्रोत्साहन गर्ने उद्देश्यले गर्भवती पोषण कार्यक्रमअन्तर्गत हातमै नगद रकम प्रदान गरिएको दरैले जानकारी दिनुभयो । दरैले भन्नुभयो, "घरमा सुत्केरी गराउँदा पोषणको कमी हुँदा आमा र शिशुको स्वास्थ्यमा असर पर्ने भएकोले सचेतनाको लागि कार्यक्रम सञ्चालन गरेका हौं ।" पहिलो पटक गभर्वती र सुत्केरी भएकी महिललाई स्वास्थ सम्बन्धी ज्ञानको अभाव हुने भएकोले कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । उपप्रमुख दरैले भन्नुभयो, “गर्भावस्थामा स्वास्थ्य परीक्षण नगर्ने र घरमै असुरक्षित सुत्केरी गराउँदा महिलाको ज्यान जाने खतरा हुने भएकोले यसको अन्त्यको लागि कार्यक्रम सञ्चालन गरेका हौं ।” 

नगरपालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा प्रोटोकल अनुसार नियमित गर्भ जाँच गर्ने गर्भवतीलाई भत्ता वितरण गरिनेछ । नगरपालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थाबाट कम्तीमा तीन पटक (४, ६ र ८ महिना) गर्भवती महिलालाई आठ महिनामा मातृ शिशुकार्डको आधारमा रु. पाँच हजार वितरण गरिने महिला शाखा प्रमुख राधा आचार्यले जानकारी दिनुभयो । यस कार्यक्रमको लागि चालु आर्थिक वर्षमा दश लाख रुपियाँ विनियोजन गरिएको हाल सम्म ७१ जनाले सुविधा पाएको उहाँले बताउनुभयो । 

स्वास्थ्य संस्थामा सुत्केरी गराउन प्रोत्साहन गर्ने नीति लिए अनुसार पोषण भत्ता वितरण थालिएपछि स्वास्थ्य संस्थामा परीक्षण गराउन र सुत्केरी हुन आउनेको सङ्ख्या बढेको आचार्यले जानकारी दिनुभयो । संस्थागत सुत्केरी बढावा गर्न कार्यक्रम प्रभावकारी देखिएको चालु आर्थिक वर्षमा निरन्तरता दिइएको नगरपालिकाले जनाएको छ ।