• ११ असोज २०८१, शुक्रबार

‘महिलालाई नेतृत्वमा पुग्नै कठिन’

blog

फाइल तस्बिर ।

बिन्दु थापा 

पाल्पा, असोज ५ गते । एकसय ९ स्थानीय तह रहेको लुम्बिनी प्रदेशका २ पालिका प्रमुखको जिम्मेवारी महिलाले सम्हालेका छन् । बाँकी एक सय सात स्थानीय तहमा पुरुषकै नेतृत्व रहेको छ । 

स्थानीय तह निर्वाचन ऐन २०७३ ले स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षमध्ये एक पद र वडामा निर्वाचित पाँचमध्ये एक जना खुलाबाट महिला र एक जना दलित महिला अनिवार्य गरेको छ ।  

सोहीअनुसार प्रदेशका स्थानीय तहका कुल वडा सदस्यको सङ्ख्या ४ हजार ९१५ मध्ये महिलाको सङ्ख्या एक हजार ९६६ रहेको छ । जसमा  दलित महिला सदस्यको सङ्ख्या ९८३ रहेको छ ।  

कानुनले जवर्जस्तरुपमा प्रत्येक वडामा दलित महिला सदस्य अनिवार्य हुनुपर्छ भनेकै कारण राजनीतिक दलले उम्मेदवार उठाएसङ्गै सङ्ख्यात्मकता रूपमा सहभागिता धेरै देखिए पनि नेतृत्व गर्ने र निर्णय लिन सक्ने ठाउँमा  भने पुग्न सकेका छैनन् ।  

वडामा सीमित दलित महिला कार्यवाहक वडा अध्यक्ष बन्न पनि असाध्य  चुनौतीपूर्ण रहेको तानसेन नगरपालिका –१३ दलित सदस्य वसुन्धरा दर्जीले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो,  ‘दलित महिलाले समग्र महिलाले भन्दा भिन्न विभेद र उत्पीडन खेप्न बाध्य छन्, अझै पनि सामाजिक संरचनामा सबैभन्दा पछाडि छन् ।’ 

घरभित्र लैङ्गिक विभेद र हिंसा खेपेका दलित महिला घरबाहिर जातीय विभेद र छुवाछूतबाट समेत नजानिँदो रूपमा प्रताडित हुन परेको उहाँको तितो अनुभव छ  । दर्जीले पहिले दलित भएकै कारण कार्यवाहक नदिएको जस्तै लागेको थियो, तर दुई पटक महिला सदस्य भएको महिलालाई पनि कार्यवाहक नदिएपछि पछि वडा अध्यक्षले महिलाको अस्तित्व स्वीकार गर्न नसकेको बताउनुभयो । 

दर्जीले भन्नुभयो, “वडामा दलित महिलाले भोग्नु परेको समस्या र पीडाका कुरा नलैजाने होइन, कुरा सुनुवाइ हुँदैन वडामा गइसकेपछि केही गरिब तथा दलित महिलाका लागि स्वास्थ्य बिमा बिजुलीको छुट गरी दिन सफल भएको छु ।”  

तानसेन नगरपालिका–४ की वडा अध्यक्ष भगवती दर्नाल भने पार्टीको आग्रहपछि वडा सदस्यमा आएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो,  ‘घरको काम गरेरै सकिँदैन राजनीतिमा आउने कुनै चाहना नभएर पनि आउन बाध्य भए, अर्को पटक म उठ्दिन, समय दिनै सक्दिन । वडामा कार्यवाहक नपाउने होइन, मेरै कारण कार्यवाहक लिनदिन, पढेलेखेको पनि छैन समय पनि छैन ।’

तानसेन नगरपालिकामा १४ वटा वडा छन्, जसमा १४ जना दलित महिला सदस्य छन् । शैक्षिक योग्यता न्यून कोही करले कोही रहरले सदस्य बनेका छन् । चाहना भएका र गर्न खोज्ने दलित महिलाको आवाज ओझेलमा पार्ने गरेको दलित महिला सदस्यको बुझाइ छ । 

तानसेन नगरपालिका–१ की मञ्जु विकले आफूले वडामा एक पटक  कार्यवाहक पाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले कार्यवाहक लिन सक्ने सक्षम छु अनुभव पनि छ । तर मसँग सवारीसाधन छैन, जसको कारणले पछाडि पर्न परेको छ । ’

वडा २ दलित सदस्य मञ्जु रणपालले कतिपय दलित महिलालाई घर परिवारको सहयोग नभएका कारण महिलालाई नेतृत्वमा ल्याउन कठिन भएको बताउनुभयो । उहाँले महिलाको आर्थिक अवस्था सुधार नहुँदा महिलालाई परिवारले बाहिर पठाउन नसकेको अवस्था रहेकाले यस्ता किसिमका कार्यक्रम ल्याउन पर्ने बताउनुभयो । 

यस्तै, तानसेन नगरपालिका–७ की मिना परियार दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ । उहाँले महिलाले समय व्यवस्थापन गर्न नसक्नु र कोटामा मात्र राख्ने प्रवृत्तिले गर्दा नेतृत्वमा महिला आउन नसकेको बताउनुभयो । 

सामाजिक स्रोत विकास केन्द्र पाल्पाका कोषाध्यक्ष तारा रसाइलीले महिलालाई राजनीतिक दलमा सजिलै आउन सक्ने स्थिति नभएको बताउनुभयो । तारा रसाइलीले भन्नुभयो, ‘आफ्नो वडामा दलित समुदायको बस्ती रहेको र उम्मेदवारीका लागि उनीहरूलाई उत्प्रेरित गर्नुपर्ने विषय सबै राजनीतिक दललाई थाहा छ, तर दलित महिलाले केही गर्न सक्दैनन् भन्ने सोचाइले महिलाले नेतृत्व लिन सकिरहेको अवस्था छैन ।’

दलित महिला सदस्य पदमा समेत आउन नचाहनु र पार्टीको नेतृत्व तहमा पुग्न नसक्नु दलहरूको व्यवहार, दलित महिलालाई माथिल्लो पदमा जान नदिने पुरुषवादी चिन्तनजस्ता कारणले अनिच्छुक देखिएको रसाइलीको भनाइ छ  ।

‘आरक्षणलाई अवसरका रूपमा लिएर व्यक्ति आफैँ सक्रिय भएर चुनावको अर्थ–राजनीति नबुझी आरक्षणको राजनीति बुझ्न सकिँदैन । चुनाव यति खर्चिलो छ कि महिला त्यसमाथि पनि दलित महिला मेयर, उपमेयर, वडाध्यक्षजस्ता कार्यकारी पदमा उठ्नै चाहँदैनन्’ उहाँले भन्नुभयो, “नेतृत्वमा कसैले दलित महिलालाई ल्याउन नचाहेको देखिन्छ ।” 

 घर धन्दामै सीमित रहेका  दलित महिला जनप्रतिनिधि बनेका दलित वडा सदस्यलाई बेला–बेलामा दलित महिलाले नेतृत्व विकास गर्न सकेनन्, बोल्न लेख्न सक्दैनन् भन्ने आरोप खेप्ने गरेको उहाँहरूको भनाइ छ । दलित महिलालाई सक्षम बनाउन  नियमित तालिमको आवश्यकता रहेको बुझाइ उहाँहरूको छ ।