• ११ असोज २०८१, शुक्रबार

भेरी अस्पतालमा अत्याधुनिक नयाँ अपरेसन थिएटर सञ्चालनमा

blog

लाइभ सर्जरी गरेर भेरी अस्पतालको नयाँ अप्रेशन थिएटरको उद्घाटन गरिँदै । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, असोज ५ गते । 
भेरी अस्पताल नेपालगन्जले शनिबारदेखि अत्याधुनिक नयाँ अपरेसन थिएटरबाट शल्यक्रिया सेवा दिन सुरु गरेको छ । नयाँ भवनमा निर्माण गरिएको उक्त शल्यक्रिया कक्षको वरिष्ठ आर्थोस्कोपी सर्जन प्रा.डा.अमित जोशीले लाइभ सर्जरी गरेर उद्घाटन गर्नुभयो ।

आर्थोस्कोपी कार्यशालामा सहभागी हुन नेपालगन्ज आउनुभएको अवसरमा डा.जोशीबाट शल्यक्रिया कक्षको उद्घाटन गराइएको भेरी अस्पतालका प्रमुख डा. प्रकाशबहादुर थापाले बताउनुभयो ।

घुँडाको भित्री भागमा चोट लागेर घाइते भएका नेपालगन्जका १८ वर्षीय एक युवकको शल्यक्रिया गरेर प्रा.डा.जोशीले सो नयाँ भवनको अत्याधुनिक शल्यक्रिया कक्षको उद्घाटन गर्नुभएको थियो ।

अस्पतालका प्रमुख डा. थापाका अनुसार सो शल्यक्रियाको भिडियो लाइभ गरिएको थियो । प्रा.डा. जोशीले भेरी अस्पतालमै सञ्चालन भइरहेको कार्यशालाका सहभागी हुनुभएका आर्थोकोपी सर्जन तथा अर्थोपेडिक सर्जनहरूसँग लाइभ भिडियो संवाद गर्दै शल्यक्रिया गर्नुभएको थियो ।

त्यस क्रममा सर्जनहरूले विभिन्न जिज्ञासाहरू राख्नुभएको थियो भने प्रा.डा.जोशीले जवाफ दिनुभएको थियो । करिब एक घण्टा लगाएर सो शल्यक्रिया गरिएको थियो ।

अस्पताल प्रमुख डा. थापाले भन्नुभयो, ‘‘लिगामेन्टको शल्यक्रिया भेरी अस्पतालमा यसअघि पनि भइरहेका थिए । तर अबदेखि शल्यक्रिया सेवा नयाँ भवनबाट दिने तयारी गरिएको छ ।’’

यसैबिच भेरी अस्पतालमा सञ्चालन भइरहेको आर्थोस्कोपी कार्यशालामा देशभरका आर्थोस्कोपी र आर्थोपेडिक सर्जन गरी ७० बढी चिकित्सकहरू सहभागी हुनुभएको छ ।

सो कार्यशालामा उपचार पद्धतिमा आएका प्राविधिक विकास र अनुभव आदानप्रदानका साथै आर्थोस्कोपी सर्जरीमा आउने जटिलताहरूलाई भविष्यमा कसरी सामाना गर्ने भन्ने विषयमा पनि विस्तृत छलफल भएको नेपालगन्जका वरिष्ठ अर्थोपेडिक सर्जन डा. तीर्थेन्द्र खड्काले बताउनुभयो ।