• ११ असोज २०८१, शुक्रबार

गुल्मी अस्पतालबाट ८५ हजार बढीले लिए सेवा

blog

गुल्मी अस्पतालको वार्षिक समीक्षा कार्यक्रममा सहभागी । तस्बिरः रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 

गुल्मी, असोज ५ गते। तम्घासस्थित गुल्मी अस्पतालबाट एक वर्षमा ८५ हजार ६८० नागरिकले स्वास्थ्य उपचार सेवा लिएका छन्।  अस्पतालको वार्षिक समीक्षामा ८५ हजार ६८० नागरिकले उपचार पाएको निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. विभव बस्यालले जानकारी दिनुभयो। 

७४ हजार ८७९ ले ओपिडी र १० हजार ८०१ जनाले आकस्मिक सेवा लिनुभएको हो।  जसमा एक हजार ८६७ जना नागरिकले बेड भर्ना भएर सेवा लिनुभएको छ।  सामाजिक अन्तर्गत ८८४ जना र ज्येष्ठ नागरिक अन्तर्गत ५७६ जना नागरिकले सेवा लिनुभएको छ।  

एक वर्षमा दैनिक ६१९ ले प्रयोगशाला परीक्षण, २४ भिडियो एक्स-रे, १५ इसिजी र ५९ जनाले एक्स-रे सेवा लिनुभयो।  अस्पतालमा हाडजोर्नी विशेषज्ञ आएदेखि दुई हजार १३८ जनाको जटिल र मध्यम प्रकृतिका हाडजोर्नी तथा प्रसूति लगायतका शल्यक्रिया गरिएको छ।  

बिमाले उपचार गराउने बढे 

२०७६ सालबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रमले गुल्मी अस्पतालमा उपचार गर्न आउने नागरिकको सङ्ख्या बढ्दै गएको छ।  त्यस्तै, यस अस्पतालमा विशेषज्ञ डाक्टरसहितको सेवा प्रवाह गर्न थालिएदेखि सबै खाले बिरामीको सङ्ख्या बढ्दै गएको छ।  नयाँ पुराना गरी हालसम्म ५७ हजार १३१ जनाले स्वास्थ्य बिमामार्फत सेवा पाउनुभएको उहाँले बताउनुभयो। 

स्वास्थ्य बिमामार्फत सेवा नागरिकले लिँदा आठ करोड ८७ लाख रुपियाँ सरकारले दायित्व लिएको छ।  गत आवको मङ्सिर र पुस महिनामा ८० प्रतिशत रकम आएको २० प्रतिशत आउन बाँकी रहेको छ।  पछिल्लो छ महिना यता स्वास्थ्य बिमाको रकम नआउँदा अस्पताल समस्यामा परेको मसु बस्यालको भनाइ छ।  

गत वर्ष तीन करोड ५५ लाख रकम सरकारबाट आएको र चार करोड ३४ लाख आउन नसकेको उहाँले जानकारी दिनुभयो।  

गत वर्षदेखि अत्याधुनिक डिजिटल एक्स-रे मेसिनबाट गुणस्तरीय सेवा दिँदै आएको अस्पतालमा जटिल मानिने मुटुको एक्स-रे समेत हुँदै आएको नसर्ने रोगको उपचार तथा व्यवस्थापनका लागि छुट्टै ओपिडी क्लिनिक सेवा सुरु गरेको जनस्वास्थ्य निरीक्षक बोम अर्यालले बताउनुभयो।