• ११ असोज २०८१, शुक्रबार

सस्तो दसैँबजार लगाउने तयारी

blog

बर्दीबास समाचारदाता

बर्दीबास, असोज ४ गते । नेपालीहरूको महान् चाड दसैँ नजिकिने क्रमसँगै बर्दीबासमा पहिलो पटक सस्तो दसैँबजार लगाउने तयारी गरिएको छ । बर्दीबास उद्योग वाणिज्य सङ्घले बिहीबार पत्रकार सम्मेलन गरी असोज १६ देखि २५ गतेसम्म दसैँलक्षित सस्तो बजार लगाउने तयारीमा जुटेको जनाएको छ । 

पहिलो पटक आयोजना गर्न लागिएको सस्तो दसैँबजारले सुस्ताएको व्यापार व्यवसायलाई चलायमान बनाउनुका साथै उपभोक्ता र व्यापारीबिचको सम्बन्ध सुमधुर र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ । यसको व्यवस्थापनका लागि सङ्घका अध्यक्ष विष्णुबहादुर खड्काको संयोजकत्वमा पाँच सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ । यसका साथै सन्तोष श्रेष्ठ, शैलेश दहाल र दीपक कार्कीको संयोजकत्वमा क्रमशः आर्थिक, बजार अनुगमन र स्वास्थ्य उपसमिति गठन गरिएको छ । उषा ढकाललाई प्रचारप्रसार समितिको जिम्मा दिइएको छ । 

पत्रकार सम्मेलनमा सस्तो बजारको औचित्य, व्यवस्थापन र सेवा प्रवाहबारे अनेकन प्रश्न उठाइएका थिए । अध्यक्ष एवं संयोजक खड्काले दसैँबजारमा पाँच देखि २० प्रतिशतसम्म सस्तोमा सामान उपलब्ध गराउने व्यवस्था मिलाइएको बताउनुभयो । यसका लागि औरही रोडनजिकको बजारमा ६० देखि ६५ वटा व्यापारिक स्टल राख्ने तयारी गरिएको छ । ती स्टलमा मुख्यतः दसैँका लागि आवश्यक खाद्यान्न, लत्ताकपडालगायत उपभोग्य सामग्रीको कारोबार गरिने उहाँले बताउनुभयो । खड्काले भन्नुभयो, “उपभोक्ताले दसैँबजारको अनुभूति गर्न पाऊन् भनी होलसेल दरमै सामान उपलब्ध गराउने तयारी गरेका छौँ । सस्तोका नाममा कोही पनि नठगिऊन् भनी दसैँबजार मापदण्ड बनाउने तयारीमा जुटेका छौँ ।” 

होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमले बर्दीबासका लागि सस्तो दसैँबजार पहिलो र नौलो अभ्यास भएकाले बजारप्रति सकारात्मक सन्देश प्रवाह गर्न उपभोक्ताको हितलाई ध्यानमा राखी व्यवस्थापन मिलाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष गोपाल कार्कीले सस्तो दसैँबजारका नाममा अवाञ्छित कार्य नहोस् भनी मूल्यमा एकरूपता कायम गर्ने प्रयास गरिएको जानकारी दिनुभयो । उहाँले सस्तोका नाममा पुराना, म्याद गुज्रेका र कम तौलका सामान बिक्री गर्ने, ग्राहकलाई ठग्ने जस्ता गतिविधिमाथि कडाइ र निगरानी गर्न अनुगनमन समितिसमेत गठन गरिएको बताउनुभयो । 

सस्तो बजारमा स्थानीय व्यापारीलाई प्राथमिकता र बाहिरका ग्राहकलाई निषेध गरिएको छ । प्रतिस्टल एक हजार भाडा तोकिएको छ । बर्दीबास चौपाया व्यापारको ट्रान्जिट प्वाइन्ट पनि भएकाले दसैँबजारमा खसीबोका बिक्रीवितरणको व्यवस्थापन गर्न पनि सुझाव दिइको छ । बर्दीबासको रुट प्रयोग गरी महोत्तरी, सर्लाही र धनुषाका चौपाया बजारबाट काठमाडौँलगायतका पहाडी जिल्लासम्म लगिने गरेको छ । बर्दीबासको बाटोले सिन्धुली भिमानका खसीबोकालाई तराईको बजारसम्म पहुँच दिएको छ । अर्कोतर्फ होटलहरूको केन्द्र भएको बर्दीबास मासुको सर्वाधिक खपत हुने बजार पनि हो । फेरि पनि अहिलेसम्म चौपाया बजार नभएकाले सस्तो दसैँबजारमा खसीबोकाको बजार लगाउन आयोजकलाई सुझाव दिइएको छ ।