• ११ असोज २०८१, शुक्रबार

दादनी (कविता)

blog

गरिबलाई रुवाउने रैछ दादनी 

जिन्दगीभर घुमाउने रैछ फनफनी 

गयो घरबारी, भयो उठिबास 


ल्याप्चे थिच्यो दायाँबायाँ, पढ्न आउँदैन 

थाहा पाउँदा खङ्ग्रङ्ङ भो, भन्न पाउँदैन 

फर्जी रैछ तमसुक त गल्यो नौनारी 

गरिबलाई रुवाउने रैछ दादनी 

जिन्दगीभर घुमाउने रैछ फनफनी 

गयो घरबारी, भयो उठिबास 


ब्याजको मिटर यति चढ्यो, आकाश छोयो है 

धर्ती फाट्यो, आकाश खस्यो, भुइँचाल गयो है 

फतक्क भो जिउज्यान, गल्यो नौनारी 

गरिबलाई रुवाउने रैछ दादनी 

जिन्दगीभर घुमाउने रैछ फनफनी 

गयो घरबार, भयो उठिबास 


झेली साहु, झेली विचार, झेली चलन

कहिलेसम्म सहने हो ? हुन्न सहन 

आँट गरौँ आजैदेखि, जगाऊँ नौनारी 

गरिबलाई रुवाउने रैछ दादनी 

जिन्दगीभर घुमाउने रैछ फनफनी 

गयो घरबार, भयो उठिबास