• ११ असोज २०८१, शुक्रबार

प्रदेश सरकारसँग छैनन् ‘हेभी इक्विपमेन्ट’

blog

फाइल तस्बिर

बुलबुले समाचारदाता

सुर्खेत, असोज ५ गते । कर्णालीका अधिकांश सडक सुरक्षित छैनन् । भूगोल, विभिन्न समयमा आउने प्राकृतिक विपत् र निर्माण कम्पनीकै लापर्बाहीका कारण धेरै सडक असुरक्षित बन्दै गएका छन् । वर्षायाम सुरु हुनेबित्तिकै ससाना सडकदेखि राजमार्गका सडक पनि लामो समयसम्म अवरुद्ध हुने गरेका छन् । 

अवरुद्ध भएका सडक दुरीका हिसाबले निकै टाढा र निजी निर्माण कम्पनीले मर्मत गर्ने हुँदा धेरै समय लाग्ने गरेको छ । सो कामका लागि आवश्यक पर्ने ‘हेभी इक्विपमेन्ट’ कर्णाली प्रदेश सरकारसँग भने हालसम्म उपलब्ध हुन सकेका छैनन् । सरकारले ती यन्त्र उपकरण खरिद गर्ने योजनामा नराखेको भने होइन । चार वटा सरकार फेरिँदा प्रदेश सरकारको प्रत्येक वर्षको नीति तथा कार्यक्रममा यो समेटिने गरे पनि बजेट विनियोजन नहुँदा उपकरण खरिद हुन सकेको छैन । 

अहिले सडकको आकस्मिक तथा नियमित मर्मतका लागि भाडामा खरिद गरेर ‘हेभी इक्विपमेन्ट’ ल्याउने गरिएको छ । यसले गर्दा सरकारको ठुलो बजेट खर्च भइरहेको छ भने अर्कातिर काममा निकै ढिलासुस्ती हुने गरेको छ । ‘हेभी इक्विपमेन्ट’ खरिदका लागि पटक पटक बजेट माग गर्ने गरिएको प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ । 

प्रदेश सरकारसँग आफ्नै ‘हेभी इक्विपमेन्ट’ नहुँदा तत्काल गर्नुपर्ने सडक मर्मतका काममा समस्या हुने गरेको मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले बताउनुभयो । प्रत्येक वर्ष सामग्री खरिदका लागि मन्त्रालयले बजेट माग गरे पनि अहिलेसम्म बजेट उपलब्ध हुन नसकेको सुवेदीको भनाइ छ । सडकको आकस्मिक तथा नियमित मर्मतका लागि निजी कम्पनीसँग भाडामा उपकरण ल्याएर काम चलाउने गरिएको सुवेदीले जानकारी दिनुभयो । यसो गर्दा बर्सेनि सरकारको ठुलो रकम खर्च भइरहेको छ । सरकारसँग सामग्री नहुँदा समयमै सडक मर्मत नहुने, महँगोमा खरिद गर्नुपर्ने, कहिलेकाहीँ मर्मतका उपकरण नपाइने गरेको सुवेदीको भनाइ छ । 

कर्णाली प्रदेश सरकारले सुरुका वर्षदेखि नै सडकको तत्काल मर्मतका लागि उपकरण खरिद गर्ने कुरा उल्लेख गर्दै आएको छ । प्रत्येक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिने तर बजेटमा भने नसमेटिने योजनाका रूपमा उपकरण खरिदलाई लिन सकिन्छ । चालु आवको नीति तथा कार्यक्रममा समेत उक्त कुरा उल्लेख गरिएको छ । सडकको आकस्मिक तथा नियमित मर्मतसम्भार गर्न आवश्यक एक्साभेटर, रोलर, टिप्परलगायतका ‘हेभी इक्विपमेन्ट’ खरिद गर्ने जनाइएको छ । सरकारले यो वर्ष पूर्वाधार एम्बुलेन्सको अवधारणासमेत ल्याएको छ तर बजेट भने विनियोजन गरेको छैन । सरकारले अघिल्ला वर्षहरूमा समेत उक्त उपकरण खरिद गर्नका लागि एक रुपियाँसमेत छुट्याएको छैन ।

यता सामान्य वर्षाका कारण कर्णालीका मुख्य सडक तथा राजमार्गहरू पहिरोले अवरुद्ध हुने गरेका छन् । अझ वर्षायाममा सडक अवरुद्ध हुँदा यातायातका साधन आवतजावतमा समस्या हुने गरेको छ । विशेष गरी माथिल्लो कर्णालीका बासिन्दालाई थप सास्ती हुने गरेको छ । राजमार्गका सडक सङ्घीय सरकारले हेर्ने गरेको छ । सडक डिभिजन कार्यालय सुर्खेत र जुम्लाले तत्काल र नियमित मर्मतको काम गर्ने गरेका छन् । धेरै जसो कर्णाली राजमार्ग, कर्णाली कोरिडोर र भेरी कोरिडोर बढी प्रभावित हुने गरेका छन् ।