• ११ असोज २०८१, शुक्रबार

दिइयो गुञ्जन सम्मान

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ५ गते । गुञ्जन नारी साहित्य संस्थाले साहित्यका क्षेत्रका विशिष्ट योगदान पुर्‍याउने स्रष्टालाई सम्मान गरेको छ । संस्थाद्वारा बिहीबार राजधानीमा आयोजित २६ औँ वार्षिकोत्सवमा सो पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।

सो अवसरमा राजेन्द्र विमललाई ‘गुञ्जन त्रिवेणी आख्यान सम्मान’, उमा सुवेदीलाई ‘गुञ्जन नारी साहित्य नारी प्रतिभा सम्मान’, राधेश्याम लेकालीलाई ‘गुञ्जन साहित्य सम्मान’ अर्पणा प्रधानलाई गुञ्जन मातृभाषा सम्मान’, श्रीयङ्का बस्नेतलाई ‘गुञ्जन लक्ष्मीराज भण्डारी बाल पुरस्कार’, हिरण्यकुमारी पाठकलाई ‘गुञ्जन ज्येष्ठ नागरिक सम्मान’ र शिला पन्तलाई ‘गुञ्जन उन्नति गीतकार सम्मान’ प्रदान गरिएको थियो । 

सो अवसरमा मचान कन्ट्री भिल्ला चितवनका प्रकाश श्रेष्ठ र किरण श्रेष्ठलाई तथा भीम विराग सङ्गीतका अध्यक्ष केशवलाल श्रेष्ठलाई गुञ्जन सम्मान प्रदान गरिएको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले सो सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको हो ।