• ११ असोज २०८१, शुक्रबार

‘दी स्कुल वाल’ उत्कृष्ट

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ५ गते । रसियाको किनो चलचित्र महोत्सवमा नेपालको छोटो चलचित्र ‘दी स्कुल वाल’ ले पहिलो पुरस्कार प्राप्त गरेको छ । 

‘लाइट अफ दी वल्र्ड’ नारासाथ आयोजित रसियाको किनो फेस्टिभलमा सहभागी विभिन्न १२१ देशका तीन हजार ४९१ चलचित्रमध्येबाट ‘दी स्कुल वाल’ ले पहिलो स्थान हासिल गरेको हो ।

रसियाको रिबिन्स्क सिटीमा सेप्टेम्बर १२ देखि १६ सम्म चलचित्र महोत्सव आयोजना गरिएको थियो । प्रतियोगितामा भारत दोस्रो र अमेरिकाको चलचित्रले तेस्रो स्थान प्राप्त गरेका छन् । बालमनोविज्ञानमा आधारित लघुचलचित्रमा श्लोक साहको मुख्य भूमिका छ । चलचित्रमा सुवासप्रसाद गजुरेल, सरोज लामिछाने, चन्द्रप्रसाद पाण्डेलगायत कलाकारको अभिनय रहेको छ । 

‘दी स्कुल वाल’ मा पर्खालका रूपमा गरिबी, परिस्थिति र जिम्मेवारीलाई प्रस्तुत गरिएको छ । लघुचलचित्रमा विद्यालयनजिकै जुत्ता पालिस गर्ने तराई मूलका बालकको सङ्घर्षको कथालाई प्रस्तुत गरिएकोे छ । काठमाडौँमा छायाङ्कन गरिएको लघुचलचित्रको दृश्य नारायण जिसीले खिच्नुभएको हो । लघुचलचित्रको सम्पादन अनिलकुमार महर्जन र लेखन तथा निर्देशन मोहन अभिलाषीले गर्नुभएको छ ।