• ११ असोज २०८१, शुक्रबार

एक हजार २५३ कर्मचारीको सरुवा

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असोज ५ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस वर्षको कर्मचारी सरुवा टुङ्ग्याएको छ ।

भदौमा मात्र कर्मचारी सरुवा गर्ने नीति अनुसार आर्थिक वर्ष २०८१/८२ मा सरुवा गर्नुपर्ने कर्मचारीको सरुवा टुङ्ग्याएको हो । मन्त्रालयले भदौको तेस्रो सातासम्म कर्मचारी सरुवाको गृहकार्य गरी भदौ २५ देखि ३१ गतेसम्म गरी एक हजार २५३ जना कर्मचारी सरुवा गरेको हो । 

मन्त्रालयले यसबिचमा नासु र खरिदार गरी ६४६, शाखा अधिकृत ५३७ र ७० उपसचिव गरी एक हजार २५३ जना कर्मचारी सङ्घ, प्रदेश र स्थानीय तहमा सरुवा गरेको मन्त्रालयले जनाएको छ ।  

मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले अब असोजदेखि अत्यावश्यकबाहेक कर्मचारी सरुवा नगर्ने नीति अनुसार एक सातामा अन्तरतह, अन्तरमन्त्रालय र मन्त्रालय अन्तर्गतका निकायमा कर्मचारी सरुवा गरेको बताउनुभयो । 

सहसचिवको सरुवा भने सम्बन्धित मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद्ले गर्ने व्यवस्था छ । त्यस्तै सचिवको सरुवा सिधै मन्त्रीपरिषद्ले गर्ने गर्छ । 

निजामती सेवा ऐनामा निजामती कर्मचारीको सरुवा कम्तीमा दुई वर्षका लागि गर्नुपर्ने व्यवस्था छ । अहिले मन्त्रालयले गरेको सरुवा कर्मचारीको नियमित सरुवा भएको मन्त्रालयले जनाएको छ ।