• ११ असोज २०८१, शुक्रबार

स्याङ्जामा स्वास्थ्य बीमा प्रभावकारी

blog

गण्डकी अस्पतालको लाइनमा बिरामी । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, असोज ४ गते । पाचँ वर्ष पहिला स्याङ्जामा सुरु भएको स्वास्थ्य बीमा प्रभावकारी बन्दै गएको छ । २०७६ जेठ १ गतेबाट यहाँ स्वास्थ्य बीमा सुरुवात गरिएको थियो भने थोरैबाट थालिएको बीमा आर्थिक वर्ष २०८०-८१ मा ५९.५९ प्रतिशत पुगेको हो । 

यहाँको २०७८ सालको जनगणना अनुसार २,५३,०२४ जनसंख्या रहेकोमा एक लाख ५० हजार ७७८ जनाले स्वास्थ्य बीमा गरेको जिल्ला संयोजक ध्रुब हमालले जानकारी दिनुभयो । जिल्लामा सबैभन्दा धेरै वालिङ नगरपालिकाले ३१ हजार ५४१ नागरिकले बीमा गरेका छन् ।

त्यस्तै, नगरपालिका मध्ये गल्याङमा २६ हजार ९६, पुतलीबजारमा १९ हजार ८६३, चापाकोटमा १३ हजार ८३९, भीरकोटमा नौ हजार १६४ जनाले गरेका छन् । यस्तै गाउँपालिकामा धेरै कालीगण्डकीमा २२ हजार ३६६ जनाले स्वास्थ्य बीमा गरेका छन् भने फेदीखोलामा छ हजार ७३३, विरुवामा पाचँ हजार ६३७, आँधीखोलामा पाँच हजार ५६४, हरिनाशमा पाँच हजार १३२ र अर्जुन चौपारीमा चार हजार ८४३ जनाले गरेका छन् ।  

यहाँको कालिगण्डकीमा सबै नागरिकको निःशुल्क बीमा पालिकाले गरेको हो भने यहाँ २०७८ को जनगणनाभन्दा चार ४११ जना धेरैको गरिएको हो । बीमा गर्नेमा साधारण एक लाख २३ हजार ९०७, ज्येष्ठ नागरिक २१ हजार ९०, अपाङ्ग दुई हजार ६१५, स्वयंसेवीका दुई हजार २०४, एचआईभी÷एडस पोजेटिभ ५६७, अति गरिब ३९५ जना छन् । 

बीमा गर्नेको सङ्ख्या हरेक वर्ष बढ्दै गएको बताउँदै हमालले जनसङ्ख्या वृद्धि, नगरेकाले गरेको र पालिकाको चासोले बढेको बताउनुभयो । निःशुल्क र थोरै पैसाले गरेको स्वास्थ्य बीमाले धेरै रुपियाँको उपचार हुने भए पनि एक अस्पतालबाट अर्को अस्पतालमा पटकपटक रिफर लिनुपर्ने बाध्यता छ । यस्तै, रिफर भएर ठुलो अस्पतालमा पुग्दा लाइनमा बस्नुपर्ने, समय लाग्ने र डाक्टरले तोकेको निःशुल्क पाइने औषधी अस्पतालमा नहुँदा बीमा गरेका नागरिकले किन्नुपर्ने बाध्यता रहेको गुनासो छ । 

अर्जुनचौपारीकी ८० वर्षीया वृद्धा नन्दकली शर्माले बिमाको कार्ड लियर पश्चिमाञ्चल क्षेत्रीय अस्प्ताल पुगेको बताउँदै निजी अस्पतालमा एक दिनमा सकिने उपचार बिमाको लागि दुई दिन कुर्नुपरेको र आर्थिक भार व्यहोर्नुपरेको गुनासो गर्नुभयो ।