• ८ असार २०८२, आइतबार

गाउँको माटोमा भविष्य खोज्दै कुमार पुर्जा

blog

गोलभेडा खेतीमा काम गर्नुहुँदै कुमार पुर्जा । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य      
म्याग्दी, असार ८ गते ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चे काफलडाँडाका कुमार पुर्जा रोजगारी खोज्दै दुई पटक इराक पुग्नुभयो । एउटा काम गर्ने भनेर जानुभएका पुर्जालाई अर्को काम थमाएपछि तीन दिनमै स्वदेश फर्किनुपर्‍यो ।

तीन दिनमै फर्किनुपरेका पुर्जाको इराक पुगेर पैसा कमाउने सपना चकनाचुर भयो । दुई पटक इराक पुग्नुभएका कुमारलाई इराक फापेन । यसभन्दा अघि पनि इजरायल जाने आशामा दलाललाई बुझाएको पैसा ढुब्यो । अहिले भने पुर्जा गाउँ फर्किएर माटोमा संघर्ष गर्दै हुनुहुन्छ ।  

पुर्जा २७ वर्षको हुँदा उहाँको परिवार तराईको नवलपरासी झरेको थियो । वैदेशिक रोजगारीमा उहाँ असफल भएपछि पुर्जाले जिविकोपार्जनका लागि निर्माण क्षेत्रलाई रोज्नुभयो । तराईका साथै काठमाडौँसम्म पुगेर उहाँले निर्माणका क्षेत्रमा काम गर्नुभयो । निजी घर र विद्यालय लगायतका भवन निर्माणमा पुर्जाले काम थाल्नुभयो ।  

निर्माण क्षेत्रमा पनि सोचेजस्तो सफलता प्राप्त नभएपछि पुर्जा कृषि क्षेत्रमा भविष्य खोज्न थाल्नुभयो । नवलपरासीमा गोलभेडा खेती गर्नुभएका पुर्जा चारवर्ष अघि जन्मथलो राम्चे फर्किएर व्यवसायिक रुपमा कृषि खेती थाल्नुभएको छ । आधुनिक प्रविधिको प्रयोग, मिहिनेत र लगनशीलताबाट कृषि क्षेत्रमा सफल हुनसकिने उहाँ बताउनुहुन्छ । आफ्नै माटोमा पसिना बगाउदा गर्वका अनुभूति हुने उहाँले सुनाउनुभयो ।

जीवनमा धेरै दुःख, कष्ट र हण्डर खानुपर्‍यो पुर्जाले भन्नुभयो, ‘‘बाउबाजेले पसिना बगाएको माटोमा भविष्य देखेर तराईबाट पुनः जन्मथलो फर्किएर कृषि पेशाबाट समृद्धिको सपना बुनेको छु ।’’ पुर्खाले श्रम गरेको माटो कृषि उत्पादनको आधार मात्र होइन आत्मनिर्भर भविष्य हुनसक्छ भनेर आफू तराईदेखि गाउँ फर्किएको उहाँले बताउनुभयो । पुर्जाको अरु परिवार अहिले पनि नवलपरासीमै छन् ।

‘‘मलाई तराई बस्न मन लागेन । श्रीमती, छोराबुहारी लगायत परिवार उतै छन् । मैले भने जन्मथलोलाई विर्सिन सकिन, फर्किएर आएँ,’’ उहाँले भन्नुभयो ।   

पुर्जाले अहिले करिब पाँच रोपनी जमिनमा तीनवटा प्लाष्टिक टनेल बनाएर गोलभेडा खेती सुरु गर्नुभएको छ । स्थानीय प्रविधि र सीपको प्रयोग गरेर उहाँले टनेल बनाउनुभएको छ । स्थानीय जङ्गलमा पाइने काठको प्रयोग गरेर पुर्जाले हाइटेक प्रविधिको तीनवटा टनेल निर्माण गर्नुभएको छ । सिँचाइका लागि पनि उहाँले आधुनिक प्रविधि थोपा सिँचाइ प्रयोग गर्नुभएको छ । उहाँले रासायनिक विषादीको प्रयोग नगरी जैविक विषादीको प्रयोग गर्नुभएको छ । गोलभेडामा कुनै रोग तथा किराको प्रकोप देखिए पशुचौपायाको गहुत, तितेपाती लगायतबाट जैविक विषादी तयार पारेर प्रयोग गर्नुहुन्छ ।

अर्गानिक उत्पादन गर्ने मेरो उद्देश्य हो पुर्जाले भन्नुभयो, ‘‘गोलभेडा खेतीमा रासायनिक विषादी प्रयोग गरेको छैन । घरेलु विधिबाट रोगकिराको प्रकोपलाई नियन्त्रण गर्ने गरेको छु । अर्गानिक गोलभेडा उत्पादन गर्ने मेरो लक्ष्य हो ।’’ चैत महिनामा लगाएको गोलभेडा फल्न थालेको छ । तीन वटा टनेलमा पुर्जाले करिब एक हजार पाँचसय गोलभेडाका बिरुवा लगाउनुभएको छ । राम्रो भयो भने प्रतिबिरुवा पाँच केजीदेखि १० केजीसम्म फल्ने उहाँ बताउनुहुन्छ । अहिले लगाएको गोलभेडाले असोज÷कात्तिक महिनासम्म उत्पादन दिने पुर्जाले बताउनुभयो ।

उहाँले करिब ६ लाख रुपियाँ खर्चिएर उहाँले प्लाष्टिक टनेल निर्माण गर्नुभएको छ ।  साउन/भदौं महिनामा गोलभेडा बजार लैजानका लागि तयार हुने उहाँले बताउनुभयो । अघिल्लो सिजनको भन्दा यसपाली गोलभेडा उत्पादन राम्रो हुने देखिएकाले करिब पाँचदेखि ६ लाख रुपियाँसम्म आम्दानी हुने उहाँले आशा व्यक्त गर्नुभयो । परिश्रम गर्नसकेमा गोलभेडा खेतीबाट राम्रो आम्दानी लिन सकिने उहाँले सुनाउनुभयो ।

बर्खायाममा सडक अवरुद्ध हुने भएकाले उत्पादन भएको कृषि उपजलाई बजारसम्म पुर्‍याउन कठिन भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘बर्खायाममा उत्पादन भएको गोलभेडा बोकेर बजार लैजानुपर्दा ढुवानी खर्च महंगो परेको छ । स्थानीय तहले बर्खायाममा पनि सडक सुचारु हुने वातावरण बनाइदिए हामी जस्ता किसानलाई सहज हुने थियो ।’’