• ११ असोज २०८१, शुक्रबार

कठरिया थारु समुदायको पितृपाख सुरु

blog

पितृपाखमा परम्परानुसार पितृ पूजा गरिँदै ।

अविनाश चौधरी

धनगढी, असोज ४ गते । कठरिया थारु समुदायको पितृपाख सुरु भएको छ । दिवङ्गत भएका पुर्खाहरुको सम्झनामा १५ दिनसम्म मनाइने कठरिया थारु समुदायको पितृपाख बिहीबारबाट सुरु भएको हो । 

पितृको शान्ति र सम्झना लागि पितृपाख मनाउने गरिएको कठरिया थारु समुदायका अगुवा सुवेश कठरियाले जानकारी दिनुभयो । पितृपाखको पहिलो दिन घर लिपपोत, सरसफाइ गरेर चिटिक्क बनाउने चलन छ । घर सफा बनाइसकेपछि पितृभोगका लागि सन्ध्याकालीन समयमा माछा लगायत विभिन्न व्यवञ्जन तयार पार्ने र भोग लगाउने गरिएको छ । 

पितृपाखमा माटोको देउतामा दियो बालेर नुहाउनका लागि देवतालाई गङ्गासागर पठाउने चलन रहेको छ । त्यस क्रममा १५ दिनपछि दसैँसंगै खुशी, सुख, शान्ति लिएर आउनु भनी बिन्ती चढाउने गरिन्छ । देवतालाई सात समुद्रपारि गङ्गासागर नुहाउन पठाउँदा परिवारका लागि सुख, शान्ति ल्याउने र पितृलाई पनि शान्ति मिल्ने मान्यता रहि आएको छ । पितृपाख दिवङ्गत भएका आफ्ना पुर्खाहरुको सम्झनामा गरिने महत्वपूर्ण पितृपूजा रहेको कठरियाको भनाइ छ ।