• ११ असोज २०८१, शुक्रबार

बाँदर आतङ्क रोक्न समिति गठन

blog

तनहुँ समाचारदाता 

तनहुँ, असोज ४ गते । देवघाट गाउँपालिकाले बाँदर व्यवस्थापन तथा अध्ययन समिति गठन गरेको छ । देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले बाँदर आतङ्क बढ्दै गएकाले समिति गठन गरिएको बताउनुभयो । 

अन्नबाली, फलफूल नष्ट गर्ने मात्रै नभई मानिसमाथि नै आक्रमण गरी घाइते बनाएर आतङ्क मच्चाएकाले समिति नै गठन गरिएको गाउँपालिकाले जनाएको छ । देवघाट गाउँपालिका–५ का वडाध्यक्ष पूर्णबहादुर कुँवरको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको प्रमुख प्रशासकीय अधिकृत आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार समितिको सदस्य सडक डिभिजन कार्यालय देवघाटका प्रतिनिधि कृष्णप्रसाद भट्टराई, देवघाट क्षेत्र विकास समितिका दिनानाथ न्यौपाने हुनुहुन्छ । 

देवघाट गाउँपालिकाको खास गरी वडा नम्बर ५ का बासिन्दाबाट बाँदरद्वारा पीडित भएको भन्ने गुनासो आएपछि कार्यपालिकाको बैठकले बाँदर व्यवस्थापन तथा अध्ययन समिति गठन गरी ३० दिनभित्र प्रतिवेदन तयार पारी सुझावसहितको प्रतिवेदन पेस गर्न भनिएको छ । समितिलाई अध्ययन अनुसार सम्बन्धित सरोकारवाला र विषयविज्ञलाई बैठकमा आमन्त्रण गर्न सक्ने अधिकारसमेत प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । स्थानीय बासिन्दाका साथसाथै देवघाटधाममा दर्शन गर्न आउने भक्तजनको सामान खोस्न जाने, रोक्न खोजे आक्रमण गर्न खोज्ने जस्ता समस्या भएकाले समाधान गर्न पालिकाका तर्फबाट सर्वपक्षीय समिति गठन गरिएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताउनुभयो । अध्यक्ष थापाले भन्नुभयो, “बाँदरले धेरै सन्तान जन्माउने र मार्नका लागि कानुनले नदिएकाले बाँदर सङ्ख्या अत्यधिक हुँदा समस्या परेको छ ।”