• ११ असोज २०८१, शुक्रबार

‘समृद्धि र स्थायित्वका लागि राजनीतिक एकता’

blog

संविधान दिवस मूल समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री चेतनारायण आचार्य ।

घोराही समाचारदाता

घोराही, असोज ४ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकको बढ्दो आकाङ्क्षालाई सम्बोधन गर्न राजनीतिक दलबिच दरिलो एकता, समन्वय र सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ । 

संविधान तथा राष्ट्रिय दिवस–२०८१ का अवसरमा बिहीबार प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा आयोजना गरिएको मूल समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले ‘समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश’ को नारालाई सार्थक बनाउन सबै सरोकारवाला निकाय जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो । योजना निर्माण र कार्यान्वयनको तहमा अन्य प्रदेशको तुलनामा लुम्बिनी प्रदेश अग्रणी स्थानमा रहेको बताउँदै मुख्यमन्त्री आचार्यले भन्नुभयो, “प्रदेशको समृद्धि र स्थायित्वका लागि राजनीतिक दलका बिचमा एकता, समन्वय र सहकार्य अपरिहार्य छ । समृद्ध प्रदेश, सुखी जनताको नारालाई सार्थक बनाउन भूमिका खेल्ने छ ।” 

दीर्घकालीन लक्ष्य निर्धारण गरेर प्रदेश सरकारले योजनाबद्ध विकासलाई प्राथमिकतामा राखेर कार्यान्वयन गरिरहेको भन्दै मुख्यमन्त्री आचार्यले नयाँ स्थानमा प्रदेश राजधानीको व्यवस्थापन, प्रदेश गौरवका आयोजनाको सम्पन्नता तथा न्यून जनशक्तिको व्यवस्थापनका लागि आवश्यक कानुन तर्जुमा तथा परिमार्जन गर्ने गरी सरकार अघि बढेको बताउनुभयो । 

प्रदेशलाई सुशासन, प्रविधिमैत्री बनाई नागरिकलाई पुर्‍याउने सेवा थप प्रभावकारी बनाउने गरी काम भइरहेको भन्दै मुख्यमन्त्री आचार्यले भन्नुभयो, “प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउन र नागरिकका गुनासालाई समयमै सम्बोधन गर्ने र सार्वजनिक पद धारण गरेका व्यक्तिले पालना गर्नुपर्ने आचारसंहिता तथा आयोजनाको लागत कम गर्ने गरी संयन्त्र निर्माण गर्नतर्फ हामी अगाडि बढेका छौँ ।” कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले संविधानमा उल्लेखित अधिकार कार्यान्वयन गर्न तीन तहका सरकारबिच आवश्यक समन्वय, सहकार्य र सहअस्तित्वको मर्मलाई आत्मसात् गरेर अघि बढ्न जरुरी रहेको बताउनुभयो । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का नेता जोखबहादुर महराले समतामूलक समाज निर्माण गर्न, समृद्धि हासिल गर्ने आकाङ्क्षा बोकेको संविधानको पूर्ण कार्यान्वयनमा सबै एक ठाउँमा उभिनुपर्ने बताउनुभयो । 

नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले संविधानको मूल मर्म सङ्घीयता र एकता भएको बताउनुभयो । सहरी विकास तथा खानेपानीमन्त्री सरोज थापाले प्रदेशले कानुनी आधार निर्माण गरिसकेको भन्दै अब विकास र प्रतिफल नागरिक तहमा पु¥याउन सरकार प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । 

झाँकी र प्रभातफेरीको उत्सव

संविधान दिवसलाई भव्य र रचनात्मक बनाउन विभिन्न समुदायको कला संस्कृति झल्किने झाँकी प्रदर्शनी गरिएको थियो । मगर, थारू, नेवार, ब्राह्मणलगायतका समुदायले झाँकी प्रदर्शन गरेका थिए । लुम्बिनी प्रदेश सरकारले संविधान दिवसका अवसरमा रक्तदान र निःशुल्क स्वास्थ्य परीक्षण शिविर गरेको थियो । प्रदेश स्वास्थ्य मन्त्रालयले राजधानी परिसर क्षेत्रमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य, भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, स्वास्थ्यमन्त्री खेमबहादुर सारूमगरलगायत स्थानीयले स्वास्थ्य परीक्षण गराउनुभएको थियो । संविधान दिवसका अवसरमा प्रदेश मातहतमा रहेका १२ जिल्लाका अस्पतालमा बिहीबार निःशुल्क ल्याब परीक्षण, ओपिडी शुल्क निःशुल्क गरिएको छ ।