• ११ असोज २०८१, शुक्रबार

महालेखाले असुल गर्नु भनेको रकम उठ्नेमा आशङ्का

blog

प्रेमराज सिम्खडा

कालीकोट, असोज ४ गते । जिल्लाको रास्कोट नगरपालिकालाई महालेखा परीक्षकको कार्यालयले ३५ लाखभन्दा बढी रकम असुलउपर गर्नु भनेको छ । महालेखा परीक्षकको कार्यालयले गरेको निर्देशन रास्कोट नगरपालिकाले पालना गरेर ३५ लाख ७२ हजार रकम असुलउपर गर्ला कि नगर्ला भनेर स्थानीयस्तरमा बहस सुरु भएको छ । 

रास्कोट नगरपालिका–१ का वासुदेव न्यौपानेले महालेखाले भने अनुसार रकम असुल हुने कुरामा आशङ्का व्यक्त गर्नुहुन्छ । जति रकम जुन जुन व्यक्तिबाट असुलउपर गर्नुपर्ने भनेको छ, उनीहरू सबै नगरप्रमुखका आफन्त र पार्टी सम्बद्ध व्यक्ति भएकाले रकम असुल हुन्छ कि हुँदैन भन्नेमा आफूहरूलाई आशङ्का लागेको उहाँले बताउनुभयो । 

महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक लेखा परीक्षण प्रतिवेदनमा ३५ लाख ७२ हजार रकम असुलउपर गर्नुपर्ने उल्लेख छ । 

प्रतिवेदनमा प्रमाण नपुगेको भए पनि नियमविपरीत खर्च गरिएको रकम दुई करोड ८४ लाख रुपियाँभन्दा बढी छ । महालेखाले तुरुन्तै असुलउपर गर्नुपर्ने भनेर ३५ लाख ७२ हजार औँल्याएको छ । असुलउपर गर्नुपर्नेमा स्वास्थ्य सेवा कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृतदेखि विभिन्न पालिकामा कार्यरत स्वास्थ्यकर्मी र नगरपालिकामै कार्यरत कर्मचारीको नाम तोकिएको छ । 

स्वास्थ्य सेवा कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत कटकबहादुर महतबाट १३ हजार सात सय रकम असुलउपर गर्नुपर्ने छ । सान्नीत्रिवेणी गाउँपालिकामा कार्यरत स्वास्थ्य संयोजक सिनियर अहेब मीनबहादुर विष्टबाट १२ हजार सात सय रुपियाँ असुल गर्नुपर्ने छ भने तिलागुफा नगरपालिकामा कार्यरत सिनियर अहेव कविराज न्यौपाने, हेमराज बमबाट सम्झौताभन्दा बढी रुपियाँ भुक्तानी भएकोले असुल गर्न भनिएको छ । 

यस्तै नगरप्रमुख धर्मराज शाहीको आदेशमा नगरपालिका प्रवेश गर्ने सवारीसाधनमा लगाएको करबाट असुल भएको देखिन आएको रकम एक लाख ८२ हजार ५५८ रुपियाँ ब्याजसहित असुलउपर गर्न भनिएको छ । उक्त रकमको खोजी गर्न पनि प्रतिवेदनमा सुझाव दिइएको छ । 

त्यस्तै सुर्खेतमा खरिद गरेको जेनेरेटरको ढुवानी नेपालगन्जबाट गरेको भनी भुक्तानी गरिएको रकम ८९ हजार एक सय रुपियाँ पनि महालेखाले सम्बन्धित व्यक्तिबाट असुल गर्न भनेको छ । यस्ता रकम मिलेमोतोमा बाँडेर खाने गरेको पाइएको छ । 

थोल्म खानेपानी आयोजनालाई ९८ हजार १८८ रुपियाँ बढी भुक्तानी भएकाले असुल गर्न भनिएको छ । दुई जना शिक्षकको ग्रेडवृद्धि भनेर दिएको ९४ हजार ५६२ रुपियाँ पनि ती शिक्षकबाट असुल गर्न भनिएको छ । यस्तै नगरको वडा नं. ६ र ९ को कार्यालय भवन निर्माण गर्ने निर्माण व्यवसायीलाई सम्झौताभन्दा बढी दुई लाख ३९ हजार ७६२ रुपियाँ भुक्तानी दिएकाले त्यो रकम असुल गर्न भनिएको छ । विभिन्न विद्यालयमा कार्यरत शिक्षकलाई नियमविपरीत भत्ता दिइएको छ । शिक्षकहरूलाई नियमविपरीत भत्ता दिएको एक लाख ६४ हजार ८५८ रुपियाँ  असुल गर्न भनिएको छ । 

नगरपालिकामा कार्यरत रोजगार शखा प्रमुख र सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुखबाट क्रमशः ६ हजार र १७ हजार चार सय असुल गर्न भनिएको छ । उक्त रकम असुल हुन्छ कि हुँदैन त्यो पनि यकिन छैन । रास्कोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले कर्मचारीबाट असुल गर्नुपर्ने रकम उनीहरूको तलबबाट असुल गर्ने र अन्यलाई तत्काल पत्राचार गरेर असुल गराउने बताउनुभयो । 

उहाँले सैद्धान्तिक बेरुजु हो भने बिल भर्पाई दाखिला गर्ने भए पनि व्यक्ति र फर्मबाट असुलउपर गर्नु भनेर लेखेको रकम असुल गर्नैपर्ने भएकाले पत्राचार गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । 

रास्कोट नगरपालिको बेरुजु रकम अहिलेसम्म १९ करोड ३८ लाख ३६ हजार रहेको छ । नगरपालिकाले नियमविपरीत खर्च गरेको रकम एक आवमा दुई करोड आठ लाख रुपियाँभन्दा बढी छ । जुन रकमलाई महालेखा परीक्षकको प्रतिवेदनमा नियमविपरीत भनेर उल्लेख गरेको छ । 

मेयर हेल्थ कार्यक्रममा एक वर्षमा २० लाख रुपियाँ विनियोजन भएकोमा १७ लाख १८ हजार र उपमेयरले १० लाख खर्च नियमविपरीत गरेको पनि महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएको छ ।