• ११ असोज २०८१, शुक्रबार

कपडा बुनेर आयआर्जन

blog

घोराही समाचारदाता

घोराही, असोज ४ गते । कुनै समय घरमा कामविहीन भएर बस्ने महिला पछिल्लो समय सिप सिकेर आयआर्जनमा जोडिन थालेका छन् । सिप सिकेर आयआर्जनमूलक उद्योगमा जोडिँदा व्यस्त जीवनशैलीसँगै आम्दानी हुन थालेपछि महिला उद्यमशीलतामा जोडिन थालेका हुन् । 

महिलाले दाङको राप्ती गाउँपालिका–१ मा ढाका कपडा उद्योग सञ्चालन गरेका छन् । सिपमूलक तालिम लिएपछि राप्ती महिला श्रमिक सहकारी संस्था स्थापना गरेर महिलाले सामूहिक रूपमा ढाकाको कपडा उद्योग सञ्चालन गर्दै आएको राप्ती महिला श्रमिक सहकारी संस्थाका अध्यक्ष बिसपुरा घर्तीले बताउनुभयो ।

सामूहिक रूपमा महिला उद्योगमा जोडिँदा उद्योग सञ्चालनदेखि उत्पादन गरेका कपडा बजारीकरणमा समेत सहजता भएको अध्यक्ष घर्तीको भनाइ छ । हातमा सिप भएपछि गाउँका अधिकांश महिला रोजगारीमा जोडिएको बताउँदै उहाँले कामले महिलालाई व्यस्त बनाउनुका साथै घरका लागि आम्दानीसमेत भइरहेको बताउनुभयो । 

गएको जेठदेखि सञ्चालनमा आएको उद्योगमा २१ जना महिलाले काम गर्दै आउनुभएको छ । उद्योगमा काम गर्न थालेपछि घरखर्चका लागि आम्दानीसँगै फुर्सदको समयको सदुपयोग भएको राप्ती गाउँपालिका–१ निवासी छमीदेवी पुनमगरले बताउनुभयो । हातमा सिप नहुँदा घरमा फुर्सदमा बस्नु परेको विगत सम्झँदै उहाँले भन्नुभयो, “सिप सिकेपछि गाउँमै उद्योग सञ्चालन गरेर काम गर्ने भएका छौँ । यसले हामीलाई व्यस्त मात्र बनाएको छैन, घरपरिवार चलाउनका लागि आम्दानीसमेत भइरहेको छ ।”

महिलालाई सिपमूलक तालिमसँगै उद्योग प्रवर्धनका लागि सहयोग गरेपछि महिलाले नमुना उद्योग सञ्चालन गरिरहेको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो । पालिकाले तालिम सञ्चालनसँगै उद्योग सञ्चालन गर्न इच्छुक महिलालाई प्रोत्साहनस्वरूप उद्योगका लागि आवश्यक सामग्री ८० प्रतिशत सहयोग गर्ने गरेको उहाँले बताउनुभयो । 

उद्योग सञ्चालनका लागि महिलाले कच्चा पदार्थ बुटवलबाट ल्याउने र महिलाका लागि ढाकाका सल, लुङ्गी, धोती, ब्यागदेखि पुरुषका लागि कोट, पाइन्ट, पेटीलगायतका विभिन्न कपडा तयार गर्ने गरेको समूहकी सदस्य हितपुरा पुनले बताउनुभयो । 

उद्योगमा काम गर्ने महिलाले एक मिटर कपडा बुनेको न्यूनतम १५० देखि छ सय रुपियाँसम्म कमाउने गरेका छन् । यसरी उत्पादन भएको कपडा दाङसँगै बुटवल, पोखरा, काठमाडौँ, नेपालगन्जलगायतका विभिन्न ठाउँमा अर्डर अनुसार जाने गरेको सहकारी संस्थाका अध्यक्ष घर्तीले बताउनुभयो ।