• ११ असोज २०८१, शुक्रबार

भक्तपुरमा वीर अस्पताल बनाउन सहमति

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ४ गते । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन अर्थ मन्त्रालयले सहमति जनाएको छ । बिहीबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलसहित अर्थ मन्त्रालयमा बसेको बैठकमा सो सहमति भएको हो । 

अत्याधुनिक र सुविधासम्पन्न वीर अस्पताल निर्माणको विस्तृत परियोजना प्रस्ताव तयार पार्ने परामर्शदाताका लागि अन्तर्राष्ट्रिय रूपमा प्रस्ताव आह्वान गर्ने सहमति भएको अर्थ मन्त्रालयले जनाएको छ । परामर्शदाताले नेपालको आवश्यकता अनुसार विस्तृत परियोजना प्रस्ताव तयार पारेपछि भक्तपुरको दुवाकोटमा अत्याधुनिक र सुविधासम्पन्न अस्पताल निर्माण अघि बढाउने सहमति भएको अर्थले जनाएको छ । सरकारले २०७३ सालमै भक्तपुरको दुवाकोटमा वीर अस्पताल निर्माण गर्न करिब छ सय रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो तर आठ वर्ष बितिसक्दा पनि निर्माणमा उल्लेख्य प्रगति हुन सकेको छैन । भक्तपुरको वीर अस्पताललाई अन्तर्राष्ट्रियस्तरको बनाउने गरी निर्माण गरिने अर्थमन्त्री पौडेलले जानकारी दिनुभयो ।  

अर्थमन्त्रीसँगको छलफलपश्चात् अस्पताल निर्माण अगाडि बढाउन स्वास्थ्यमन्त्री पौडेलले परामर्शदाता छनोट र अस्पताल निर्माण प्रक्रिया अघि बढाउने बताउनुभयो ।