• ११ असोज २०८१, शुक्रबार

पुरनलाई सातौँ उर्लाबारी रन उपाधि

blog

उर्लाबारी रन उपाधि विजेता खेलाडी । तस्बिर : गोरखापत्र

हरि कोइराला 

उर्लाबारी, असोज ३ गते । भारतको सिक्किमका पुरन राईले सातौँ उर्लाबारी रन-२०८१ को उपाधि जित्नुभएको छ । १० किलोमिटर दूरी  ३१ मिनेट ५४ सेकेन्डमा पार गर्दै राईले ३० हजार रुपियाँसहित पदक र प्रमाणपत्र  प्राप्त गर्नुभयो ।

प्रतियोगितामा बैतडीका नरेन्द्रसिंह राउत ३२ मिनेट ५ सेकेन्डमा दूरी पार गर्दै दोस्रो हुनुभयो । काठमाडौँका नागेश्वर अहिर ३२ मिनेट ३७ सेकेन्डमा निर्धारित दूरी पार गर्दै तेस्रो हुनुभयो ।

दोस्रो  र तेस्रोलाई क्रमशः २० हजार र १० हजार रुपियाँसहित प्रमाणपत्र र  पदक  प्रदान गरियो । यस्तै महिला खुलातर्फको उपाधि नेपाली सेनाकी पूर्णलक्ष्मी न्यौपानेले ४१ मिनेट ५ सेकेन्डमा १० किलोमिटर  दूरी पार गर्दै  ३० हजार रुपियाँ, पदक र प्रमाणपत्र प्राप्त गर्नुभयो ।  

नेपाल प्रहरीकी सुमित्राकुमारी चौधरी  दोस्रो र सुनकला राई तेस्रो हुनुभयो । चौधरीले ४१ मिनेट ३८ सेकेन्ड र राईले ४५ मिनेट ६ सेकेन्डमा निर्धारित दुरी पार गर्नुभयो । भेट्रान्सतर्फ दोलखाका नवराज कार्की प्रथम हुनुभयो । १५ वर्षमुनिको  पुरुष खुलातर्फ एडिड एन्जल खड्काले १४ मिनेट २९ सेकेन्डमा १० किलोमिटर दूरी पार गर्दै प्रथम हुनुभयो । 

त्यस्तै विमल थापा १४ मिनेट ५९ सेकेन्डमा दूरी पार गर्दै दोस्रो र १५ मिनेट १० सेकेन्डमा दूरी पार गर्दै सम्पादन राई तेस्रो हुनुभयो । १५ वर्षमुनिको खुला महिलामा जुहि राई प्रथम, विनीता राई दोस्रो र रश्मि राई  तेस्रो हुनुभयो ।

सबै इभेन्टका विजयीलाई उर्लाबारी नगरपालिकाका प्रमुख गङ्गाप्रसाद खरेल र उपप्रमुख मिना खतिवडाले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उर्लाबारी रनको सातौँ संस्करणमा नेपाल र भारतका ६ सय जनाले प्रतिस्पर्धा गरेका थिए ।