• ११ असोज २०८१, शुक्रबार

राष्ट्रिय शारीरिक सुगठनका उपविजेता कुरेसी नेपालगन्जमा सम्मानित

blog

शारीरिक सुगठनमा उपविजेता बन्नुभएका कुरेसीलाई सम्मान गर्दै पूर्वमन्त्री राई । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असोज ३ गते । काठमाडौँमा हालै सम्पन्न शारीरिक सुगठन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर उपविजेता बन्नुभएका नेपालगन्जका सलिम कुरेसीलाई जनता समाजवादी पार्टी बाँकेले सम्मान गरेको छ ।

पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर उपविजेता बन्नुभएका कुरेसीलाई जनता समाजवादी पार्टीका महासचिव तथा पूर्व मन्त्री मोहम्मद इश्तियाक राईले नगदसहित सम्मान गर्नुभयो । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव एवं पूर्व मन्त्री राईले खेलमार्फत उत्कृष्ट प्रदर्शन गरेर बाँके जिल्ला र नेपालगन्जको नाम चम्काउनुका साथै गरिमा बढाउने कार्य गरेकोमा कुरेसीलाई धन्यवाद दिनुभयो । उहाँले खेलकुदको माध्यमबाट आफ्नो नगर र जिल्लाको मात्र नभई देशकै मान बढाउन सकिने भएकोले युवाले खेललाई व्यावसायिक रूपमा अगाडी बढाउनु पर्ने बताउनुभयो । 

पूर्वमन्त्री राईले स्थानीय सरकारले पनि नेपालगन्ज र बाँकेका विभिन्न खेलमा लागेका युवालाई अगाडी बढाउने विभिन्न योजना र कार्यक्रम ल्याउनुपर्ने सुझाव दिनुभयो । सम्मानित हुनुभएका शारीरिक सुगठनका खेलाडी कुरेसीले यस्ता सम्मान र पुरस्कारले खेलकुदमा लागेर आफ्नो देशका लागि केही गर्ने उत्साह र हौसला बढाउने गरेको प्रतिक्रिया दिनुभयो। 

सो अवसरमा लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य आदेश अग्रवाल, जनता समाजवादी पार्टी बाँकेका अध्यक्ष दुर्गा प्रसाद बर्मा, समाजवादी युवा सङ्घका जिल्ला अध्यक्ष मोहम्मद अहमद राई लगायतको उपस्थिति रहेको थियो । उपस्थित अतिथिहरूले समेत उपविजेता कुरेसीलाई खादा र मालाले सम्मानित गरेका थिए ।

नेपालगन्जमा रहेको माई फिटनेस जिमका सञ्चालक कुरेसी काठमाडौँमा हालै सम्पन्न भएको राष्ट्रिय पाँचौँ खुला मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगितामा ओभर अल ओपन वेटमा उपविजेता हुन सफल हुनु भएको थियो ।

यस्तै उहाँ ७० केजी पुरुष मास्टर्स प्रतिस्पर्धामा तेस्रो बन्न सफल हुनुभएको थियो । सो प्रतियोगितामा देशभरिबाट २०८ जना खेलाडी सहभागी भएका थिए ।