• ११ असोज २०८१, शुक्रबार

रैथाने बालीको संरक्षणमा कृषि ज्ञान केन्द्र

blog

मीना कँडेल

कावासोती, असोज ३ गते । कृषि ज्ञान केन्द्र नवलपुर रैथाने बालीको संरक्षणमा जुटेको छ । जिल्लाका सबै पालिकामा रैथाने बालीको पकेट क्षेत्र स्थापना गरी खाद्य सुरक्षामा थप टेवा पुर्‍याउने उद्देश्यका साथ कृषकलाई बिउ वितरण, यान्त्रिक उपकरणमा सहयोग गर्दै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

कृषि ज्ञान केन्द्र नवलपुरका कृषि अर्थविज्ञ सञ्जय ढकालले बिउ बैङ्कले पछिल्लो समय विकासे प्रजातिभन्दा रैथाने बालीमा किसानको आकर्षण बढेको बताउनुभयो । खाँदा अत्यन्त मिठो र बर्खामा मात्र लगाइने सेतो अनदी र घिउपुरी हिउँदमा पनि उत्पादन हुन थालेपछि स्थानीय किसान पनि उत्साही बनेको उहाँले बताउनुभयो । रैथाने बाली प्रवर्धनका लागि आर्थिक वर्ष २०७९/८० मा १४ लाख रुपियाँ विनियोजन गरी कार्य गरिएको थियो भने आव २०८०/८१ मा १८ लाख विनियोजन गरेको ढकालले बताउनुभयो । 

कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले कृषकलाई त्रिपाल, कुटानीपिसानीको सानो मेसिनसमेत उपलब्ध गराएको बताउनुभयो । सामुदायिक बिउ बैङ्क नेपालसँग समन्वय गरी रैथाने बाली उत्पादन र प्रशोधनमा कृषि ज्ञान केन्द्रले कार्य गर्दै आएको उहाँले बताउनुभयो । स्थानीय दानबहादुर महतोले रैथाने बालीको खेती गर्दा धेरै विषादी प्रयोग गर्न नपर्ने, उत्पादन कम भए पनि मूल्य धेरै पाइने हुनाले अहिले किसान रैथाने प्रजातिका बालीतर्फ आकर्षित हुन थालेको बताउनुभयो ।  

सामुदायिक बिउ बैङ्क नेपालका अध्यक्ष पार्वती भण्डारीले लोप हुँदै जान थालेको अवस्थामा कावासोती–१४, त्रिभुवनटारमा रहेको बिउ बैङ्कमा धानका मात्रै विभिन्न ४५ प्रजाति रहेको बताउनुभयो । सामूहिक प्रयासमा बिउ बैङ्क सञ्चालन गर्दै आएको यस संस्थाले दलहन, तेलहन तथा लहरे बाली, कोदो, फापर, धान, आलस, केराउ, तिललगायत रैथाने बाली संरक्षण तथा बिउ साटासाट कार्य पनि गर्दै आएको छ ।

यता मध्यविन्दु नगरपालिकाभित्र उत्पादित रैथाने जातका धान कनजिरा, मगरअनदी, झिनुवा, कालानमक तथा जैविक उत्पादन जस्तै कोदो, बेसार, कागती, केरा, भुइँकटहर, उखु आदि उत्पादनलाई सहकारीमार्फत उत्पादन प्रवर्धन गर्ने नीति लिइएको छ । नगरप्रमुख भीमलाल अधिकारीले नगरभित्रका बिउबिजन उत्पादन प्रशोधन तथा भण्डारण गर्ने किसान समूह तथा सहकारीलाई विशेष अनुदान तथा बजारीकरणको व्यवस्था गरिएको बताउनुभयो ।