• ११ असोज २०८१, शुक्रबार

पञ्चमुखी गणेशको मूर्ति निर्माण

blog

पोखरा समाचारदाता

पोखरा, असोज ३ गते । पर्यटकीय नगरी पोखराको सराङकोटमा पञ्चमुखी गणेशको मूर्ति निर्माण अन्तिम चरणमा पुगेको छ । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिले निर्माण गर्न लागेको मूर्ति सम्पन्न भएपछि शिव पञ्चमुखी गणेशधामका रूपमा नामकरण गरिने छ ।

मन्दिर निर्माणमा करिब आठ करोड रुपियाँको लगानी छ । सराङकोट पर्यटन तथा धार्मिक विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले दक्षिण भारतका कालिगडले मन्दिर निर्माण गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार ४६ फिटको मूर्ति रहने पञ्चमुखी गणेशको छेउमा कैलाशेश्वर महादेवको शिव मन्दिर रहेको छ भने पोखराकै पुम्दीकोटमा रहेको विशाल शिवको मूर्तिले शिव र गणेश भगवान् कुरा गरिरहे जस्तो अनुभूति लिन सकिने छ । 

क्षेत्र विकास समितिमा रहेको झन्डै एक सय रोपनीभन्दा बढी जग्गामा पञ्चमुखी गणेशको मूर्ति रहेको छ । शिव मन्दिर, भैरव मन्दिर, भीमकाली मन्दिर, भ्यु टावर र चारतले सभा हल निर्माण भइसकेका छन् । पश्चिमदक्षिणमा पन्चासे, फेवाताल र पूर्वमा पोखरा उपत्यकाको सुन्दर बस्ती अवलोकन गर्न उक्त ठाउँ अति उत्तम भएको अध्यक्ष जिसीको भनाइ छ । उहाँले भन्नुभयो, “प्राकृतिक रूपमा आफैँ सिँगारिएको सराङकोट डाँडाबाट पश्चिमउत्तर हुँदै पूर्वसम्म हिमालयको दृश्यले अलौकिक आनन्द प्राप्त हुन्छ ।” 

प्रदेश सरकार, स्थानीय तह, स्थानीय संस्था, व्यावसायिक प्रतिष्ठानको सहयोगमा निर्मित उक्त मूर्ति सम्पन्न भएपछि सराङकोट क्षेत्र सूर्योदयका लागि मात्र नभई धार्मिक पर्यटनको पनि थप गन्तव्य बन्ने उद्योगपति आजाद श्रेष्ठको भनाइ छ । 

मल्लकालीन राजा कुलमण्डन शाहले कुलदेवीका रूपमा मान्दै आउनुभएको भूमिकाली मन्दिरसमेत सोही ठाउँमा रहेकाले यसको ऐतिहासिक महत्व रहेको निर्माण समितिका संयोजक एवं अग्रज व्यवसायी कालु गुरुङ बताउनुहुन्छ ।

उहाँका अनुसार पोखरा आउने आन्तरिक पर्यटक र विशेष गरी दक्षिण भारतका पर्यटकले पञ्चमुखी गणेशधामको दर्शन गरेपछि सिद्धि प्राप्त हुन्छ भन्ने विश्वासका साथ त्यहाँ पुग्छन् ।

सराङकोटमा सडक सञ्जालको सहज पहुँच छ । सराङकोटलाई प्रवर्धन गर्न पोखराको सेदीबाट सराङकोटसम्म पुग्न तीन वर्षअघि सञ्चालनमा आएको अन्नपूर्ण केबुलकारले सहयोग पुग्ने छ । पोखराका पर्यटन व्यवसायी एवं रेस्टुरेन्ट एन्ड बार एसोसिएसन रेवानका अध्यक्ष विश्व पौडेल आन्तरिक तथा बाह्य पर्यटकका लागि यो ठाउँ थप आकर्षणमा रहेको बताउनुहुन्छ । पोखरालाई पर्यटकीय राजधानीका रूपमा घोषणा गरिसकेपछि पोखरामा आउने पर्यटकको बसाइ लम्ब्याउन प्राकृतिक मात्र नभई भौतिक पूर्वाधार विकास गर्दै नयाँ गन्तव्य थपिँदै गए पर्यटकीय राजधानीले सार्थकता पाउने अध्यक्ष पौडेलको भनाइ छ ।