• ८ पुस २०८१, सोमबार

एउटै सडकको माटो सफा गर्न बर्सेनि आठ करोड

blog

पानी बग्ने नाला नहुँदा बर्खाको भलले क्षति गरेको मेलौली–विशालपुर सडकखण्ड । तस्बिर : गोकर्ण दयाल

बैतडी समाचारदाता 

बैतडी, असोज ३ गते । यहाँका चार नगरपालिका र छ वटा गाउँपालिकाले  ग्रामीण सडकको माटो सफा गर्न बर्सेनि आठ करोड रुपियाँभन्दा बढी खर्च गर्दै आइरहेका छन् । गाउँ तथा नगरपालिकाले गएका छ वर्षमा माटो सफाइमा ४८ करोड रुपियाँभन्दा बढी खर्च गरिसकेका छन् । यो रकम पाटन–पञ्चेश्वर दुई लेन कालोपत्रे सडकमा भएको खर्च जतिकै हो । यो वर्ष पनि पालिकाले दसँैंतिहारलक्षित गरी माटो सफा गर्ने तयारी गरिरहेका छन् । 

महालेखाको वार्षिक प्रतिवेदन, २०८१ अनुसार बैतडीका स्थानीय तहले विसं २०८० मा सडक सफाइ र इन्धनमा सात करोड ९० लाख ९९ हजार रुपियाँभन्दा बढी रकम खर्च गरेको पाइएको छ । माटो सफा गरिएका अधिकांश सडक मापदण्ड अनुसार निर्माण भएका छैनन् । यातायात चल्ने रुट स्वीकृतसमेत पाउन सकेका छैनन् । महालेखाको प्रतिवेदनले पुर्चौडी नगरपालिकाका विषयमा टिप्पणी गर्दै भनेको छ, “सडक सफाइ गर्न ३२ हजार ४०१ लिटर इन्धनमा ५७ लाख २० हजार ५८३ रुपियाँ खर्च गरी ७४ हजार ९८७ धनमिटर माटो सफा गर्दा ७६ लाख ३३ हजार ९४३ रुपियाँ खर्च भएको छ । लागतको तुलनामा वास्तविक काम भएको देखिएन । यस्तो खर्च नियन्त्रण गर्नु पर्छ ।”  

दोगडाकेदार गाउँपालिकाले सडक सफाइ स्वयंसेवक नै नियुक्त गरेर वार्षिक ६६ लाख ८० हजार रुपियाँ खर्च गर्दै आएको विषय पनि नियमसङ्गत नभएको महालेखाले जनाएको छ । स्थानीय तहको सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ मा अस्थायी दरबन्दी सिर्जना गरेर करारमा कर्मचारी राख्न नपाइने भए पनि दोगडाकेदार गाउँपालिकाले १४५ जना करारका कर्मचारी भर्ना गरेर वार्षिक दुई करोड ३३ लाख ७९ हजार ६२० रुपियाँ खर्च गर्दै आइरहेको छ । जसमध्ये १६ जना स्विपर र ३९ जना सडक सफाइ स्वयंसेवक भर्ना गरेको महालेखाले जनाएको छ । 

गत वर्ष सडक सफाइ र इन्धनमा डिलासैनी गाउँपालिकाले ६० लाख ८८ हजार रुपियाँ, दशरथचन्द नगरपालिकाले ७५ लाख ९० हजार रुपियाँ, सुर्नया गाउँपालिकाले २४ लाख १४ हजार रुपियाँ, सिगास गाउँपालिकाले ७३ लाख रुपियाँ, गाडी भाडा ११ लाख रुपियाँ, पाटन नगरपालिकाले ३७ लाख ७६ हजार रुपियाँ, शिवनाथले सडक मर्मत र सफाइमा ६७ लाख रुपियाँ, पञ्चेश्वर गाउँपालिकाले सडक सफाइ, इन्धन र उपकरण मर्मत गरेर ५९ लाख रुपियाँ, मेलौली नगरपालिकाले सडक सफाइ र उपकरण मर्मतसमेत गरी ३३ लाख रुपियाँ खर्च गरेका छन् । 

सडक बने, नियमित मोटर चल्दैन

स्थानीय तहले गएका सात वर्षमा वडा वडामा सडक पु¥याउने लक्ष्य राखेर अन्दाधुन्द डोजर प्रयोग गरेर दुई हजार किलोमिटर सडक खनेका छन् । सडक निर्माणमा अर्बौं रुपियाँ खर्च भइसकेको छ । पालिकाले निर्माण गरेका अधिकांश ग्रामीण सडकमा बुकिङबाहेक नियमित यातायात चल्दैनन् । दसैंँतिहारलक्षित गरी ग्रामीण सडकको माटो सफा गरेर बोलेरो जिप चल्न सक्ने बनाई पनि खर्चको अनुपातमा दिगो विकास हुन नसकेको मेलौली नगरपालिकाका अगुुवा किसान चिन्तामणि भट्टले बताउनुभयो । 

बर्सेनि एउटै सडकको माटो सफा गर्न करोडौँ रुपियाँ खर्च गर्नुभन्दा सडकको नाली र पानीको निकासका लागि होमपाइप राखेर दिगो काम गर्न स्थानीय तहले ध्यान नपु¥याएको उहाँले बताउनुभयो । लगानी अनुसार ग्रामीण सडक बाह्रै महिना चल्न नसक्दा किसानको उत्पादन बजारसम्म पुग्न नसकेको किसानको गुनासो छ । 

दुई जिल्लाका सडक कालोपत्रे

पूर्वाधार विकास कार्यालय बैतडीले गत वर्ष ६० करोड रुपियाँ खर्च गरेर पाटन–पञ्चेश्वर ३७ किलोमिटर, सतबाँझ–श्रीभावर १२ किलोमिटर, ढोल्यामोड–हाट छ किलोमिटर, देहिमाण्डौं–गिरेगाडा सात किलोमिटर र दार्चुला–खार आठ किलोमिटर सडक कालोपत्रे गरेको छ । पाटन–पञ्चेश्वर सडक कालोपत्रे भएपछि खच्चड चल्ने तल्लोस्वराड क्षेत्रमा अहिले प्रदेश राजधानीबाट दैनिक बस सेवा सञ्चालन भएको पूर्वाधार विकास कार्यालय बैतडीका इन्जिनियर नरेश भुलले बताउनुभयो । उहाँले भन्नुभयो, “पाटन–पञ्चेश्वर, सतबाँझ–श्रीभावर, ढोल्यामोड–हाट सडकले करिब डेढ लाख मानिसलाई प्रदेश र सङ्घीय राजधानीसँग प्रत्यक्ष जोडेको छ । तरकारीलगायतको कृषि उपज अहिले तराईका जिल्ला जान थालेको छ ।” 

‘स्थानीय तहले सडक बिगारे’ 

सडक डिभिजन कार्यालय पाटन बैतडीका प्राविधिकले स्थानीय तहले मापदण्ड नपु¥याइ जथाभाबी सडक निर्माण गर्दा मुख्य राजमार्गमा समेत बिगारको बताएका छन् । पक्की सडकमा चैनवाला एक्साभेटर लैजाँदा कालोपत्रे उप्किएको र डोजरले सडक खन्दा मुख्य राजमार्गमा क्षति पुगेको डिभिजन प्रमुख इन्जिनियर लक्ष्मण जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “मुख्य राजमार्गबाट ग्रामीण सडक विस्तार गर्दा सडक डिभिजनसित अनुमति नलिई सडक निर्माण गर्दा राजमार्गमा क्षति पुगेको छ । गाउँमा कस्तो सडक बनाउने भन्ने विषयमा स्थानीय तहले कुनै समन्वय गरेका छैनन् ।”