• १९ पुस २०८१, शुक्रबार

दाङमा राष्ट्रिय यु-१९ महिला टोलीको बन्द प्रशिक्षण सुरु

blog

अतिथिसँग बन्द प्रशिक्षणमा सहभागी राष्ट्रिय यु–१९ का महिला खेलाडीहरु । तस्बिर : लीलाधर वली

लीलाधर वली 

घोराही, भदौ ३१ गते । आइसिसी यु–१९ महिला क्रिकेट वर्ल्ड कप एसिया क्वालिफायर प्रतियोगिताका लागि नेपाली राष्ट्रिय यु–१९ महिला टोलीको बन्द प्रशिक्षण सुरु भएको छ। आगामी नोभेम्बर ६ तारिखदेखि युएईमा हुने एसिया क्वालिफायर प्रतियोगिताका लागि तयारी स्वरूप दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा बन्द प्रशिक्षण सुरु भएको हो ।

बन्द प्रशिक्षणमा १५ देखि १९ वर्ष मुनि उमेर समूहका सातवटै प्रदेशबाट छनोट भएका २९ महिला क्रिकेट खेलाडी रहेका छन् । बन्द प्रशिक्षणमा सिनियर टिमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नुभएकी खेलाडी पूजा महतो लगायतका खेलाडी समावेश छन् । 

२९ जना खेलाडी सहभागी बन्द प्रशिक्षण लमहीमा १५ दिनसम्म चल्नेछ । बन्द प्रशिक्षणपछि आन्तरिक प्रतिस्पर्धा गराउँदै दोस्रो चरणका लागि १७ जना खेलाडी छनोट हुनेछन् । एसिया क्वालिफायर खेल्ने अन्तिम १४ खेलाडीको टुङ्गो लगाउनका पहिलो चरणको बन्द प्रशिक्षण सकिएपछि दोस्रो चरणको बन्द प्रशिक्षण कार्यक्रम हुने नेपाल क्रिकेट सङ्घका केन्द्रीय सदस्य समेत रहनुभएका दाङ जिल्ला क्रिकेट सङ्घका अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिनुभएको छ ।  

बन्द प्रशिक्षणको लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले उद्घाटन गर्दै लमही क्रिकेट रङ्गशालामा राष्ट्रियस्तरको बन्द प्रशिक्षणको कार्यक्रमसँगै अब अरू प्रतियोगिता पनि गर्ने वातावरण बताउन आग्रह गर्नुभएको थियो । त्यसका लागि स्थानीय सरकारकातर्फबाट आफूले सक्ने सहयोग गर्ने बताउनुभयो । 

दाङ क्रिकेट सङ्घका अध्यक्ष प्रदीप मजगैयाको अध्यक्षतामा भएको कार्यक्रममा लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले महिला क्रिकेटमा नयाँ पुस्ताको आकर्षण लोभलाग्दो रहेको भन्दै नेपालको क्रिकेट विकासमा महिला टिमले पछिल्लो समय खेल्दै आएको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले बन्द प्रशिक्षणमार्फत बन्ने नयाँ टिमले नेपालको नाम विश्वमा चिनाउन सक्ने गरी मेहनत गर्न आग्रह गर्नुभयो ।  

युएईमा नोभेम्बर ६ देखि १४ तारिखसम्म एसिया क्षेत्रबाट नेपालसहित थाइल्यान्ड, युएई र कुवेत खेल्दै छन् । त्यसको तयारीका लागि अहिले १५ देखि १९ वर्षसम्मका खेलाडी समावेश गरेर बन्द प्रशिक्षण सुरु भएको मुख्य प्रशिक्षक महेशप्रसाद रिजालले जानकारी दिनुभयो । मुख्य प्रशिक्षक रिजालसँगै सहायक प्रशिक्षकमा सन्जु केसी र जानकी भट्ट रहनुभएको छ । बन्द प्रशिक्षण असोजको १४ गतेसम्म चल्नेछ । 

बन्द प्रशिक्षणमा खेलाडीहरूमा पूजा महतो, ज्योत्सिका मरासिनी, सोनी पाख्रिन, अलिया यादव, मनीषा उपाध्याय, कृष्मा गुरुङ, विपिशा शाही, पूजा साउद, साना प्रविन, प्रतिमा शाह, स्नेहा महरा, साबित्रा धामी, अनु कडायत, मनिष बोहोरा, कृष्मा थापा, रबिना साउद, सुस्मिता भुसाल, किरनकुमारी कुँवर, तृष्ना विक, रिया शर्मा, अलिषाकुमारी यादव, भवानी कामत, आरती महतो, कुष्मा गोदार, सिमाना केसी, निरु जिटी, सिराना थापा, रचना चौधरी र आश्मा पुलामी मगर रहनुभएको छ ।