• ८ मंसिर २०८१, शनिबार

नगरवासीलाई एलपी ग्यास र चुल्हो निःशुल्क वितरण

blog

नगरवासीलाई वितरण गर्न तयार पारिएको चुल्होसहित ग्यास सिलिण्डर । तस्बिर : यादवराज पुरी

यादवराज पुरी

रौतहट, भदौ ३१ गते । रौतहटको परोहा नगरपालिकाले नगरवासीलाई खाना पकाउने एलपी ग्यास चुल्होको सेट निःशुल्क वितरण गरेको छ । आठौँ नगर सभाबाट पारित नीति तथा कार्यक्रम अनुसार ‘धुवाँमुक्त नगर’ अभियान अन्तर्गत नगरको प्रत्येक घर परिवारलाई पुग्ने गरी उक्त सामग्री वितरण गर्न थालिएको हो । 

दाउरा, कोइला, गुइँठा जस्ता परम्परागत इन्धनमा आत्मनिर्भर ग्रामीण क्षेत्रका घर परिवारसम्म एल.पी ग्यासको पहुँच विस्तार गर्ने उद्देश्यले उक्त कार्यक्रम ल्याइएको पालिका प्रमुख शेख वकिलले बताउनुभयो । उहाँका अनुसार नगरका सबै घरधुरीलाई पुग्ने गरी करिब साढे आठ हजार ग्यास चुल्हो सेट वितरण गर्ने योजना छ । 

ग्यास चुल्हो पाउँदा हर्षित बनेका त्यहाँका महिलाले दाउरा तथा गुइँठाद्वारा खाना पकाउँदा स्वास्थ्यमा पर्न सक्ने असरबाट मुक्त हुने, समयको बचत हुने र आत्मसम्मान बढ्ने बताएका छन् । चुल्होसहित सिलिन्डर वितरणबाट विशेषगरी विपन्न परिवार लाभान्वित भएका छन् । 

पालिकाको ३ नम्बर वडा तेजापाकडकी विपन्न महिला सत्यवती हजरा भन्नुहुन्छ, “वर्षातको समयमा दाउरा नबल्ने, चिसो दाउराबाट धुवाँ धेरै आउँदा आँखा पोल्ने र खोकी लाग्ने हुन्थ्यो अब नगरपालिकाले वितरण गरेको आधुनिक चुल्होमा खानेकुरा पकाउँदा उक्त समस्या हुँदैन होला ? तर ग्यास सकिएपछि पुनः ग्यास खरिद गर्न भने आर्थिक समस्या पर्छ।” 

नौ वटा वडा रहेको उक्त पालिकामा पाँच वटा वडामा चुल्होसहित सिलिण्डर वितरण भइसकेको छ । बाँकी ४, ७, ८ र ९ नम्बर वडामा दशैँ अघि नै वितरण गरिसक्ने पालिकाका सूचना अधिकारी मोहम्मद मोती रहमानले जानकारीदिनु भयो । उहाँका अनुसार करिब आठ हजार पाँच सय ७० घरधुरी रहेको उक्त पालिकामा दुई हजार ७० घरधुरीलाई चुल्हो वितरण गरिसकिएको छ ।