• २५ असोज २०८१, शुक्रबार

बालबालिकाले अधिकार माग्न थाले

blog

बालदिवसका अवसरमा बाल अधिकारबारे बोल्दै बालिका । तस्बिर : प्रेमराज सिम्खडा

कालीकोट समाचारदाता

कालीकोट, भदौ ३१ गते । जिल्लाको शुभकालिका गाउँपालिका–३ का लक्ष्मण अधिकारी विद्यालयमा हुने प्रायः कार्यक्रममा बाल अधिकारका कुरा गर्ने अभियन्तामध्येका एक हुनुहुन्छ । उहाँले जहिले पनि हामीले पढ्न पाउनु अधिकार हो भने पढ्नका लागि अनुशासित हुनु आफ्नो कर्तव्य पनि हुने भनेर साथीभाइलाई सुझाव दिनुहुन्छ । 

बाल अधिकारका लागि लक्ष्मणलगायतका दर्जनभन्दा बढी बालबालिका अहिले सार्वजनिक मञ्चमै पुगेर हाम्रा आवश्यकता पूरा गरिदिन सरकारलाई निवेदन गर्न थालेका छन् । ६० औँ बालदिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा लक्ष्मण अधिकारीले गाउँपालिकाले बालबालिकाको क्षेत्रमा के कति लगानी गरेको छ भन्ने कुराको जानकारी सार्वजनिक गर्नुपर्ने माग राख्नुभयो । बालक्लबका तर्फबाट आयोजना गरिएको कार्यव्रmममा उहाँले बालबालिकामा लगानी नगरेको भए अब कहिले गर्नुहुन्छ भन्दै प्रश्नसमेत गर्नुभयो । 

दिवसकै अवसरमा जुम्ला जिल्लाको तातोपानी गाउँपालिकाले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा अर्का बाल अभियन्ता अनुराधा चौलागाईंले विद्यालय भवन निर्माणका लागि बजेट दिएर बालबालिकामा लगानी भन्न नमिल्ने बताउनुभयो । उहाँले “विद्यालय भवन, सडक र शौचालय बनाएर हामीले बालबालिकाको क्षेत्रमा करोड लगानी गरेका छौँ भने पनि त्यो विद्यालय, सडक निर्माण बालबालिकाको मात्र होइन, सबैका लागि हो,” भन्नुभयो ।  

सरकारले नागरिकका लागि लगानी नगरेर कसले गर्ने भन्दै उहाँले प्रश्नसमेत गर्नुभयो । अनुराधाले खस्किँदो शैक्षिक अवस्थाको सुधारका लागि अब केही सोच्नुपर्ने सुझाव राख्नुभयो । उहाँले अब एकमुस्ट बस्तीमा जाने योजनाको बजेटलाई हेरेर बालबालिकालाई लगानी गरिएको छ भनेर भन्ने भनाइको अन्त्य आफूहरूले चाहेको सुनाउनुभयो । 

एकोहोरो किताबी ज्ञानले मात्र शैक्षिक सुधारको नतिजा नआउने भएकाले मनोरञ्जन, भ्रमण र नयाँ नयाँ प्रविधिको प्रयोगको खाँचो रहेको बालबालिकाले औँल्याउन थालेका छन् । लक्ष्मण र अनुराधा जस्तै अहिले कालीकोट र जुम्लाका बालबालिका सङ्गठित भएर मञ्चमै पुगेर आफ्ना समस्या सरकारलाई सुनाउन थालेका छन् । तातोपानी गाउँपालिका–१ का रमिला कामीले गैरसरकारी संस्थाले राज्यका हरेक नीति नियमका बारेमा सरकारको ध्यानाकर्षण नगरेको भए बालबालिकाकेन्द्रित कानुनी व्यवस्थाको जानकारी नपाउने जनाउनुभयो । 

तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले सबै काम सरकारले गर्ने भए पनि ध्यान नपुग्ने भएकाले गैरसरकारी संस्थाले सहयोग गर्दा सहज हुने गरेको बताउनुभयो । सेभ द चिल्ड्रेनको सहयोगमा कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक नेपाल) ले बालबालिकाकेन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको छ ।