• ७ मंसिर २०८१, शुक्रबार

महालक्ष्मी साहित्य पुरस्कार अर्याललाई प्रदान गरिने

blog

साहित्यिक पुरस्कारबारे जानकारी दिन हेटौँडामा आयोजना गरिएको पत्रकार सम्मेलन । तस्बिरः अनिल पराजुली ।

अनिल पराजुली

हेटौँडा, भदौ ३० गते । महालक्ष्मी साहित्य पुरस्कार–२०८० मकवानपुरकी महाकाव्यकार मुना अर्याललाई प्रदान गरिने भएको छ । मातृभूमि साहित्य समाज, मकवानपुर र महालक्ष्मी विकास बैङ्क लिमिटेडको संयोजनमा एक्काईसौँ महालक्ष्मी साहित्य पुरस्कार, २०८० एकाउन्न हजार नगद सहित अर्याललाई प्रदान गर्न लागिएको आइतबार हेटौँडामा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । 

यसअघि महालक्ष्मी साहित्य पुरस्कार–२०७९ वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईलाई प्रदान गरिएको थियो । 

पत्रकारिता क्षेत्रमा क्रियाशील मकवानपुरका पत्रकार माधव न्यौपानेलाई समाजसेवी ईश्वर मैनालीद्वारा आफ्ना पिताको सम्झनामा स्थापित केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार, २०८० प्रदान गरिने भएको छ । उहाँलाई नगद १० हजार सहित सम्मानपत्र समर्पण गर्ने निर्णय गरिएको मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष कृष्णप्रसाद दाहालले जानकारी दिनुभयो । 

त्यस्तै मकवानपुरका अग्रज शिक्षासेवी बद्रीनाथ शर्मा अर्याललाई “मकवानपुर श्री सम्मान“ प्रदान गर्ने निर्णय गरिएको छ । असोज ५ गते शनिवार एक कार्यक्रमको आयोजना गरी सो पुरस्कार तथा सम्मान प्रदान गर्न लागिएको महालक्ष्मी विकास बैङ्क लिमिटेड हेटौँडाका प्रबन्धक अनन्तराज धितालले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । 

२०५६ सालमा स्थापित भई मातृभूमि साहित्य समाज, मकवानपुरले भाषा, साहित्य, कला, सङ्गीत र संस्कृतिको संरक्षण संवर्द्धन गर्दै आएको छ ।