दिवाकर पोख्रेल
देउखुरी ,भदौ ३० गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान दिवस २०८१ जनस्तरबाट भव्य रूपमा मनाउन आह्वान गर्नुभएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा सम्पन्न संविधान तथा राष्ट्रिय दिवस मूल समारोह समितिको आइतबार बसेको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले संविधान दिवसलाई नागरिक स्तरबाट भव्य रूपमा मनाउन आह्वान गर्नुभएको हो ।
सुशासन, सामाजिक न्याय र समृद्धिको माध्यमबाट लुम्बिनी प्रदेशको समग्र विकासलाई जनतासामु पुर्याउन संविधानको कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्ध रहेको सो अवसरमा मुख्यमन्त्री आचार्यले बताउनुभयो । प्रदेश सरकारले संविधान दिवस २०८१ लाई भव्य रूपमा मनाउने निर्णय यसअघि गरिसकेको छ । आगामी असोज २, ३ र ४ गते तीन दिनसम्म प्रदेश भित्र विभिन्न कार्यक्रम आयोजना गर्न थालिएको हो ।
असोज २ गते प्रदेश स्थित सबै सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा फहराउने, कार्यालय परिसरमा सरसफाइ गर्ने, स्वास्थ्य मन्त्रालयको समन्वयमा निःशुल्क स्वास्थ्य परीक्षण जाँच कार्यक्रम सञ्चालन गर्ने, प्रदेश सरकारी निकायका वेबसाइटमा संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रूपले मनाउने बारेमा सूचनाहरू सार्वजनिक गर्ने, संविधान कार्यान्वयनको पहिलो दशक: उपलब्धि र चुनौती विषय विज्ञसँग छलफल कार्यक्रम सञ्चालन गर्ने, जसको लागी फेडरलिजम एण्ड लोकलाइजेसन सेन्टर सँग समन्वय गरिने भएको छ । आमा नागरिकलाई तीन दिन आ–आफ्नो घरको छत, बरन्डामा दीपावली गर्न आह्वान गरिएको छ ।
असोज ३ गते संविधान दिवसको मूल समारोह आयोजना गरिने छ । विभिन्न सांस्कृतिक झाँकी सहित बिहान प्रभातफेरीको आयोजना गरिने भएको हो । लुम्बिनी प्रदेश राजधानी परिसर क्षेत्र राप्ती उपत्यका देउखुरीमा मूल समारोह आयोजना गरिने र सो कार्यक्रमको प्रत्यक्ष प्रसारण आम सञ्चारका माध्यमबाट गर्न आह्वान गरिएको छ ।
यस्तै असोज ४ गते उपयुक्त स्थान पहिचान गरेर प्रदेश सरकारका मन्त्रालय, निर्देशनालय कार्यालय सम्बद्ध सरोकारवालाहरूको समन्वयमा वृक्षारोपण कार्यक्रम गर्ने जनाइएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षमा सम्पन्न बैठकमा प्रमुख प्रतिपक्ष दल नेता जोखबहादुर महरा, संसदीय दलका नेता तथा प्रतिनिधि, मन्त्रीहरू, सचेतक सहित मन्त्रालयका सचिव तथा कर्मचारी, गैर सरकारी संस्था महासङ्घका प्रतिनिधि, पत्रकारहरूको सहभागिता थियो ।