• २० असोज २०८१, आइतबार

‘काम गर्नका लागि कहीँकतै नजराना बुझाउनु पर्दैन’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ३० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुशासनसहित छिटोछरितो राज्यका सेवाहरू जनतालाई दिन अग्रसर रहेको बताउनुभएको छ । सरकार मुलुकलाई नयाँ ढङ्गले अगाडि बढाउने प्रक्रियामा रहेको उहाँको भनाइ छ । शनिबार बुढानीलकण्ठमा रहेको एक होटेललाई उद्घाटन गर्दै उहाँले पर्यटनलाई आकर्षित गर्न नेपालमा सुन्दर स्थल र वातावरण रहेको चर्चा गर्दै सरकारले पूर्वाधार विकासलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले व्यवसायीलाई निर्बाध रूपमा व्यवसाय गर्न आग्रह गर्दै भन्नुभयो, “व्यवसायीहरूले निर्बाध रूपमा व्यावसायिक काम गर्न सक्नुहुन्छ । काम गर्नका लागि कहीँकतै नजराना बुझाउनु पर्दैन । सरकारी निकायमा हुनुपर्ने कामको फाइल रोकिँदैन । कुन फाइल कहाँ पुगेर किन अड्किएको छ भन्ने ट्र्याकिङका लागि प्रविधि बनाइसकेका छौँ ।”

पर्यटकलाई सेवा र सत्कार दिने काममा ढुक्कले लाग्न आग्रह गर्दै उहाँले सरकारले गर्नुपर्ने सहजीकरणमा कमी नहुने बताउनुभयो ।