• २३ पुस २०८१, मङ्गलबार

विदेशी अडिटरबाट लेखा परीक्षण गराउने कार्य रद्द

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २९ गते । लेखा परीक्षण गर्ने कम्पनीको प्रस्ताव अस्वीकृत भएपछि विदेशी अडिटरबाट नेपालका १० ठुला बैङ्कको लेखा परीक्षण गराउने कार्य रद्द गरिएको छ ।

नेपाल राष्ट्र बैङ्कले विदेशी अडिटरबाट १० ठुला बैङ्कको लेखा परीक्षण गराउने कार्य रद्द गरेको हो । राष्ट्र बैङ्कले शुक्रबार जारी गरेको सूचनामा लेखा परीक्षण गर्न छनोट भएको भारतीय कम्पनी केपिएमजी एसुरेन्स एन्ड कन्सल्टिङ सर्भिसेज प्रालिको प्रस्ताव अस्वीकृत भएसँगै लेखा परीक्षण कार्य रद्द भएको हो ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को सर्तबमोजिम विदेशी अडिटरबाट धेरै कर्जा प्रवाह गरेका नेपालका १० ठुला बैङ्कको लेखा परीक्षण गर्न लागिएको थियो । आइएमएफले विस्तारित कर्जा सुविधा (इसिएफ) अन्तर्गत ३९५ मिलियन डलर प्रदान गर्नका लागि मार्च २०२३ मा उक्त सर्त राखेको थियो ।

गत चैतमा माग गरेको आशयपत्र अनुसार पाँच कम्पनी सर्ट लिस्टमा परी प्राविधिक प्रस्ताव माग भएको थियो । तीमध्ये भारतको केपिएमजी योग्य देखिए पनि उसको आर्थिक प्रस्ताव अस्वीकृत भएको हो । केपिएमजीको प्रस्ताव अस्वीकृत भएसँगै लेखा परीक्षण कार्य रद्द भएको राष्ट्र बैङ्कले जनाएको छ ।

आइएमएफले नेपालका बैङ्कको खराब कर्जा वास्तविक नभएको, धितो मूल्याङ्कनसम्बन्धी विधि प्रभावकारी भएको, वित्तीय अनुशासन नभएको लगायतका प्रश्न उठाएपछि अर्थमन्त्री र गभर्नरले विदेशी स्वतन्त्र लेखा परीक्षकबाट १० ठुला बैङ्कको लेखा परीक्षण सुरु गर्ने प्रतिबद्धता गरेका थिए ।