• २३ पुस २०८१, मङ्गलबार

उपभोक्ता ठग्नेलाई कारबाही गर्न मुख्य सचिवको निर्देशन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २९ गते । मुख्य सचिव एकनारायण अर्यालले चाडपर्वका बेला बजारमा कालो बजारी, कृत्रिम अभाव, मिसावट गर्ने व्यवसायीलाई कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । 

तराई विकास तथा सञ्चार केन्द्र नेपालले शुक्रबार आयोजना गरेको ‘बजारको सुशासनमा देखिएका चुनौती र हाम्रो दायित्व विषयक’ अन्तर्क्रिया कार्यक्रममा बोल्दै मुख्य सचिव अर्यालले चाडपर्वका बेला उपभोक्ता ठग्ने जोकोहीलाई कारबाही गर्ने उपत्यका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभयो ।  

चाडपर्वका समयमा बजारमा व्यवसायीले मूल्यवृद्धि, मिसावट, भाडा वृद्धि, नापतौलमा ठगी गर्न पाइँदैन, कारबाही गर्ने सन्दर्भमा कसैको दबाब आए डराउन पर्दैन भन्दै उहाँले उपभोक्ताको हकहित सुरक्षित हुने गरी सम्बन्धित निकायले एकीकृत रूपमा बजार अगाडि बढाउनुपर्ने बताउनुभयो । उपत्यकामा मात्र नभएर ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई प्रभावकारी रूपमा बजार अनुगमन गर्न मुख्य सचिवले निर्देशन दिनुभयो । “जनताको हकहित हुने कुरामा काम गर्दा कुुनै दबाब आए मलाई रिपोटिङ गर्नुहोस् डराउन पर्दैन,” मुख्य सचिव अर्यालले भन्नुभयो, “जनतालाई सेवा दिने सन्दर्भमा कानुनको अभाव नभएकाले भइरहेका विद्यमान कानुनको प्रभावकारी कार्यान्वयन गर्नु पर्छ ।” उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर एकीकृत टिम बनाएर बजार अनुगमन गर्न निर्देशन दिँदै चाडपर्वका बेला भाडा समायोजन नगर्न यातायात व्यवसायीलाई समेत आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका उपाध्यक्ष सरोज सिटौलाले चाडपर्वका बेला यातायात व्यवस्थापन गर्न कठिन भए पनि यात्रुलाई सहज हुने गरी व्यवस्थापन गरिने बताउनुभयो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म यातरुवाहक सवारीसाधन सञ्चालनलाई उच्च प्राथमिकतामा राखिएको बताउँदै उहाँले उपभोक्तालाई अनिवार्य रूपमा टिकट काटेर यात्रा गर्न अनुरोध गर्नुभयो । 

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक राजन पौडेलले चाडपर्वका बेला बजारमा गुणस्तरहीन वस्तु, लेबल नभएको, म्याद नाघेको, मिसावट र बिलबिजक नभएको वस्तु बिक्री गरेको फेला परे तत्काल कारबाही गरिने बताउनुभयो । विभागले गुनासाका आधारमा र नियमित रूपमा अनुगमन गरिरहेको र उपभोक्ता हितविपरीत हुने गरी काम गरेमा जोकोहीले पनि जानकारी दिनु अनुरोध गर्नुभयो । वस्तु तथा सेवाको मूल्य, गुणस्तर र आपूर्ति सुनिश्चित हुने गरी नियमित रूपमा अनुगमनका काम गरिरहेको उहाँले जानकारी दिनुभयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले उपत्यकाभित्र खाद्य पदार्थमा नियमित रूपमा अनुगमन गरिरहेको जानकारी दिनुभयो।