• २४ पुस २०८१, बुधबार

जलन उपचारका लागि एक लाख आर्थिक सहायता दिने स्वास्थ्यमन्त्रीको घोषणा

blog

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल वीर अस्पतालमा डा. केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ कार्यक्रममा बोल्नुहुँदै ।

काठमाडौँ, भदौ २८ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जलन उपचारका लागि एक लाख आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

शुक्रबार काठमाडौँको वीर अस्पतालमा डा. केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ गर्नुहुँदै उहाँले जलन उपचारका लागि पनि तत्काल एक लाख आर्थिक सहयोग सरकारले उपलब्ध गराउने व्यवस्था गर्ने बताउनुभएको हो ।

सरकारले क्यान्सर, किड्नीलगायतका प्राणघातक रोगका विरामीलाई उपचारका लागि एक लाख आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । अब जलनका विरामीका पनि त्यो व्यवस्था तत्काल गर्ने मन्त्री पौडेलको प्रतिवद्धता थियो ।

उहाँले भन्नुभयो, ‘‘आम नागरिकले जलन उपचारका निम्ति सुविधा पाउने एउटा स्थिति वीर अस्पतालमा बनेको छ । खासगरी बाहिरबाट हेर्दा जलन उपचार नपाएर, उपचार गर्न नसकेर मृत्यु हुनेहरु पनि थुप्रै हुनुहुन्छ । जीवनभर शारीरिक अपाङ्गता व्यहोर्नुपर्नेहरु पनि थुप्रै हुनुहुन्छ । यो एउटा एक्सिडेन्टल समस्या हो । यो जानेर हुने कुरा होइन ।,’’ स्वास्थ्य मन्त्री पौडेलले भन्नुभयो, ‘‘त्यसकारण यसको उपचारलाई प्राथमिकतामा राखिनुपर्छ भनेर हामीले मन्त्रालय सम्हालेदेखिनै यो ८ वटा रोगमा राज्यले जुन सुविधा दिएको छ । यो नवौँ उपचार सुविधा पाउने अवस्था बनाउन हामीले निरन्तर प्रयास गरेका छौं ।’’

स्वास्थ्यमन्त्री पौडेलले उपचारको अभावमा जलन रोगीहरुको ज्यान जाने गरेकाले सरकारले त्यस्ता रोगीहरुको उपचारका लागि सो केन्द्र स्थापना गरेको स्पष्ट पार्नुभयो ।

मन्त्री पौडेलले जलन रोगीको उपचारमा पनि आर्थिक सहायता दिनका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरिसकिएको पनि जानकारी दिनुभयो ।
‘‘स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयलाई लेखेर पठायो । त्यो प्रस्ताव स्वीकृत भएको छैन । माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्रीज्यूले यसको उपचारको निम्ति डेडिकेटेड सरकारी अस्पताल पहिला हुनुप¥यो । त्यसपछि हामी त्यसमा काम गर्छौ भन्नु भएको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘आज वीर अस्पतालमा वर्न बार्डमा डेडिकेटेड ट्रिटमेन्ट सेन्टर बनेको छ । अव यो भएपछि म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु–यो जलन उपचारमा सेवा सुविधा दिनेगरी एक लाख रुपियाँ दिने व्यवस्था हामीले तत्काल गर्नेछौं । यो कुराको कमिटमेन्ट म गर्न चाहन्छु ।’’
त्यस अवसरमा वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले भूकम्पपछि सो सेवा बन्द भए पनि नेपाल सरकारले प्राथमिकता दिएपछि सो सेवा पुनः सञ्चालनमा ल्याउन सम्भव भएको बताउनुभएको थियो ।
उहाँले विरामीहरुको चापलाई ध्यानमा राखेर वीर अस्पतालमा चार वटा फार्मेसीको व्यवस्था गरिएको पनि मन्त्री पौडेललाई जानकारी गराउनु भएको थियो ।