• २४ पुस २०८१, बुधबार

कृषि ऐन छिटो ल्याउन प्रयत्नरत छुः कृषिमन्त्री अधिकारी

blog

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी फ्लोरिकल्चर एशोसिएशन नेपालको ३२ औं वार्षिक साधारणसभा तथा कार्यसमितिको निर्वाचनको अवसरमा बोल्नुहुँदै।

काठमाडौँ, भदौ २८ गते । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि ऐन छिटो ल्याउन प्रयत्नरत रहेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौँमा फ्लोरिकल्चर एशोसिएशन नेपालको ३२ औं वार्षिक साधारणसभा तथा कार्यसमितिको निर्वाचनको अवसरमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले कृषि ऐन नै लामो समयदेखि ल्याउन नसकेको भन्दै अब छिटै कृषि ऐन ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले मन्त्रालयले कृषिसँग आवद्ध रहेका कुनैपनि ऐनहरु तर्जुमा गर्नका लागि सुरुवात गरिसकेको बताउनुभयो ।

कृषि मन्त्रालयअन्तर्गतका बीउ विजन, मलका वा आवश्यक पर्ने कुनैपनि ऐन, नियमहरु अहिले तर्जुमा भइरहेको उहाँको भनाइ छ । उहाँले बीउ विजन नियमावली चाँडोभन्दा चाँडो पास गराउने प्रतिवद्धता जनाउनुभयो ।

मन्त्री अधिकारीले भन्नुभयो, ‘‘कृषिसँग आवद्ध रहेका कुनैपनि ऐनहरु तर्जुमा गर्नका लागि सुरुवात गरेका छौँ । हामीले कृषि ऐन नै लामो समयदेखि ल्याउन सकेका छैनौँ, कृषि ऐन ल्याउँदैछौँ । कृषि मन्त्रालयअन्तर्गतका बीउ विजन, मलका वा आवश्यक पर्ने कुनैपनि ऐन, नियमहरु अहिले तर्जुमा भइरहेका छन् । छलफल अघि बढिरहेको छ । बीउ विजन नियमावली चाँडोभन्दा चाँडो पास गराएर यहाँहरुका बीचमा ल्याउने काममा पनि म आफू क्रियाशिल रहनेछु । सिङ्गो कृषि ऐन चाँडो भन्दा चाँडो ल्याउनुपर्ने छ ।’’

मन्त्री अधिकारीले किसानलाई परेका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभयो । उहाँले व्यवसायिक हितका लागि सरकारले आवश्यक काम गरिरहेको पनि उल्लेख गर्नुभयो ।