• १९ पुस २०८१, शुक्रबार

कृषि क्षेत्र पहिलो प्राथमिकतामा छ

blog

सप्तरीका १८ स्थानीय तहमध्ये विष्णुपुर गाउँपालिकामा हुलाकी सडकका साथै अन्य सडकको पनि सुविधा छ । यस गाउँपालिकाको उत्तरमा रूपनी गाउँपालिका, राजविराज  नगरपालिका, पश्चिममा राजगढ गाउँपालिका, दक्षिणमा छिन्नमस्ता गाउँपालिका, पूर्वमा राजविराज नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका पर्छन् । साबिक सिम्रहा सिगियौन, मलेकपुर (५–९), जमुनीमधेपुर, बोरिया (१, २, ८, ९) र इटहरी विष्णुपुर गरी पाँच वटा गाविस मिलेर विसं २०७३ मा गठन भएको यस गाउँपालिकामा सात वटा वडा छन् । कुल ३७ (वर्ग किमी) क्षेत्रफलमा फैलिएको यो गाउँपालिकामा विसं २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टी नेपालको तर्फबाट उम्मेदवार बनेर गाउँपालिका अध्यक्षमा निर्वाचित उमेशप्रसाद यादवले गर्नुभएको काम र आगामी योजनाबारे गोरखापत्रका सप्तरी समाचारदाता देवरामप्रसाद यादवले गर्नुभएको कुराकानी :

तपाईं निर्वाचित भएको अढाई वर्षको अवधिलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

विष्णुपुर गाउँपालिकालाई आर्थिक समृद्धि, सामाजिक रूपान्तरणतिर उन्मुख गराउन र गाउँपालिकाले आत्मसात् गरेको नारा ‘शिक्षा, स्वास्थ्य, कृषि र बाटोघाटो विकासको आधार’ लाई सार्थक तुल्याउने कार्यमा विगत अढाई वर्ष निकै महìवपूर्ण रह्यो । यस क्षेत्रको भौतिक पूर्वाधार, स्वच्छ खानेपानीका साथै सरसफाइलाई पनि प्राथमिकतामा राखेर काम भइरहेको छ । गाउँवासीमा परेको समस्याको समाधान, प्राकृतिक तथा दैवी प्रकोप नियन्त्रण, राहत, उद्धार, सार्वजनिक पोखरी, बाटोघाटो, सार्वजनिक जग्गाको अतिव्रmमण रोक्ने काम भएको छ । अब बाँकी कार्यकालमा जनताका आवश्यकता पूरा गर्ने योजना र कार्यक्रम बनाउन तथा कार्यान्वयन गर्नेतर्फ ध्यान केन्द्रित गरेका छौँ ।    

निर्वाचनमा जनतासामु गरिएका प्रतिबद्धता पूरा गर्नेतर्फ के कस्ता काम भइरहेका छन् ?

हामीले चुनावका बेला जनतामाझ गरेका प्रतिबद्धता पूरा गर्ने कार्यको सुरुवात गरेका छौँ । किसानको जीवनस्तर सुधार गर्न कृषिमा विद्युतीकरणको काम सुरु भएको छ । अब किसानको खेत खेतमा विद्युत् लाइन जडान हुन्छ । ग्रामीण बेरोजगार महिलाका लागि सिप र रोजगारीसहितको एकीकृत योजना ल्याउने तयारी गरेका छौँ । 

विद्यालय शिक्षा सुधारका लागि के गरिरहनुभएको छ ?  

पहिले जस्तो शिक्षकमा अनुशासनहीनता र विद्यालय नै नआई तलब खाने परिपाटीमा निकै कमी आएको छ । अहिले यहाँका विद्यालयमा शिक्षक नियमित आउने गरेका छन् । पूरा समय विद्यालयमा बिताउँछन् । म आफैँ अनुगमनमा निस्किने गरेको छु । गाउँपालिकाभित्रका १८ वटै सामुदायिक विद्यालयमा नियमित पठनपाठन भइरहेको छ । विद्यालयमा चार जना स्वयंसेवक शिक्षकको नियुक्ति गरी पठनपाठन हुने गरेको छ । विद्यालयमा ल्यापटप, प्रिन्टर, फर्निचर, खानेपानी, शैक्षिक सामग्री वितरण गरिएको छ । 

सामाजिक न्यायतर्फ के काम भइरहेको छ ? 

सामाजिक न्यायका लागि उपाध्यक्षको नेतृत्वमा रहेको न्यायिक समिति प्रभावकारी देखिएको छ । न्यायिक समितिमा आइपुगेका मुद्दाको छिनोफानो गरेर सामाजिक न्याय दिलाउन सफल रहेको छ । सामाजिक माहोल बनाउन शान्तिपूर्ण रूपमा अगाडि बढ्दा नै भौतिक विकास सार्थक रूपमा अगाडि बढ्ने भएकाले यस क्षेत्रमा पनि अपेक्षाकृत राम्रो काम भएको छ । भौतिक विकास र सामाजिक न्याय भए मात्रै सबल गाउँपालिका बन्ने हाम्रो साझा धारणा छ । न्यायिक समितिमा आएको उजुरीमा अधिकांश मेलमिलापका माध्यमबाट छिनोफानो भएको छ । केही मेलमिलाप हुन नसकेका उजुरी अदालत जाने गरेका छन् । 

स्वास्थ्य सेवाका लागि के के काम भएको छ ? 

स्वास्थ्य क्षेत्रमा पनि राम्रै काम भइरहेको छ । स्वास्थ्य संस्थाबाट ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरीका लागि जटिल प्रकारका अवस्थामा निःशुल्क एम्बुलेन्स सेवा प्रवाहलगायतका काम गरिरहेका छौँ । विपन्न दलितलाई स्वास्थ्य उपचारका लागि स्वास्थ्य शाखाबाट सहयोग भइरहेको छ । स्वयंसेविकालाई सव्रिmय बनाउने, उच्च मनोबलका साथ काम गर्न स्रोतसाधनले भ्याएसम्म परिणाम दिइने गरी काम भइरहेको छ । 

अध्यक्षका रूपमा अढाई वर्ष अवधिको अनुभव कस्तो रह्यो ? के कस्ता चुनौतीको सामना गर्नु परेको छ ?

निर्वाचित भएर आएदेखि विगतमा सञ्चालनमा आएका प्रभावकारी र महìवपूर्ण कार्यव्रmम तथा योजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको छु । अनुभवका हिसाबले विकासको अपेक्षा धेरैतिरबाट आउने र बजेटको सीमितताले गर्दा माग र योजना अनुसारको कार्य गर्न कठिनाइ रहेको अनुभव रह्यो । जनताको काम गर्न निर्वाचित भएकाले रातदिन जनसेवामा खटिँदा आफूलाई आनन्दको अनुभूति हुने गरेको छ । 

काम गर्ने व्रmममा नागरिकको साथ र सहयोग पूर्ण रूपमा रहे पनि दलगत व्यवस्था भएकाले हाम्रो समाजमा राम्रो कामको पनि विरोध गर्ने संस्कार नै बसिसकेको छ । सडक विस्तार गर्दा सुकुमवासीको नाममा हुकुमवासी बाधक रहेको छ । शैक्षिक सुधार गर्ने र सिकाइ आदानप्रदानका लागि शिक्षकको गाउँपालिकाभित्रैको एक विद्यालयबाट अर्को विद्यालयमा आन्तरिक सरुवा गर्दा पनि कुनै पार्टीले झन्डा नै बोकेर विरोध जनाएको अवस्था छ । यी र यस्तै कामले केही चुनौती देखिएका छन् तर हामीले जनताको कामका लागि बाधा अवरोध चिर्दै अगाडि बढ्दै छौँ । 

नागरिकको समस्यालाई कसरी समाधान गर्दै हुनुहुन्छ ?

गाउँपालिकाभित्रको समस्या र चुनौतीलाई सामना गरेर उत्कृष्ट गाउँपालिका बनाउने लक्ष्यका साथ हामी सबै लागिपरेका छौँ । यस पालिकालाई नमुना गाउँपालिका बनाउन विभिन्न काम सुरु भएको छ । विद्यालय सुधार, विद्यालयको पठनपाठनका लागि अनुगमनलाई प्रभावकारी रूपमा अगाडि बढाएका छौँ । कृषि, शिक्षा, स्वास्थ्य र सडकलाई उच्च प्राथमिकतामा राखिएको छ । रोजगार, खेलकुद, सिप विकास, गरिबी निवारणलाई साथसाथै अगाडि बढाउने लक्ष्य छ । स्वास्थ्य केन्द्रप्रति जनताको विश्वास बढाउने अभियान पनि सुरु गरिसकेका छौँ । साथै हामीले किसानलाई रासायनिक मलको अभाव हुन दिएका छैनौँ । माटो परीक्षणदेखि उन्नत जातका बिउ वितरण, मलखाद, किटनाषक औषधी, पम्प, बोरिङ, फाइबर सिरक, कपडा सिउने मेसिन, पङ्खा, खानेपानी ट्युबेल, ग्यास चुलो, इन्डक्सन, उपकरण वितरण गरेका छौँ । जिल्ला प्रहरी कार्यालयलाई शान्ति सुरक्षाका लागि सिटी रिक्सा प्रदान गरेका छौँ । हामीले समस्यालाई व्रmमिक रूपमा वर्गीकरण गरेर समाधान गरिरहेका छौँ । 

स्थानीयवासीले गाउँपालिकाबाट पाउने सेवा सुविधा कति सहज बनाइएको छ ?

जनतालाई प्रत्यक्ष अनुभूति हुने काम गर्न प्रत्येक कर्मचारीलाई समय समयमा निर्देशन दिँदै आइरहेको छु । तसर्थ जनताको कामकाज सहज, सरल तथा नियमानुसार छिटोभन्दा छिटो गर्न विषयगत कर्मचारीलाई सजग बनाइरहेको हुन्छु । कुनै पनि बहानामा जनतालाई दुःख दिने काम गाउँपालिकाबाट हुँदैन । नियमानुसारका काम छिटोभन्दा छिटो गरिदिएर जनतालाई खुसी पारेर घर पठाउनेतर्फ आफैँ निगरानी गर्दै आएको छ । वडावासीलाई सामाजिक सुरक्षा भत्ता पाउने वृद्धवृद्धालगायतलाई नजिक पर्ने बैङ्कबाट पनि भत्ता पाउने व्यवस्था गरेको छु । 

तपाईंका आगामी कार्यव्रmम र योजना के के छन् ?

गाउँपालिकाले ल्याएको आव २०८१/८२ को नीति तथा कार्यव्रmममा शिक्षा, स्वास्थ्य, कृषि, सडक निर्माण र स्तरोन्नतिलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ । गाउँपालिकालाई नमुना गाउँपालिका बनाउन तथा जनताका विकासका चाहना पूरा गर्ने गरी बजेट कार्यान्वयन जोड दिइरहेका छौँ । 

सङ्घ र प्रदेश सरकारबाट के कस्तो सहयोग पाउनुभएको छ ? 

सङ्घ र प्रदेशबाट पाउने अपेक्षा अनुसारको सहयोग नपाए पनि विद्यालय भवन र अस्पताल निर्माण तथा विद्युतीकरणमा सहयोग र सुविधा पाएका छौँ ।