• ८ मंसिर २०८१, शनिबार

चियाका ‘गहना’ शरद

blog

आफ्नै जसबिरे चिया कारखानामा हरियो चियाको गुणस्तर हेर्दै शरद सुब्बा ।तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, भदौ २८ गते । तयारी चिया उत्पादनको यो मुख्य याममा इलाम जसबिरेका शरद सुब्बालाई फरक बास्ना र फरक स्वादको चिया कसरी बनाउने भन्ने कुराले व्यस्त बनाएको छ । बिहान सबेरै घरभन्दा माथि रहेको चिया कारखानामा पुग्ने शरद राति अबेरसम्म पनि घर झर्न भ्याउनुहुन्न अचेल । 

कस्तो बास्ना र स्वादको चियाले पारखीको मन तान्न सकिन्छ भन्ने पत्ता लगाउनुमा नै शरदको बर्सौं बितेको छ । पछिल्लो पटक काठमाडौँमा आयोजित ‘नेपाल टी च्यालेन्ज २०२४’ मा ‘बेस्ट टी मेकर’ घोषित हुनुभएका शरदलाई त्यो अवार्डले थप व्यस्त बनाएको छ । 

जोकोही पुगे पनि स्वादिलो चिया पिउन सकिने जसबिरे चिया प्रशोधन कारखानामा शरदले बनाएको चियाको माग पनि उच्च छ । उहाँले भन्नुभयो, “यो वर्ष पनि माग भए जति चिया तयार गर्न त सकिन्न ।  दुई हजार किलो ‘स्पेसल टी’ को माग छ । त्यति परिमाणमा बनाउन सकिन्न । एक हजारदेखि एक हजार पाँच सय किलो पु¥याउन सकिन्छ कि ?”  उहाँले वार्षिक रूपमा पाँचदेखि छ हजार किलो मात्र स्पेसल टी बनाउने गरेको बताउनुहुन्छ । 

स्पेसल चियाबाहेकको अर्थोडक्स चियाको माग पनि पु-याउन गाह्रो भएको सुब्बा बताउनुहुन्छ । उहाँले ५० हजार किलो चियाको माग आएको छ तर आफूहरूको कारखानाको क्षमता नै कम भएकाले २० देखि ३० हजार किलो चिया मात्र दिन सक्ने बताउनुभयो । 

राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा पठाइने ह्वाइट टी, ओलाङ, ग्रिन, गोल्डेन, गोल्डेन पललगायतका ३५ भन्दा बढी प्रकारका चिया शरदले तयार गर्ने गर्नुहुन्छ । “चियाको मुना टिपाइ, त्यसलाई जोगाएर टिप्नुपर्ने, सुइरो मात्र पनि टिप्नुपर्ने, बोटबाट कारखानासम्म ल्याउने समय, ट्रफमा राख्ने र सुकाउने समय, मेसिनमा हालेर रोलिङ गर्ने, वेदरिङ गर्नेलगायतका प्रत्येक प्रव्रिmयामा एक÷एक सेकेन्डको महìव हुन्छ, शरद भन्नुहुन्छ, “गुणस्तरीय तयारी चियाका लागि सबैभन्दा बढी कुन समयमा के गर्ने भन्ने कुरा र समयकै ख्याल गर्नुपर्ने हुन्छ ।” 

चियाको क्षेत्रमै सिपालु कहलिएका शरदले तयारी गरेको चिया विदेशीले पनि धेरै नै मन पराउने गरेको इलामको सुन्दरपानीस्थित गोर्खा टी स्टेटका सञ्चालक उदय चापागाईं बताउनुहुन्छ । ‘शरद त चियाको गहना हो, उनले पढेरभन्दा बढी आफूले प्रयोग गरेर नै त्यति राम्रो र मिठो चिया बनाएका छन् । जुन स्वाद हरेक विदेशी खरिदकर्ताको जिब्रोमा झुन्डिन्छ, चापागाईंले भन्नुभयो, “मसँग आएका कतिपय खरिदकर्ता शरदकामा जान रुचाउँछन् र मैले त्यहाँसम्म पु¥याउने पनि गरेको छु ।” चियाको गुणस्तर तयार गर्ने क्षेत्रमा शरद जस्तो चिया बनाउने अर्को व्यक्ति खासै नभएको चापागाईंको भनाइ छ । 

शरदले बनाउने उच्च गुणस्तरको चियाले अमेरिका, डेनमार्क, चीन, रुस, फ्रान्स र नेदरल्यान्डमा धान्न नसक्ने माग छ । “चीनका व्यापारीले यो वर्ष पनि चिया माग गरेका छन् तर मेरोमा त्यति परिमाणमा चिया हुँदैन ।” शरद भन्नुहुन्छ, “कोभिडपछि यो वर्ष नेपाली चियाको अन्तर्राष्ट्रिय बजार निकै उत्साहजनक छ । यो वर्ष मेरोमा रसियाका एक नागरिकले आफंैँ आएर बसेर चिया बनाएको हेर्नुभयो र आफैँ पनि चिया बनाएर लैजानुभयो ।” 

चालिस वर्षीय शरद चियाको विषय पढाउने विज्ञ प्राविधिकका रूपमा भने धेरै ठाउँ जाने गर्नुहुन्छ । शरदले भन्नुभयो, ‘‘एक पटक चियाकै १० दिने तालिम दिन म्यान्मार पनि गएको थिएँ ।”

सानै हुँदा पनि बुवा सूर्य सुब्बाले जस्बिरेमा खेती गरेको चिया टिप्ने, भट्टी बनाएर ओइलाउने, कपडामा पोको पार्ने र फुकाएर घाममा सुकाएर मग मग बास्ना आउने बनाउन खुबै रुचि राख्ने शरदलाई अन्ततः आफैँ चिया कारखाना खोल्न परिवारले पनि साथ दियो । स्थानीय माई गुराँसे चिया प्रशोधन उद्योगमा चिया प्राविधिक भएर नौ वर्ष र त्यसपछि आफूसहितको लगानीमा घरछेउमा खुलेको सन्दफु चिया उद्योगमा चार वर्ष शरदले काम गर्नुभएको थियो । 

त्यसो त जिल्लामा रहेका दर्जनौँ ठुला चिया प्रशोधन उद्योगका प्राविधिक भारतीय नागरिक छन् । नेपाली दक्ष जनशक्ति नहुँदा धेरै उद्योगलाई भारतीय प्राविधिक राख्नु उनीहरूको बाध्यता पनि छ तर शरदले भने धेरै युवालाई चिया प्रशोधनको सिप सिकाइरहनुभएको छ । 

शरदको कामबाट वृद्ध भएका बुवा सूर्य सुब्बा पनि निकै सन्तुष्ट हुनुहुन्छ । लौरोकै सहारामा हिँड्ने सूर्यलाई दिनमा एक पटक चिया कारखाना नपुगी चित्त बुझ्दैन । “प्रयास गर्दा चाहिँ हुँदो रहेछ । रोजगार गर्न विदेशी भूमि नै जानु नपर्ने रहेछ,” सूर्यले भन्नुभयो, “यहाँ पनि सुख त छैन तर हाम्रो आँखाअगाडि पनि शरदले यति धेरै दुःख गरेको छ । उसको मेहनत देख्दा खुसी लाग्छ ।” 

शरदलाई सघाउँदै दाजु गृष्म र भाइ निर्विकल्पले पनि साथ दिनुभएको छ । इलामको बिल्याँटेमा शरदले उत्पादन गरेको चियाको स्वाद चखाउन उहाँहरूले चियाघर नै निर्माण गरेर निःशुल्क चिया चखाउनुहुन्छ । दाजु गृष्मले भन्नुभयो, “यहाँ आउने जोकोही पाहुनालाई निःशुल्क चिया चखाउने र चियाका बारेमा जानकारी गराउने गरेका छौँ । कसैले चिया बगान र कारखाना घुम्न खोज्नु भयो भने घुमाउने व्यवस्था पनि गरेका छौँ ।” 

शरदले आफूले मात्र सफलता हात पार्नुभएको छैन । उहाँले आफ्नो बगानभन्दा बाहिरका किसानको चियासमेत प्रशोधन गरेर सहयोग गर्नुभएको छ । विगतमा विदेशी संस्था नासा र आइओएमबाट अर्गानिक प्रमाणीकरण गरिएको हरियो चियाको मूल्य पनि शरदले किसानलाई राम्रै दिनुभएको छ । हरियो चियाको प्रतिकिलो ६५ रुपियाँदेखि प्रतिकिलो एक हजार ट सय रुपियाँसम्म किसानलाई दिने गरेको शरद बताउनुहुन्छ । मुना हेरेर मूल्य निर्धारण हुने चियाको एक सुइरोको मात्र मूल्य प्रतिकिलो एक हजार ट सय रुपियाँ हो । 

शरदले भन्नुभयो, “दुई वर्षअघि चीनमा भएको चिया प्रदर्शनीमा गोल्डमेडल पाएको नेपाली चियालाई सरकारले खास चासोको विषय बनाएन । अर्गानिक चियाका लागि सरकारीस्तरबाट खास काम भएकै छैन ।”