हामी हत्तपत्त नारी पात्रको नायकत्व स्वीकार गर्दैनौँ । जस्तो भए पनि पुरुष चरित्र र प्रवृत्तिले मात्र मुक्ति दिन्छ, दुःख निवारण गर्छ भन्ने भ्रम छ । त्यसैले प्रायः पुरुष चरित्र र पितृसत्ताले ओतप्रोत व्यक्ति नै समाजमा नेता बन्न मरिहत्ते गर्छन् र भिड जम्मा गर्छन् । एउटा अमूक व्यक्तिको सम्पत्तिको धाक, पारिवारिक खान्दानको धाक कुनै जाति विशेष हुनुको गर्वोक्ति हामीलाई प्रिय र आकर्षक लाग्छ ।
विश्वसनीयताको अभाव
विश्वका नामुद धनीहरूले कहिल्यै आफ्नो सम्पत्तिको धाक लाएको र सम्पत्तिको आडमा राजनीतिमा छु भनेको सुनिँदैन तर हाम्रा अमूक व्यक्तिले केही अर्बको ऋणधनसहितको सम्पत्तिको धाक र घमन्ड यति छ कि उनी एलन मस्क, बिल गेट्स, बर्नाड अर्नोल्ड, मुकेश अम्बानी र नेपालमै पनि विनोद चौधरीकै हाराहारीका धनाढ्य झैँ आफूलाई प्रस्तुत गर्छन् र सबै दुःख, पीडा, रोग, भोक र शोकको हरणकर्ता म हुँ भन्छन् । सबै दुःख मोचनको ठेक्का पनि आफ्नो मान्छन् र आफूलाई एक मात्र मुक्तिदाता र नेपालको रोग, भोग र शोक खत्तम गर्ने ब्रह्मास्त्र बोकेको दाबी गर्छन् । फेरि हाम्रो समाज त्यतै भड्किन्छ, दौडिन्छ । कुनै पनि विषय, राजनीतिक नारा, अभियान र मुक्तिको पछाडि मान्छेको विश्वसनीयता जाँच गर्दैन र ‘हो मा हो’ मिलाउँदै कुद्छ समाज ।
सार्वजनिक मञ्चबाट बोल्न हुने नहुने सबै कुरा बोल्छन् । तथापि हामी उनकै पछि लाग्छौँ नागरिक हुनुको गर्व र आफू हुनुको स्वत्वको अनुभूति गर्दैनौँ । हामी कसैलाई मुक्तिदाता र नयाँ नायकको अवतारको रूपमा प्रस्तुत गर्छौं । कसैको लहड र उर्दीलाई शिरोपर गरेर भेला हुन्छौँ । वाक् स्वतन्त्रता मात्र बुझेका वाक् मर्यादा र शिष्टता नभएका मान्छे किन प्रिय छन् हाम्रा लागि ? के हाम्रा लागि सुसंस्कृत, सभ्य र शिष्ट युग सकिएकै हो ? एउटा खराबविरुद्ध अर्को झन् खराब र घातक प्रवृत्ति हामीलाई मन पर्नुको कारण के हो ? यसको जवाफ अब नेपाली समाजले नखोजी भएको छैन ।
नेपाली मनोविज्ञान
हाम्रो एउटा मनोविज्ञान छ, हामी छु मन्तर गर्ने नायक, जादुयी चरित्र, काल्पनिक चित्रको सम्मोहनबाट मुक्त छैनौँ । चलचित्रमा झैँ देखिने नायक, धार्मिक कथामा झैँ देखिने पात्र र मिथकीय विम्बको रूपमा प्रकट हुने पौराणिक ऐतिहासिक पात्र, तिलस्मी जादुको अपेक्षा गर्छौं र सो अपेक्षा पूरा हुन नसक्दा छिटो निराश हुन्छौँ । अन्धविश्वास र अति विश्वासले गाँजेको मनोविज्ञान छ हामीसँग ।
हामी कसैको पनि विगत आगत र सैद्धान्तिक धरातलको लेखाजोखा गर्दैनौँ । बहकाउमा लाग्छौँ । इतिहासको विवेचना गर्दैनौँ । राजनीतिक घटनाक्रम र विश्व परिस्थितिको मूल्याङ्कन गर्दैनौँ । राजनीतिको नियम र समाज विज्ञानको गतिलाई बुझ्ने प्रयास गर्दैनौँ । आजको नागरिक चेतना र विगतको नागरिक चेतनाको विश्लेषण गर्दैनौँ । हाहा र होहो मा कुद्छौँ । अमूक व्यक्तिको चटके र झिल्के कुराको पछि लागेर दौडनु हाम्रो परिवर्तित आचरण भएको छ । अझै पनि कसैलाई अलौकिक शक्तिको प्रतिमूर्ति मान्ने र अतिशय कल्पनाको पात्र ठान्ने समाजको मनोवैज्ञानिक स्थिति छ ।
नयाँ नायकको खोजी सामान्य र आम प्रवृत्ति हो । मान्छे परिवर्तन र नयाँ स्वाद चाहन्छ तर आजको मान्छेले चाहने नयाँ स्वाद विष घोलिएको पक्कै होइन । प्रगतिशील चरित्र र आचरण भएको हो । विकल्पमध्ये पत्रु विकल्प होइन, सर्वोत्कृष्ट विकल्प हो । विगत र वर्तमान बेदागी र भविष्यप्रति विश्वसनीयतासहितको आशावादी नेतृत्व हो ।
सुसंस्कृत र दूरदर्शी नेताको खोजी हो । २००७ सालको पेरीफेरीमा बिपी भनेजस्तो नेता र पढैया नेता थिए । तथापि बिपीमाथि पनि २०१७ मा आपत् आइलाग्यो १८ महिनाभन्दा बढी दुई तिहाइको सरकारले काम गर्न सकेन । अतः सामान्य राजनीतिक अर्थ र सिद्धान्तको ज्ञान नराख्ने नेताले दिने मुक्ति के हो ? फेरि शिक्षालाई अवमूल्यन गरिएको पनि देखिन्छ । यसो भन्दैमा सबै औपचरिक डिग्री र विश्वविद्यालयले दिने प्रमाणपत्र मात्र पढाइको विशेष आधार होइन । व्यक्तिमा अन्तर्निहित चेतना ज्ञानविज्ञानसँगको बुझाइ, समाज र देशकाल परिस्थिति बुझ्ने र नेतृत्व गर्ने क्षमता हो ।
नेतृत्व गर्ने नेतामा कुनै क्षमता हुनु पर्दैन ? विशेष योग्यता नभए पनि हुन्छ ? उडन्ते कुरा गरेर र गरिबको आँसु र दुःखको कुरा गरेर सहानुभूतिको राजनीतिमार्फत बिना कुनै कार्ययोजना सैद्धान्तिक माध्यम, दर्शनको धरातल र आकार देश परिवर्तन गर्न सकिन्छ ? देश बदल्ने मेथोडोलोजी भनेको केही हुल मान्छे जम्मा गरेर जथाभावी चिच्याउनु मात्र हो ? यस्ता राजनीतिले देशलाई कहाँ पु¥याउँछ ? कसैले सोचेको विचारेको देखिन्न ।
अन्यायविरुद्ध आवाज उठाउने, आगो ओकल्ने निःसहायलाई निसाफ र न्याय दिने गुण्डागर्दीलाई काउन्टर दिने शोषक र भ्रष्टाचारीको सातो बोक्ने चलचित्रका नायक र चरित्र हुन् । आममान्छे त्यस्तै चरित्रको नायक खोज्छ । बिग्रेको राजनीतिलाई तिलस्मी तवरले सपार्ने नायकको अपेक्षा गर्छ तर चरित्र र नायकमा भिन्नता छ । विभिन्न चलचित्रमा विभिन्न चरित्र निर्वाह गर्नेहरू नायक होइनन्, अभिनेता हुन् । उनीहरू चलाचित्रको चरित्र निर्वाह गर्छन् । चरित्रले समाजका पात्रलाई आफूमा रूपान्तरण गर्छन् । नायकले समाजलाई आफ्नो अनुकरण गर्न लगाउँछ । नायक आदर्श र रोल मोडेल हुन्छ । देशको दीर्घकालीन हित र समृद्धिको आधार दिने राजनीतिक, आर्थिक, शैक्षिक, सांस्कृतिक र सामाजिक कार्यक्रम बोकेको हुन्छ ।
नेपालको राजनीतिमा अभिनेता र खलपात्र थुप्रै छन् । केहीमा नायकीय गुण नभएको पनि होइन तर पनि जनता नयाँ नायकको उपस्थिति खोज्दै छन् र नयाँ नयाँ पात्रमा परीक्षण गर्दै छन् । नेपाली समाज र राजनीतिको विचलन, विखण्डन, विरोधाभास, विभेद, वैराग्य र बदमासीबाट मुक्त हुन जनतालाई नयाँ नायकको खाँचो टड्कारो देखिएको पक्कै हो । यद्यपि विकल्प निम्सरो र निर्धो होइन, सबल सक्षम र आजको भन्दा बढी गतिशील र प्रगतिशील हो ।
आलोचनात्मक चेत
हामीले अवलम्बन गरेको राजनीतिक प्रणालीबारे विहङ्गम समीक्षा गर्न कत्ति पनि विलम्ब गर्न हिचकिचाउनु हुन्न । निरन्तर प्रश्न, छलफल, बहससहित निष्कर्षमा जानु पर्छ । उठेका प्रश्नहरूको सामना गर्ने लोकतान्त्रिक विधि र पद्धतिहरू छन् । तिनलाई सक्रिय पार्नु पर्छ । प्राडा सञ्जीव उप्रेतीले भने झैँ “आलोचनात्मक चेतरूपी क्यामेराको लेन्स नेताहरूले, सामाजिक अगुवाहरूले, लब्ध प्रतिष्ठित व्यक्तिले, पत्रकारले, विद्वान् र बुद्धिजीवीले, समाजतिर मात्र फर्काएर पुग्दैन आफैँतिर पनि फर्काउने र आत्मालोचनात्मक हुनु जरुरी छ । अरूलाई हेर्ने नजर आफैँलाई हेर्ने र आफ्नो सेल्फी पनि खिच्नु पर्छ । बाहिरी संसारको मात्र विश्लेषण गर्ने होइन, आफूलाई पनि विश्लेषण गर्ने विवेचना गर्नेतर्फ ध्यान दिनु पर्छ ।”
म जे पनि गर्छु भन्नु र गर्ने विधि र पद्धति बताउनु फरक कुरा हो । तथापि आज थुप्रै विसङ्गति र चुनौती छन् । भ्रष्टचार कुशासन आदिको व्यापक आरोप छ । देश सही दिशामा छैन । वैदेशिक ऋणको भार बढेको छ । परनिर्भरता बढ्दो छ । आक्रोश, निराशा र असन्तोषको व्यवस्थापन त्यस्तै अर्को खराब प्रवृत्ति र पात्रले गर्न सक्छ ? उडन्ते कुरा गरेर केही हुल मान्छेलाई अनेक तिकडम गरेर पछि लाउँदैमा समाज परिवर्तनको नेतृत्व असम्भव कुरा हो । भावनाका अगाडि तर्क, तथ्य र वास्तविकताहरू कमजोर बनेका हुन ? विश्वसनीय आधार र व्यक्तिको निरन्तर निष्ठाबिना कुनै भावनात्मक धारणा सुनेर कसैलाई किन विश्वास गर्छ मान्छे ? टिभी र युट्युबमा हेरेर सुनेर विश्वास गर्ने र पछि लाग्ने मान्छे बढेका हुन ? छलफल र बहसको विषय हो ।
नेता भनेको भिजनरी, डाइनामिक र बहुआयामिक हुनु पर्छ । नेता सामाजिक वैधता प्राप्त गरेको व्यक्ति बन्न सक्छ । रातारात कोही नेता बन्ने र नेतृत्वमा पुग्ने कुरा तिलस्मी दुनियाँका किस्सा मात्र हुन् । केही अपवाद होलान् । अपवादको नियम हो अपवाद, सामान्य नियम होइन ।
देशमा निराशा, भ्रष्टाचार, नातावाद, अन्याय, छोइछिटो, शासकीय अकर्मण्यता, ढिलासुस्ती आदि छन् तर यसको निदान कुनै एउटा व्यक्ति र गलत प्रवृत्तिले आजको आज अहिलेको अहिले फु मन्तर गरेर निदान दिन सक्दैन । चर्को र जथाभावी बोल्नेको सामाजिक मूल्य हुन्न । केही समयको भौतिक मूल्य मात्र हुन्छ । यसमा आमनेतृत्व, जनता र कर्मचारीतन्त्र सच्चिनु जरुरी देखिन्छ ।