कलेजमा सञ्चालन भएका स्नातक तहका कार्यक्रमबारे जानकारी दिनका लागि कक्षा १२ पास भएका विद्यार्थीसँग सामूहिक तथा एकल रूपमा प्रत्यक्ष भेट्ने अवसर प्राप्त भयो । कलेजबाट भेट्ने भन्ने सूचना पाएपछि अधिकांश विद्यार्थीमा उत्साह हराएको जस्तो देखिन्थ्यो । उनीहरू उपस्थित देखिनका लागि मात्रै उपस्थित हुने गर्दथे । उनीहरूसँग देशमै बसेर पढ्ने कुनै पनि खालको भाव देखिँदैन थियो । कार्यक्रममा सहभागी भएका सबै विद्यार्थीको एउटै आवाज थियो– हामी चार वर्ष कुरेर पढ्न सक्दैनौँ, जुन देश हुन्छ विदेश नै जाने हो ।
अहिले नेपाली समाजमा कक्षा १२ पास गरेर विदेश नै जानु पर्छ भन्ने कुरा स्थापित भए झैँ लाग्छ । हामीले भेटेका करिब एक हजार विद्यार्थीमध्ये करिब नौ सय विद्यार्थीको सपना नै विदेश जाने थियो । उनीहरू अधिकांशको अमेरिका, युरोप, अस्ट्रेलियाका साथै जान सहज भएकाले जापान र कोरिया प्राथमिकतामा पथ्र्यो । नेपालबाट कुनै पनि बहानामा विदेश जानेको तथ्याङ्क आफैँमा डरलाग्दो छ । विदेश जाने लहरका बिचमा स्नातक तहमा विद्यार्थी नभएर कतिपय शैक्षिक संस्था बन्दसमेत भएका छन् । एक समय विद्यार्थीको अत्यन्त आकर्षण र प्रतिस्पर्धा हुने कार्यक्रममा अहिले कोटा नै नपुग्ने अवस्था सिर्जना भएको छ । स्नातक तहमा चिकित्साबाहेकका कार्यक्रममा विद्यार्थी न्यून सङ्ख्यामा अध्ययन गरिरहेका छन् ।
नेपालमा सम्भावना शून्य देखेर जुन ढङ्गले विद्यार्थीहरू विदेश गइरहेका छन्, के यसलाई नियन्त्रण गर्न सक्ने सामथ्र्य हामीसँग छैन त ? के नेपालमा अब केही पनि गर्न नसकिने नै हो त ? विद्यार्थीहरूसँग यस प्रश्नको गतिलो जवाफ त छैन तर उनीहरूलाई नेपालमा बस्न भने मन छैन ।
कलेजतिर मोडिने पाइलाहरू भाषा प्रशिक्षण केन्द्रतर्फ मोडिन थालेका छन् । कलेजका फराकिला कोठाहरू खाली छन् तर भाषा सेन्टरका साँघुरा कक्षाकोठा भरिभराउ छन् । यो शैक्षिक सत्रमा स्नातक तह सञ्चालन भएका अधिकांश कलेज बन्द हुने अवस्था छ । आखिर किन यसरी विद्यार्थीको विदेश जाने रुचि एकाएक वृद्धि भयो त ? यसका केही कारण रहेका छन्, जसलाई समयमै निराकरण गर्ने सम्बन्धित पक्षको जिम्मेवारी पनि हो ।
रोजगारी बजार साँघुरो
नेपालको रोजगारी बजार साँघुरो छ । एकातिर पढेलेखेका र सिप सिकेका व्यक्तिले रोजगारी प्राप्त गर्न सकेका छैनन् भने अर्कातिर रोजगारी प्राप्त गरेकाले पनि गतिलो तलब पाउने अवस्था छैन । रोजगारी बजार सानो हुँदा उत्पादित जनशक्तिलाई थेग्न सकिरहेको छैन । एकातिर उत्पादन बढिरहने तर अर्कातिर रोजगारीका बाटा खुला नहुने भएकाले अहिले शिक्षित मात्रै होइन, सिप सिकेका प्राविधिक जनशक्तिसमेत बेरोजगार छन् । यस खालको जनशक्तिलाई कसरी व्यवस्थापन गर्ने भन्ने दायित्व राज्यको हो तर राज्यले ठोस योजना बनाउन सकेको छैन ।
कोभिड यता आर्थिक मन्दीका कारण नयाँ उद्योग खुलेका त छैनन् नै खुलेका उद्योगसमेत बन्द अवस्थामा छन् । यसले नेपालको रोजगारी बजारलाई झनै साँघुरो बनाउँदै लगेको छ । राज्यले खास सिप भएका व्यक्तिलाई रोजगारी प्रदान गर्न सक्ने गरी नीति ल्याउनु पर्छ । सिपयुक्त जनशक्ति पनि बाहिरिनु भनेको राज्यका लागि ठुलो नोक्सानी हो । यस कारण उत्पादित जनशक्तिलाई रोजगारीसँग प्रत्यक्ष रूपमा जोड्न सक्ने गरी सरकारले ठोस कार्यक्रम ल्याउनु पर्छ ।
सिपबिनाको शिक्षा
सिप र क्षमता भएका व्यक्तिले रोजगारी पाउँछन् । रोजगारी प्राप्त गर्न नसकेकालाई उद्यमशीलतासँग जोड्नु पर्छ । यसले पनि विद्यार्थीलाई विदेश जानबाट रोक्न सक्छ । पछिल्लो समय केही युवाले स्वदेशमै उद्यमशिलतामार्फत केही नयाँ काम गर्ने प्रयास गरेको भए पनि उनीहरूका समस्यालाई उचित ढङ्गले सम्बोधन नहुँदा निराश हुनुपर्ने अवस्था छ ।
सिप सिकेर मात्रै कुनै पनि व्यक्ति उद्यमी बन्नका लागि परिपूर्ण नहुन सक्छ । सिकेको सिपलाई कसरी व्यवहारमा लागु गर्ने भन्ने बारेमा पनि ज्ञान हुनु पर्छ । उद्यमशीलताको गतिलो ज्ञानबिना अहिले कैयौँ उद्यमी पलायन हुनुपर्ने अवस्था सिर्जना भएको हो । एकातिर बजारको अवस्था तीव्र प्रतिस्पर्धी हुनु र अर्कातिर राज्यको सहयोग नहुँदा युवा उद्यमी निराश भएका हुन् । उद्योग खोलेर बसेको युवासमेत आफ्नो व्यवसाय बन्द गरेर विदेश जाने खोजेपछि भर्खरै श्रम बजारमा प्रवेश गर्न लागेका युवा कसरी उत्प्रेरित हुन सक्छन् ? त्यसैले उद्यमशीलता प्रवर्धन हुने खालका कार्यक्रम निर्माणमा ध्यान दिनुपर्ने देखिन्छ ।
डरलाग्दो सङ्ख्यामा युवाको विदेश पलायन उकालो लागिरहँदा पनि राज्यले अझैसम्म युवालाई रोक्ने खालको नीति तर्जुमा गर्न सकेको छैन । युवा किन विदेश गइरहेका छन् र जाने क्रमलाई कसरी कम गर्न सकिन्छ भन्ने कुरामा राज्यको ध्यान पुग्न सकेको छैन । अहिले त राज्यले आफ्नो सम्पूर्ण शक्ति लगाएर भए पनि युवालाई देशमै टिकाउने समय हो । युवामैत्री नीति र कार्यक्रम सञ्चालन गर्नुपर्ने हो तर विडम्बना राज्यका कुनै पनि निकायले युवालाई लक्षित
गरेर कार्यक्रम ल्याएका छैनन् । ठुलो सङ्ख्यामा युवा बिदेसिएको अवस्थामा राज्यसँग सही नीति र कार्यक्रम नहुँदा थप युवा बिदेसिने अवस्था सिर्जना भएको हो ।
हाम्रो शैक्षिक प्रणाली सैद्धान्तिक मात्रै भयो भनिन्छ । विद्यार्थीले स्नातकोत्तर गर्दासम्म पनि कुनै ठोस सिपको विकास गर्न सकेको देखिँदैन । बौद्धिक मन्थनमा मात्रै केन्द्रित शिक्षा प्रणालीको कारण पनि युवामा निराशा पैदा भएको छ ।
केही सिपमूलक शिक्षा प्रदान गरिए पनि गुणस्तरीय हुन सकिरहेको छैन । पछिल्ला केही तथ्याङ्क हेर्ने हो भने सिपमूलक शिक्षा प्राप्त गरेकाहरू पनि विदेश जाने लहरमा छन् । आजका विद्यार्थीलाई सिपसँगै सिपलाई कसरी आम्दानीसँग जोडेर लैजाने भन्ने कुराको पनि जानकारी दिनु पर्छ । अझ पढ्दै केही न केही सिप सिकिरहेका युवालाई व्यवसाय सञ्चालन गर्न आर्थिक स्रोतको समेत व्यवस्था गरिदिनु पर्छ । शिक्षित युवाको पहिलो रोजाइ विदेश होइन । उनीहरूले विकल्प नहुँदा विदेशलाई गन्तव्य बनाएका हुन् । आजको युवा भोलि के बन्न चाहन्छन् भन्ने कुरालाई मनन गरेर विशिष्टीकृत शिक्षा प्रदान गर्नमा सबैले ध्यान दिनुपर्ने देखिन्छ ।
पारिवारिक दबाब
युवा विदेश जानुका पछाडि अर्को महत्वपूर्ण कारण परिवार र आफन्तको दबाब पनि हो । नेपालमा बसेपछि भविष्य अन्योल छ, विदेश जानेले धेरै आर्थिक उन्नति गरिसके जस्ता परिवार र आफन्तको भनाइले पनि युवालाई विदेश जानका लागि प्रेरक तत्वको काम गरेको छ । सन्तानलाई विदेश पठाउनु भनेको कतिपय परिवारका लागि सान र इज्जतको विषयसमेत बनेको छ । नेपाल र विदेशमा रहेका व्यक्तिका बिचमा आर्थिक तुलना गर्ने परिपाटीका कारण सबैले आर्थिक सुरक्षाका लागि विदेश जानैपर्ने दबाब दिइरहेका हुन्छन् । उनीहरूले सामाजिक सञ्जालमार्फत विदेशमा बस्ने आफ्ना साथीभाइको रोमाञ्चक जीवन पनि देखिरहेका हुन्छन्, जसले गर्दा स्वदेशमा उनीहरूको मन अडिन सकेको हुँदैन । समाजमा प्रबुद्ध व्यक्तिहरूले समेत आफ्ना सन्तानलाई विदेशमा सगर्व पठाउन थालेपछि यसै पनि पारिवारिक दबाब बढ्ने भई हाल्यो । फलतः यस्ते दबाब र देखासिकीमा नै युवाले देश छाडिरहेका छन् ।
युवाले देश छाड्ने क्रम रोकिनु पर्छ भन्ने हामी धेरै छौँ तर परिआउँदा आफैँ या आफ्ना सन्तानलाई विदेश पठाउन पछि पर्दैनौँ । त्यसैले युवालाई स्वदेशमै टिकाउने जिम्मेवारी परिवारको पनि हो । युवालाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने सकारात्मक सोचको विकासमा परिवारको ठुलो जिम्मेवारी हुन्छ ।