गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २४ गते । लामो समयदेखि नेपाली गीत/सङ्गीतमा लाग्नुभएका निर्देशक तथा गायक डिआर सुजनले थुप्रै गीत गाउनुका साथै शब्द, सङ्गीत, अभिनय तथा निर्देशनसमेत गर्नुभएको छ । फुली नाकैमा, उडेको चरी, बाउआमा–३, सजाय, प्रदेशी काइँलो, टोपी उनैको लगायत हिन्दी गीत ‘माँ’ मा पनि उहाँले आफ्नो स्वर दिनुभएको छ । साथै उहाँले दर्जनभन्दा बढी लघुचलचित्रमा समेत निर्देशन गरिसक्नुभएको छ ।
सुजनको सानैदेखिको रुचि नै चलचित्रको नायक बन्ने थियो । उहाँ भन्नुहुन्छ, “भाग्यसँगै कर्ममा विश्वास गर्नु पर्छ, कर्म नगरे भाग्यमा छ भने पनि गुम्छ ।” यो भनाइ जस्तै कर्ममा बढी विश्वास गर्ने सुजन आज गीत/सङ्गीतको दुनियाँमा सफल हुनुहुन्छ ।
गायक हुँदै निर्देशनसम्म विभिन्न अवार्ड जित्दै आउनुभएका सुजनले आफ्नै आयोजनामा डिएन एक्स्ट्रा अडिनरी अवार्ड आयोजना गरिसक्नुभयो । आफैँमा निकै राम्रो कथा लेखनको क्षमता हुनुभएका उहाँ म्युजिक भिडियो निर्देशनको दुनियाँमा पनि छुट्टै छाप राख्न सफल हुनुहुन्छ । नेपाल म्युजिक भिडियो निर्देशक समाजको दोस्रो कार्यसमितिबाट प्रथम उपाध्यक्षमा निर्वाचित हुनुभएका उहाँको अब डिआर सुजन फिल्म्सको ब्यानरमा ‘भद्रे जी’ नामक चलचित्र निर्माण हुन लागेको छ । चलचित्र कथा, निर्देशन उहाँकै रहेको छ भने नायक पनि उहाँ स्वयम् हुनुहुन्छ ।