गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २४ गते । ओमानले भिसाको अवधि सकिएर कानुनी हैसियत गुमाई ओमानमै बसिरहेका आप्रवासी श्रमिकलाई तीन महिनाभित्र स्वदेश फर्किन सक्ने गरी आममाफीको घोषणा गरेको छ । ओमानस्थित नेपाली दूतावासका अनुसार ओमानको मानव संसाधन मन्त्रालयले ओमानमा कागजातविहीन भएर बसिरहेकालाई जरिबाना नतिरी स्वदेश फर्किनका लागि तीन महिनाको समय दिएको हो ।
ओमानमा कागजातविहीन भएर बसेका नेपाली श्रमिकका लागि महत्वपूर्ण अवसर भएकाले तीन महिनाभित्र स्वदेश फर्किनेका लागि जरिबाना शुल्क पूर्ण रूपमा आममाफीमा बढीभन्दा बढी उपयोग गर्न ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ । नेपाली दूतावासले विज्ञप्तिमार्फत ओमान सरकारले उपलब्ध गराएको यो अवसरको सुदपयोग गर्न र त्यसरी कागजातविहीन भएर बसिरहेकालाई स्वदेश फर्किन आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, “ओमान सरकारले यो योजना २०२५ जुलाई ३१ मा अन्त्य हुने जनाएकाले समयभित्रै अवसरको उपयोग गर्न सूचित गरिन्छ ।”
स्वदेश फिर्ती प्रक्रियाका लागि नेपाली दूतावासले सहजीकरण गर्ने भएको छ । यसका लागि दूतावासले स्वयंसेवी नियुक्त गरेको छ । ओमानमा करिब २२ हजार नेपाली कार्यरत छन् जसमध्ये १० हजार महिला छन् । नेपाली दूतावासका अनुसार भिसाविहीन नेपालीको सङ्ख्या यकिन गरिएको छैन । पछिल्लो समय भ्रमण भिसामार्फत घरेलु श्रमिकका रूपमा ओमान पुगेका नेपाली महिला श्रमिक भिसाविहीन भएर बस्ने गरेको दूतावासले जनाएको हो ।