बुटवल समाचारदाता
बुटवल, वैशाख २४ गते । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ल्याउने बजेटको आकार विगतको भन्दा घटेर आउने भएको छ ।
चालु आव २०८१/८२ का लागि ३८ अर्ब ९७ करोड रुपियाँको बजेट ल्याएको प्रदेशले आगामी वर्ष २० प्रतिशतसम्म घटाएर बजेट ल्याउने विषयमा गृहकार्य सुरु गरेको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ३० देखि ३३ अर्बभन्दा माथि बजेट नबढाउने गरी नयाँ बजेट बनाउन आर्थिक योजना मन्त्रालय र प्रदेश योजना आयोगलाई निर्देशन दिइसक्नुभएको छ ।
सङ्घीय सरकारले आगामी आवमा बजेटको सिलिङ घटाउन भनेपछि त्यसलाई ख्याल गरी बजेट लेखनपूर्व नै मुख्यमन्त्री आचार्यले कार्यान्वयनमा समस्या नपर्ने बजेट निर्माण गर्न निर्देशन दिनुभएको हो ।
लुम्बिनी प्रदेश योजना आयोगका सदस्य भुवन चौधरीले टुक्रे कार्यक्रम धेरै हुँदा बजेट कार्यान्वयनमा समस्या देखिएको भन्दै मुख्यमन्त्रीले घाटा बजेट नल्याउन निर्देशन दिएकाले सोही अनुसार बजेट निर्माणको तयारीमा जुटेको बताउनुभयो ।
प्रदेशको आन्तरिक स्रोत वृद्धि हुन नसकेको अवस्थामा आव २०८२/८३ मा यथार्थपरक, चुस्त र सानो आकारको बजेट निर्माणमा आफूहरू जुटेको चौधरीको भनाइ छ । उहाँले ३० लाखभन्दा कमका योजनालाई प्राथमिकता नदिने गरी बजेट बनाउनका लागि मोटामोटी सहमति बनेको बताउनुभयो ।
सदस्य चौधरीले प्रदेश सरकारले बजेटअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएकाले अहिले त्यसको तयारीमा जुटेको बताउनुभयो । उहाँले यस वर्षको नीति तथा कार्यक्रममा पनि गत वर्षको जस्तै कृषि, उद्योग र पर्यटन क्षेत्रलाई नै प्राथमिकता दिने गरी आफूहरू तयारीमा जुटेको बताउनुभयो ।
प्रदेश योजना आयोगका अर्का सदस्य डा. सुदनकुमार वलीले आउँदो वर्ष विगतको वर्षभन्दा कम आकारको बजेट आउने बताउनुभयो । चालु आवमा धेरै साना टुक्रे योजना हुँदा कार्यान्वयनमा समस्या देखिएको भन्दै उहाँले बजेटको आकार घटाएर भए पनि ठुला योजनालाई प्राथमिकीकरण गरेर नयाँ बजेट आउने बताउनुभयो । उहाँले प्रदेशको आम्दानीको स्रोत वृद्धि हुन नसकेको र अहिले पनि सङ्घीय सरकारले पठाउने बजेटमै निर्भर हुनुपर्ने भएकाले आगामी आवको बजेट कार्यान्वयन हुने गरी आउने बताउनुभयो ।
कम्तीमा ३० अर्ब र बढीमा ३३ अर्बभन्दा माथिको बजेट नआउने गरी प्रदेशमा बजेटको तयारी गर्ने आर्थिक योजना मन्त्रालयको योजना छ ।