• ८ मंसिर २०८१, शनिबार

लाइसेन्सको अस्थायी कार्ड वितरण सुरु

blog

सुनसरी समाचारदाता

इटहरी, भदौ २७ गते । कोशी प्रदेश सरकारले प्रदेशमै पहिलो पटक सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को अस्थायी कार्ड वितरण अभियान सुरु गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबार प्रदेश सरकारमातहत रहेको यातायात व्यवस्था कार्यालय इटहरीमा आयोजित कार्यक्रममा मोरङ र सुनसरीका चार जना सेवाग्राहीलाई अस्थायी सवारीचालक अनुमतिपत्र वितरण गरेर अभियान सुरु गरेको हो । 

स्मार्ट कार्ड छपाइ नहुन्जेलसम्मका लागि अस्थायी अनुमतिपत्र वितरण सुरु गरिएको सो अवसरमा बताइएको छ । प्रदेश सरकारमातहतको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समन्वयमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले क्युआर कोडसहितको अस्थायी सवारीचालक अनुमतीपत्र वितरण सुरु गरेको मुख्यमन्त्री कार्कीले जानकारी दिनुभयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन, २०७७ अनुसार डाकेको विषयगत समितिको बैठकले गरेको निर्णयबमोजिम लाइसेन्स वितरण गरिएको मुख्यमन्त्री कार्कीको भनाइ छ । मुख्यमन्त्री कार्कीले लाइसेन्स छपाइमा भएको ढिलाइलाई ध्यानमा राखेर कोशी प्रदेशमा नै लाइसेन्स छाप्न थालिएको जानकारीसमेत दिनुभयो ।

सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा पास गरेका सेवाग्राहीले दुई वर्षसम्म पनि कार्ड प्राप्त गर्न नसकेको अवस्थामा रसिदलाई नै लाइसेन्सका रूपमा बोकेर हिँड्नुपर्ने बाध्यतालाई हटाउन अस्थायी कार्ड वितरण गरिएको बताइएको छ । गत साउन ३२ गते सङ्घीय भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको अध्यक्षतामा बसेको बैठकले स्थायी कार्ड छाप्न लाग्ने समयसम्मका लागि प्रदेश सरकारले अस्थायी कार्ड छपाइ गरी वितरण गर्ने निर्णय गरेको थियो । सोही निर्णयको कार्यान्वयन गर्दै कोशी प्रदेश सरकारले अस्थायी सवारीचालक अनुमतिपत्र वितरण सुरु गरेको हो ।  

कोशी प्रदेशमा हाल सात वटा सवारीचालकका अनुमतिपत्र जारी गर्ने यातायात व्यवस्था तथा सेवा कार्यालय सञ्चालनमा छन् । प्रदेश सरकारमातहतका ती कार्यालयले लाइसेन्सका लागि आवेदन लिने, लिखित परीक्षा सञ्चालन गर्ने, बायोमेट्रिक लिने, प्रयोगात्मक परीक्षा चलाउने र राजस्व तथा शुल्क लिनेलगायतका सबै काम गर्दै आएका छन् ।