• ९ मंसिर २०८१, आइतबार

मोहीसँगको सहमति कार्यान्वयन

blog

स्वर्गद्वारी आश्रमको जग्गा पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका मोही किसान । तस्बिर : लीलाधर वली

घोराही समाचारदाता

घोराही, भदौ २७ गते । विगतमा सरकारसँग भएको सहमति कार्यान्वयनको माग गर्दै स्वर्गद्वारी गुठीका मोही किसानले घोराहीमा प्रदर्शन गरेका छन् । सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन गर्न माग गर्दै बुधबार घोराहीमा विरोध प्रदर्शन गरेका मोही किसानले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएका छन् । 

स्वर्र्गद्वारी आश्रममा भएको द्वैध स्वामित्व अन्त्य गरी किसानलाई जग्गा दिनुपर्ने मागसहित र्‍यालीले घोराही बजार परिक्रममा गरेको थियो । बजार परिक्रमापछि र्‍याली जिल्ला प्रशासन कार्यालय पुगेर धर्ना दिएको थियो । मोही किसानले बजारमा विरोध प्रदर्शनसँगै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए । स्वर्गद्वारी गुठीपीडित मोही किसान सङ्घर्ष समितिका अध्यक्ष प्रभु चौधरीले सरकारले किसानसँग गरेका सम्झौता कार्यान्वयन नगरेपछि फेरि आन्दोलन सुरु गरेको जानकारी दिनुभएको छ । 

स्वर्र्गद्वारी आश्रमको १०३४ बिघा १७ कट्ठा सात धुर जग्गामध्ये ७५३ बिघा जग्गामा मोही कायम छ । सुरुमा २८९ घरपरिवार मोही किसान रहेकोमा अहिले नयाँ घर बढ्दै जाँदा तीन हजार पाँच घरधुरी पुगेका छन् । 

२०६२ चैत १४ गते सर्वोच्च अदालतले स्वर्गद्वारी गुठी विशेष प्रकृतिको निजी गुठी भएको ठहर गर्दै आश्रमको स्वायत्ततामा आँच पुग्ने गरी आश्रमको नाममा दर्ता भएको जग्गा कुनै पनि किसिमले खण्डित र हिनामिना हुन नदिनू भनी परमादेश जारी गरेको थियो । 

जसका कारण मोही किसान जग्गा पाउने अधिकारबाट वञ्चित भएको गुठीपीडित मोही किसान सङ्घर्ष समितिका अध्यक्ष चौधरीले बताउनुभयो ।  न्यायाधीश रामप्रसाद श्रेष्ठ र दामोदरप्रसाद शर्माको इजलासले स्वर्गद्वारी आश्रमका महाप्रभु हंशानन्द गिरीको झोलीको पैसाबाट खरिद गरिएको जग्गामा यज्ञको होमादी कार्य खण्डित हुन नदिन कुनै हस्तक्षेप नगर्नू र नगराउनू भन्ने आदेश गरेको थियो । गुठीपीडित किसानले गएको फागुनमा जिल्ला प्रशासन कार्यालय दाङको प्रवेशद्वारमा करिब एक महिनासम्म धर्ना दिएका थिए । धर्नापछि तत्कालीन सरकारले माग सम्बोधन गर्ने आश्वासन दिएपछि धर्ना स्थगित भएको थियो । 

कानुनी जटिलताका कारण मोही किसानले पटक पटक आन्दोलन गरे पनि जग्गा पाउन नसकेको भन्दै सङ्घर्ष समिति अध्यक्ष चौधरीले भन्नुभयो, “किसानले बर्साैंदेखि जोतभोग गर्दै आएको जग्गामा स्वामित्व पाउनुपर्ने मागसहित आन्दोलन गरिरहेका छन् तर जग्गाको स्वामित्व पाउन सकेका छैनन् ।” सर्वोच्च अदालतले स्वर्गद्वारी गुठी विशेष प्रकृतिको निजी गुठी भएका कारण आश्रमको जग्गा खण्डीकरण गर्न नमिल्ने आदेश गरेको थियो ।